तनहुँ- जिल्लाको व्यास नगरपालिका-१३ स्थित बेलबास क्षेत्रका बासिन्दा दूध उत्पादन सबल बन्दै गएका छन्। यहाँका अधिकांश व्यक्ति पशुपालन र कृषिमा लागेका छन्। जसले गर्दा यस क्षेत्र नमूना बन्नुका साथै मुहारमा परिवर्तन आएको छ।
आफूले दूध उत्पादन गर्नुका साथै पशुपालन गर्न चाहने किसानलाई उत्प्रेरण जगाउने कार्य गर्दै आएका छन्। यस क्षेत्रका पशुपालन कृषकले अन्य व्यक्तिका लागि पनि परिश्रम गर्न सकिए केही हुँदोरहेछ भन्ने गतिलो सन्देश दिएका छन्।
दूध बिक्रीबाट आएको पैसाले लेनदेन व्यवहारका साथै दैनिक घरखर्च चलाउनमा सजिलो भएको पशुपालक किसान बताउँछन्। कृषकको खरिद मूल्यअनुरुप अहिले दैनिक एक लाख ३० हजार रुपैयाँको दूध संकलन हुने गरेको संस्थाका व्यवस्थापक श्रीप्रसाद साँखीले जानकारी दिए।
‘थोरैमा मासिक १५ हजार रुपैयाँदेखि दुई लाखसम्म कमाउने दूध व्यवसायी रहेका छन्’ व्यवस्थापक साँखीले भने। एउटै गाउँबाट दैनिक एक हजार ६ सय लिटर दूध बिक्री हुँदै आएको छ। उत्पादित दूध बेलबास दुग्ध उत्पादक सहकारी संस्थामार्फत दमौली र पोखरामा बिक्री हुने गरेको छ।
संस्थामा आवद्ध १०० जना शेयर सदस्यमध्ये ६५ जना कृषकले पशुपालनबाट दुग्ध उत्पादन गरी बिक्री गर्दै आएको संस्थाका व्यवस्थापक साँखीले बताउँछन्। यहाँ उत्पादित दूधमध्ये दमौलीमा रहेका दुई डिपोबाट ६०० लिटर र बाँकी एक हजार लिटर दूध सुजल डेरी पोखरामा पठाउने गरिएको छ।
पोखरा नपठाई स्थानीय बजारमा नै खपत गर्न सकिए यहाँका कृषकले अझ बढी फाइदा लिन सक्ने उनले बताए। दूधका साथै दही, पनिर, नौनी र घ्यू पनि बिक्री गर्ने गरिएको छ। ८ जना कर्मचारीले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन्। यस क्षेत्रका अधिकांश मानिसहरु पशुपालन गरी आत्मनिर्भर बन्न सफल भएका छन्।
सोही वडा निवासी लेखनाथ बाँस्तोला विगत ४ वर्षदेखि व्यावसायिक गाई पाल्दै आएका छन्। गाडी व्यवसायीसमेत रहेका बाँस्तोलाले गाडी व्यवसाय छाडेर पुनः गाउँ फर्किएर पशुपालन पेसामा लागेका हुन्।उनकाे फार्ममा अहिले २२ वटा गाई छन्।
जसमध्ये १५ वटा लैना गाईबाट दैनिक २०० बढी लिटर दूध बिक्री गर्दै छन्। ‘सुरुमा एक करोडको लगानी भएको छ’ उनले भने, ‘मासिक ४ लाखको दूध बिक्री गर्छु, सबै खर्च कटाएर मासिक दुई लाख कमाउँदै आएको छु।’ त्यसैगरी १३ वर्ष वैदेशिक रोजगारीमा बसेर स्वदेश फर्किएर पशुपालनमा लागेका अर्का दुग्ध व्यवसायी मेघनाथ आचार्यले ९ वटा गाईबाट दैनिक ४० लिटर दूध बिक्री गर्छन्।
खर्च कटाएर मासिक रूपमा राम्रै आम्दानी हुने गरेको कृषक आचार्यले सुनाए। ‘आफ्नो ४ रोपनी र भाडामा १२ रोपनी जग्गा लिएर घाँसखेती गरेको छु’, उनले भने, ‘सुरुमा १० लाख लगानी गरी थालिएको व्यवसायबाट परिवार सबै सन्तुष्ट छौँ।’
व्यावसायिक पशुपालन कृषकलाई राज्यले प्रोत्साहन गर्न दाना, चोकरको महँगी नियन्त्रण र उत्पादनका आधारमा अनुदानलाई प्राथमिकता दिन सके अझै प्रभावकारी हुन सक्ने संस्थाका अध्यक्ष केशवबहादुर रानाले बताउँछन्। गाउँ नजिकै दुग्ध संकलन केन्द्र रहेकाले कृषकले दैनिक बिहान र बेलुका उत्पादन गरेका दूध बिक्री गर्नसमेत सहज भएको छ।
नगरपालिकाले उत्पादनका आधारमा कृषकलाई प्रति लिटर दूधमा एक रुपैयाँ अनुदान प्रदान गर्दै आएको छ। त्यसलाई वृद्धि गर्ने योजना रहेको वडाध्यक्ष वसन्तबहादुर आलेकाे भनाइ छ। यस क्षेत्रका अधिकांश मानिस पशुपालन र कृषि पेसामा व्यस्त हुने गरेका छन्। रासस