मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

हिमालयन बैंकमाथि अनसाइट सुपरिवेक्षण, सञ्चित घाटा लुकाएर तयार पारिएको वासेल प्रतिवेदन छानबिन गरिँदै

आइतबार, जेठ ११ २०८२
हिमालयन बैंकमाथि अनसाइट सुपरिवेक्षण, सञ्चित घाटा लुकाएर तयार पारिएको वासेल प्रतिवेदन छानबिन गरिँदै

हिमालयन बैंकले आफ्नो गैरबैंकिङ सम्पत्ति बिक्री गर्न सकेको छैन। यस्तै बैंकको खराब कर्जा बढेकाले नियामकीय कोषका लागि बढी रकम छुट्याउनुपर्दा बैंकको वितरणयोग्य घाटा ७ अर्ब ४४ करोड रूपैयाँसम्म पुगेको छ।

काठमाडौं- वास्तविक सञ्चित घाटा लुकाएर दुई वर्षदेखि गलत वासेल रिपोर्ट बुझाइरहेको हिमालयन बैंकमाथि राष्ट्र बैंकले अनसाइट सुपरिवेक्षण गरिरहेको छ।

अनसाइट सुपरिवेक्षण टोलीलाई राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले वासेल प्रतिवेदन अध्ययन गर्न निर्देशन दिएको छ।

वास्तविक सञ्चित नोक्सानीलाई लुकाएर हिमालयन बैंकले पुँजीकोषमाथिको दबाब कम गर्न नियामकको निर्देशनविपरीत वासेल प्रतिवेदन राष्ट्र बैंकमा बुझाउँदै आएको थियो। बैंकले वासेल प्रतिवेदनमा छेडछाड गरेको समाचार बिजनेस न्युजमा प्रकाशित भएपछि राष्ट्र बैंकको सुपरिवेक्षण टोलीले उक्त विषयमा पनि छानबिन गर्ने भएको हो।

राष्ट्र बैंकका प्रवक्ता तथा बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रामु पौडेलले सुपरिवेक्षक टोलीलाई बैंकको वासेल प्रतिवेदन छानबिन गर्न निर्देशन दिइसकेको जानकारी दिए।

‘हिमालयन बैंकमा अहिले राष्ट्र बैंकको अनसाइट सुपरिवेक्षण चलिरहेको छ। त्यहाँ रहेको सुपरिवेक्षकको टोलीलाई बैंकले विगत दुई वर्षदेखि प्रस्तुत गर्दै आएको वासेल प्रतिवेदन अध्ययन गर्न निर्देशन भइसकेको छ। टोलीले आवश्यक छानबिन गर्छ,’ पौडेलले भने।

हिमालयन बैंकले तत्कालीन सिभिल बैंकलाई गाभेपछि यस बैंकमा निरन्तररूपमा समस्या देखिँदै आएको छ। बैंकको खराब कर्जा लगातार बढिरहेको छ। बैंकले आफ्नो गैरबैंकिङ सम्पत्ति बिक्री गर्न सकेको छैन।

यस्तै बैंकको खराब कर्जा बढेकाले नियामकीय कोषका लागि बढी रकम छुट्याउनुपर्दा बैंकको वितरणयोग्य घाटा ७ अर्ब ४४ करोड रूपैयाँसम्म पुगेको छ। यस्ता सम्पत्तिको गुणस्तर खस्किँदै गएपछि खराब कर्जाबाट नोक्सानी खर्च पनि बढिरहेको छ। खराब कर्जा व्यवस्थापनमा सुधार हुन नसक्दा बैंकको खुद नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५० करोड रूपैयाँमा सीमित भएको छ।

बैंकको बढ्दो वितरणयोग्य घाटाका कारण पुँजीकोष उच्चरूपमा घटिरहेको छ। पुँजीकोषमा उल्लेखनीय गिरावट आए पनि बैंकले वासेल प्रतिवेदनमा वास्तविक सञ्चित नाफा नदेखाएर गलत विवरण प्रस्तुत गर्दै आएको छ। प्राथमिक पुँजीकोष अनुपात पूरा गर्न नसक्ने अवस्था देखिएपछि नियामकीय कारबाही र ‘क्यापिटल चार्ज’ बाट जोगिन बैंकले सञ्चित नाफा नोक्सानीमा गम्भीर तोडमोड गरेको देखिन्छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले ५० करोड नाफा गरेको भए पनि सम्पूर्ण नियामकीय कोषहरू समायोजन गरी अघिल्लो त्रैमाससम्म कायम रहेको सञ्चित नोक्सानी जोड्दा कुल ७ अर्ब ३६ करोड रूपैयाँ वितरणयोग्य घाटामा बैंक देखिन्छ।

उक्त घाटालाई बैंकले सेयर लगानीकर्ताहरूको इक्विटीमा परिवर्तन हुँदा सञ्चित नोक्सानीकै रूपमा देखाएको छ। तर वासेल प्रतिवेदन तयार पार्दा नाफा-नोक्सानी खाता ५७ करोड २२ लाख रूपैयाँले ऋणात्मक देखाइएको छ भने सञ्चित नोक्सानीमा ५ अर्ब ९२ करोडमात्रै राखेर प्राथमिक पुँजीकोष अनुपात ८ प्रतिशत कायम गरिएको छ।

राष्ट्र बैंकको निर्देशनअनुसार सञ्चित नोक्सानी ७ अर्ब ३६ करोड राखेर वासेल प्रतिवेदन तयार पार्दा बैंकको प्राथमिक पुँजीकोष २३ अर्ब ६३ करोड रूपैयाँमा सीमित हुन्छ। यद्यपि बैंकले गलत सञ्चित नोक्सानी राखेर २४ अर्ब ५० करोड रूपैयाँ प्राथमिक पुँजीकोष देखाएको छ।

वास्तविक सञ्चित नोक्सानीका आधारमा प्राथमिक पुँजीकोष २३ अर्ब ६३ करोड रूपैयाँलाई कुल भारित जोखिमले भाग गर्दा पुँजीकोष अनुपात ७.७१ प्रतिशतमा झर्छ।

हिमालयन बैंकले अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण सम्पन्न प्रतिवेदनमा समेत गलत वासेल विवरण प्रस्तुत गरेको छ। उक्त वर्षको अन्त्यसम्म सञ्चित घाटा ७ अर्ब ४४ करोड रूपैयाँ भए पनि वासेल प्रतिवेदनमा सञ्चित नोक्सानी ३ अर्ब २४ करोड रूपैयाँ मात्र राखिएको थियो।

यस्तै नाफा तथा नोक्सानी खाता २ अर्ब ६७ करोड ऋणात्मक देखाउँदै प्राथमिक पुँजीकोष अनुपात ८.५१ प्रतिशत देखाइएको छ। तर, वास्तविक सञ्चित नोक्सानी समायोजन गरेपछि पुँजीकोष अनुपात ७.९८ प्रतिशतमात्र हुने देखिन्छ।

यथार्थ सञ्चित नोक्सानीलाई आधार मानेर पुँजीकोष गणना गर्दा बैंकको प्राथमिक पुँजीकोष २५ अर्ब नपुगेर २३ अर्ब ४७ करोड रूपैयाँमै सीमित हुन्छ। त्यसलाई कुल भारित जोखिमले भाग गर्दा अनुपात ८ प्रतिशतभन्दा कम पर्न जान्छ। ७ अर्ब ४४ करोड रूपैयाँ सञ्चित नोक्सानी समायोजन गरेपछि न्यूनतम पुँजीकोष अनुपात ११.१० प्रतिशत हुने देखिन्छ।

गत वर्ष बैंकले गलत सञ्चित नोक्सानी प्रविष्ट गरी न्यूनतम पुँजीकोष अनुपात ११.५४ प्रतिशत देखाएको थियो। यस्तै त्रुटि बैंकले चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमाससहित अघिल्लो आर्थिक वर्षका सबै चार त्रैमासमा पनि दोहोर्‍याएको छ। वासेल प्रतिवेदनमा गलत विवरण राखेर आएको बैंकलाई राष्ट्र बैंकले अहिलेसम्म कुनै कारबाही गरेको छैन।

वास्तविक सञ्चित घाटा लुकाएर दुई वर्षदेखि गलत वासेल रिपोर्ट बुझाइरहेको हिमालयन बैंक वास्तविक सञ्चित घाटा लुकाएर दुई वर्षदेखि गलत वासेल रिपोर्ट बुझाइरहेको हिमालयन बैंक

सञ्चालक र सीईओको द्वन्द्वले हिमालयन बैंकको वित्तीय अवस्था खस्किँदो : पुँजीकोष १०.८४ प्रतिशत, एफपीओ निष्कासनमा अन्योल सञ्चालक र सीईओको द्वन्द्वले हिमालयन बैंकको वित्तीय अवस्था खस्किँदो : पुँजीकोष १०.८४ प्रतिशत, एफपीओ निष्कासनमा अन्योल


प्रकाशित : आइतबार, जेठ ११ २०८२१७:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend