शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

बेनीमा यातायात व्यवस्थापन गर्न वैकल्पिक सडक

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ २८ २०७८
बेनीमा यातायात व्यवस्थापन गर्न वैकल्पिक सडक

म्याग्दी- सदरमुकाम बेनी बजारभित्र सवारीको चाप घटाउन, जाम हटाउन र दुर्घटना न्यूनीकरणका लागि वैकल्पिक सडक सञ्चालन भएको छ। बेनी नगरपालिका-७ र ८ मा पर्ने बेनीलाई नदी कटानबाट जोगाउन कालीगण्डकी र म्याग्दी नदीको किनारमा तटबन्ध निर्माण भएपछि बनेको खाली भागमा सडक बनाएर यातायातका साधन सञ्चालन गर्न थालिएको हो।

नगर प्रमुख हरिकुमार श्रेष्ठले साँघुरो सडक भएको बजारभित्र सवारी व्यवस्थापन गर्न वैकल्पिक सडक, बहुउद्देश्यीय मैदानमा बसपार्क, एकतर्फी सवारी सञ्चालन गराइएको बताए।

'पोखरा र पर्वत हुँदै बेनी आएका म्याग्दीको पश्चिमी क्षेत्र जाने तथा बागलुङ र म्याग्दी भेगबाट बेनी हुँदै मुस्ताङ र पर्वततर्फ जाने मालवाहक सवारी साधनलाई कालीगण्डकी र म्याग्दी नदीको किनारमा बनाइएको सडकबाट गन्तव्यतर्फ जाने व्यवस्था मिलाएका छौँ', उनले भने, 'बजारभित्र लोड, अनलोड गर्नेबाहेक ट्रक, ट्र्याक्टर वैकल्पिक सडकबाट पठाउँदा व्यवस्थापन गर्न सहज भएको छ।'

नदी किनारमा निर्माण भएको तटबन्धलाई असर नपुग्ने गरी ढुङ्गा र माटोले फिलिङ गरेर म्याग्दी प्रवेशद्धार कालीपुलबाट कालीगण्डकी र म्याग्दी नदीको दोभान हुँदै दरबाङ बसपार्क जोड्ने करिब एक किलोमिटर दूरीको वैकल्पिक सडक सञ्चालन भएको छ। बहुउद्देश्यीय मैदानमा नगरपालिकाले रु २० लाख बढी खर्चेर पूर्वाधार बनाएर बेनी-दरवाङ, बेनी-पाखापानी, बेनी-बरङ्जा, बेनी-बागलुङलगायत पश्चिमी क्षेत्रमा चल्ने बस, जीप र ट्याक्सी पार्किङ गर्ने व्यवस्था मिलाइएको छ।

सो बसपार्कमा १०० सवारी साधन पार्किङ गर्ने क्षमता छ। नयाँ बसपार्क सञ्चालन भएपछि सडकमै यात्रुवाहक सवारी पार्किङ गर्नुपर्ने समस्या हटेको बेनी-७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए। एकतर्फी पार्किङ र यातायात सञ्चालन पनि बेनी बजारको यातायात व्यवस्थापनका लागि भएको अर्को पहल हो। गत पुस १ गतेदेखि एकतर्फी यातायात सञ्चालन भएपछि बेनी बजारभित्र दुर्घटना घटेका र जामको समस्या हटेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले बताए।

बेनी बजारभित्र सञ्चालन हुने सवारी साधनले क्याम्पसचोकबाट गणेशटोल, सङ्गमचोक, बालमन्दिर चोक, जिल्ला प्रशासन कार्यालय अगाडिको चोक, हुलाकचोक, न्यूरोड हुँदै पुनः क्याम्पसचोक पुग्ने गरी सडक प्रयोग गर्नुपर्ने नियम बनाइएको छ। वैकल्पिक सडकको धुलो र हिलोको समस्या हटाउन ग्राभेल गर्न लागिएको बेनी-८ का वडाध्यक्ष रामकृष्ण बराइलीले बताए।

गत पुस २८ गते भएको नगरसभाले दरबाङ बसपार्कमा नाली निर्माण र वैकल्पिक सडक ग्राभेल गर्न दुई शीर्षकमा १६ लाख विनियोजन गरेको थियो। यसअघि कालीपुलबाट गणेशटोल हुँदै बेनीबजार छिर्ने र बाहिरिने वैकल्पिक सडक पनि बनाइएको थियो। रासस


प्रकाशित : शुक्रबार, माघ २८ २०७८०६:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend