शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

कृषि उत्पादनलाई बजारीकरण गर्दै शुक्लाफाँँटा नगरपालिका

मंगलबार, जेठ १३ २०८२
कृषि उत्पादनलाई बजारीकरण गर्दै शुक्लाफाँँटा नगरपालिका
फाइल तस्बिर

शुक्लाफाँटा नगरपालिकाले किसानले उत्पादन गरेका तरकारी, अन्न, फलफूल, बेसारलगायतको बजारीकरण गर्न किसानसँग सुझाव संकलन गरेको छ।

कञ्चनपुर- शुक्लाफाँँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका व्यावसायिक खेतीमा संलग्न किसानलाई बजारसँग जोड्न आवश्यक कार्य अगाडि बढाइएको छ। शुक्लाफाँटा नगरपालिकाले किसानले उत्पादन गरेका तरकारी, अन्न, फलफूल, बेसारलगायतको बजारीकरण गर्न किसानसँग सुझाव संकलन गरेको छ।

मध्यवर्ती क्षेत्रअन्तर्गतको शुक्लाफाँटा नगरपालिकाको त्रिशक्ति र सुनदेवी उपभोक्ता समितिको क्षेत्रभित्र पर्ने किसान, तरकारी व्यापारी, एग्रोभेट सञ्चालकलगायतसँग छलफल गरी उत्पादित कृषिजन्य वस्तुको बजारीकरण गर्दा आइपर्ने समस्या पहिचानको काम गरिएको हो।

मध्यवर्ती क्षेत्रको सुनदेवी उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर विष्टले किसानले उत्पादन गरेका तरकारीले बजार मूल्य नपाउँदा खेर गइरहेको बताए। 'किसानले मेहेनत गरी तरकारी उत्पादन गर्छन्, बजार पाइँदैन मर्कामा छन्', उनले भने।

उनका अनुसार बिना विषादी परीक्षण नगरीकनै भारतीय तरकारी सस्तोमै बजारमा पुग्छ। त्यससँग स्थानीय किसानले प्रतिस्पर्धा गर्न सक्दैनन्, बिक्री हुँदैन। मध्यवर्ती क्षेत्रका किसानका तरकारीलगायत बाली जंगली जनावरले खाएर नोक्सानी पुर्‍याउने भएकाले वैकल्पिक खेतीलाई प्रवर्द्धन गरी बजारीकरण गरिनुपर्ने उनले बताए।

मध्यवर्ती क्षेत्रको नगरपालिकाको वडा नं ६ र ७ का किसानले केही वर्षअघि क्यामाइल र बेसारखेती गरेका थिए। बजार नपाउँदा उक्त खेती किसानले दुई वर्षपछि गर्न छाडेको उनले बताए। शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महराले किसान-व्यापारीसँग समन्वय गरी बजार अभाव समस्याको दिगो समाधानका लागि प्रयास भइरहेको बताए।

किसानले उत्पादन गरेका कृषिउपज सहज रूपमा बिक्री गर्न हाटबजारको आवश्यकता रहेको चर्चा गर्दै उनले कृषि मन्त्रालयमा हाटबजारस्थलमा भौतिक संरचना निर्माणका लागि आवश्यक बजेटका लागि अश्वासन पाइएको बताए।

नगरपालिकाको वडा नं ३ का किसान वसन्ती चौधरीले उत्पादन गरेको तरकारी बिक्री नहुँदा लागत खर्च उठाउन नसकिने अवस्था रहेको बताइन्। तरकारी बिक्री नभएपछि खेतबारीमै कुहेर जाने भएकाले धेरैले तरकारी खेतीलाई छाड्न थालेको बताइन्।

नगरपालिकामा हुने मुख्य बाली, चुनौती र कृषिमा महिलाको संलग्नताबारे कृषि शाखाबाट सुझाव लिइएको छ।

पोष्टहारवेष्ट, मूल्य शृङ्खला, बजार मागअनुसारको उत्पादन तथा बजारीकरणको समस्या, बजारको माग, पूर्ति, खरिदकर्ताको प्राथमिकता, बीउबिजन छनोट, गुणस्तरीय बीउ, मल तथा विषादीको प्रयोग, पालिकामा पकेट क्षेत्र निर्माण गर्न उपयुक्त हुने बाली छनोट, बजारीकरण, खरिद बिक्रीसम्बन्धी समस्या लगायतबारे चर्चा गरी किसानलाई जानकारी दिने कार्यसँगै सुझाव लिने काम गरिएको छ। रासस


प्रकाशित : मंगलबार, जेठ १३ २०८२१०:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend