शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

क्यालिबर ग्रुपले पनि भित्र्यायो नयाँ विद्युतीय स्कुटर

मिकूको बिक्री अर्को साताबाट 

बिहीबार , माघ २७ २०७८
क्यालिबर ग्रुपले पनि भित्र्यायो नयाँ विद्युतीय स्कुटर

क्यालिबर अटोले नक्सालमा मिकू ब्रान्डका लागि सोरुम निर्माण गरिरहेको छ।

काठमाडौं- एकपछि अर्को गर्दै नेपाली बजारमा विद्युतीय स्कुटर भित्रने क्रम बढेको छ। अहिले क्यालिबर ग्रुपले पनि नयाँ विद्युतीय मोटरसाइकल तथा स्कुटर ल्याएको छ। चिनियाँ ब्रान्ड मिकूका मोटरसाइकल तथा स्कुटर नेपाल आएको हो। 

क्यालिबर ग्रुप अन्तर्गतको क्यालिबर अटो प्रालिले मिकू ब्रान्ड ल्याएको हो। विद्युतीय सवारीको प्रयोग बढ्दै गएकाले कम्पनीले नयाँ ब्रान्डका स्कुटर तथा मोटरसाइकल ल्याएर बिक्री गर्ने तयारी गरिरहेको छ। कम्पनीले यसअघि चिनियाँ ब्रान्ड डोहानका विद्युतीय स्कुटर र तीनपांग्रे सवारी आयात गरेर बिक्री गर्दै आएको छ। 

क्यालिबर अटोले नक्सालमा मिकू ब्रान्डका लागि सोरुम निर्माण गरिहेको छ। कम्पनीले सोरुम बनाइसकेर आगामी साता मिकू ब्रान्डका मोटरसाइकल तथा स्कुटरको औपचारिक रुपमा बिक्री सुरु गर्दै छ। 

क्यालिबर ग्रुप अन्तर्गतका विभिन्न कम्पनीले सिमेन्टदेख कपडासम्मको व्यवसाय गर्दै आएको छ। यसअघि ल्याएको डोहानको सोरुम ज्ञानेश्वरमा रहेको छ। नयाँ ब्रान्डका लागि भने कम्पनीले नक्साल नारायणचौरमा सुविधासम्पन्न सोरुम निर्माण गरिहेको छ। 

मिकू ब्रान्डका विद्युतीय स्कुटर तथा मोटरसाइकल नेपाल आइसकेकाले आगामी साता सार्वजनिक गर्ने तयारी रहेको क्यालिबर अटोका निमेश अग्रवालले बताए। ‘हामीले मिकू ब्रान्डका विद्युतीय स्कुटर तथा मोटरसाइकल आधिकारिक बिक्रेताका रुपमा आयात गरिसकेका छौं,’ अग्रवालले भने, ‘सोरुम निर्माण अन्तिम चरणमा रहेकाले आगामी साताको अन्त्यसम्म सार्वजनिक गर्ने तयारी हाम्रो छ।’ 

कम्पनीले सुरुमा मिकूका दुई वटा मोडल ल्याएकको छ। नेपाल आएका मोडल, त्यसको विशेषता, मूल्यलगायत बारे औपचारिक सार्वजनिक गर्ने क्रममा बताइने अग्रवालले जानकारी दिए। कम्पनीले काठमाडौंसहित देशमा विभिन्न सहरमा डिलर विस्तार गर्ने योजना समेत बनाएको छ। 

मिकू ब्रान्ड 

मिकू ब्रान्डका विद्यतीय स्कुटर तथा मोटरसाइकलको उत्पादक कम्पनी सुनरा हो। यो चिनियाँ कम्पनीले विश्वका ७० भन्दा बढी देशमा मिकूका स्कुटर बिक्री गर्दै आएको छ। सुनराले मिकूका स्कुटर तथा मोटरसाइकल वर्षिक २० लाखभन्दा बढी उत्पान गर्ने क्षमता विकास गरेको छ। 

मिकूका विद्युतीय स्कुटर तथा मोटरसाइकलमा उच्च गुणस्तरीय ८ सय वाट बोस इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ। मिकूका स्कुटरले अमेरिका तथा युरोपका सडकमा समेत गुडाउन अनुमति पाइसकेको दाबी कम्पनीको छ।

क्यालिबर अटो प्रालि २०२० मा स्थापना भएको कम्पनी हो। यो कम्पनीले विभन्न ब्रान्डका विद्युतीय सवारीको आधिकारिक रुपमा आयात गर्दै देशभर बिक्री गर्दै आएको छ। 

मिकू सुपर विद्युतीय मोटरसाइकलको पिक टर्क २ सय ३५ एनएम रहेको भने शून्यबाट ८० किलोमिटर प्रतिघण्टाको गति यो मोटरसाइकलले ८.५ सेकेन्डमै भेट्न सक्छ। यो मोटरसाइकलको अधिकतम् गति ८० किलोमिटर प्रतिघण्टा रहेको छ र एक पटकको फुल चार्जमा १ सय ३५ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ। लिथियम आयन ब्याट्री प्रयोग भएको यो मोटरसाइकल फुल चार्ज हुन ४ घण्टा लाग्छ।  

miku super.jpg

त्यस्तै क्यालिबरले मिकूको म्याक्स विद्युतीय स्कुटर पनि सार्वजनिक गर्दै छ। यो स्कुटर ८०० वाटको ब्याट्री प्रयोग गरिएको छ भने यसले एकपटकको फुल चार्जमा ६० किलोमिटर रेन्ज दिन्छ। एक जनामात्र चढ्न मिल्ने यो स्कुटरले शून्यदेखि ४९ किलोमिटर प्रतिघण्टाको गति ९.८ सेकेन्डमा तय गर्न सक्छ। 

miku max.PNG

मिकूका स्कुटर तथा मोटरसाइकलमा उच्च प्रविधियुक्त सुविधाहरु उपलब्ध रहेको कम्पनीको भनाइ छ। मिकूको म्याक्स स्कुटर र सुपर म्याक्स मोटरसाइकलको मूल्य भने क्यालिबरले खुलाएको छैन।


प्रकाशित : बिहीबार , माघ २७ २०७८०८:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend