शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

तीन दशकदेखि मकै बेचेर आत्मनिर्भर ‘शान्ति’

बिहीबार , जेठ ८ २०८२
तीन दशकदेखि मकै बेचेर आत्मनिर्भर ‘शान्ति’

उमेर ढल्किँदै छ, तर जाँगर उस्तै छ। काम गरेर आत्मनिर्भर बन्ने उनको सपना झन् तन्नेरी बन्दै गएको छ।

धरान- सहर नबिउँझिनुअघि नै बिउँझिन्छिन् शान्ति श्रेष्ठ। एकाबिहानै सूर्य नउदाउँदै धरानबाट गाडी चढेर मोरङको भावन्ने पुग्छिन्। मकै किनेर फेरि धरान। यति बेलासम्म १० त कहिले ११ बजिसकेको हुन्छ। त्यसपछि सुरु हुन्छ आगो र धुवासँग खेल्न।

उनले दिनहुँ करिब १६० घोगा मकै पोलेर बेच्छिन्। एकदिन होइन, दुई दिन पनि होइन, तीन दशकदेखि यस्तै चलिरहेको छ धरान उपमहानगरपालिका-१६ निवासी ५९ वर्षीया श्रेष्ठको दिनचर्या।

उमेर ढल्किँदै छ, तर जाँगर उस्तै छ। काम गरेर आत्मनिर्भर बन्ने उनको सपना झन् तन्नेरी बन्दै गएको छ। 'काम गर्नैपर्छ भनेर मानसिक रूपमा तयार भएपछि के उमेर, के समस्या! झन् झन् बानी पो पर्दोरहेछ। त्यसैले सुरुवाती दिनदेखि हालसम्म कहिल्यै कामलाई बोझ मानेकी छैन', श्रेष्ठले भनिन्।

उनका अनुसार मोरङकै विभिन्न ठाउँबाट मकैबारी नै ठेक्कामा लिएर कारोबार गर्नु परेको छ। बारीमै मकै ठेक्कामा लिँदा ६० हजारदेखि एक लाख ५० हजार रूपैयाँसम्म कबोल गर्नुपर्छ। एक्लैले त्यसो गर्न नसकेपछि दुई/तीनजना मिलेर काम भइरहेको उनले सुनाइन्। 'साथीहरूसँग मिलेर ठेक्का लिँदा अलिक सस्तो हुन्छ तर सधैँ नाफा, घाटा मात्रै हुँदैन। कहिले घाटा त कहिले फाइदाको व्यापार हुन्छ', श्रेष्ठले भनिन्।

यसरी ल्याइएको मकै प्रतिघोगा सानोको १५ र ठूलो ५० रूपैयाँसम्म बिक्री हुने गरेको छ। यही मकै बेचेर मासिक ७० हजारदेखि ८० हजार रूपैयाँसम्म कारोबार हुने गरेको उनले बताइन्। 'यसरी धरानको एउटा गल्लीको सडकछेउमा खुला आकाशमुनि बसेर मकै बेचिरहेकी छु। न सटर छ, न छानो तर मसँग मेहनत गर्ने आँट छ', श्रेष्ठ भन्छिन्, 'काम गर्‍यो भने खानाका लागि अभाव हुँदैन, मकै पोलेरै घरव्यवहार चलिरहेको छ। जिन्दगी चलाउने साहारा नै यही काम छ।'

हाल उनी एकल महिला हुन्। ६ वर्षअघि श्रीमानको निधन भएको थियो। पहिले श्रीमानले सघाउने गरेकामा त्यसयता एक्लैले मकै पोलेर घरव्यवहार चलाएको श्रेष्ठले सुनाइन्। 'अब अरू काम गर्न सक्दिन, मकै पोल्नु खासै गाह्रो भने छैन। खुल्ला आकाशमुनि घाम लाग्दा गर्मी त हुन्छ तर सहनै पर्छ। दुःख हुन्छ भनेर काम छोड्न नि भएन! यसैले सबै चीज दिएको छ', थकित अनुहारमा आशाको भाव झल्काउँदै उनले भने।

श्रेष्ठले करिब तीन दशकदेखि धरानको लक्ष्मीचोक नजिकैको एउटा गल्लीमा मकै पोल्दै आएकी छिन्। सुरुदेखि नै यहाँ बसेर उनले हजारौँलाई स्वादिलो मकै दिइरहेकी छिन्। त्यसबापत घरखर्च चलाउन र गर्जो टार्न अरूसँग त्यत्तिकै हात फैलाउनु परेको छैन। त्यसैले पनि आफ्नो कामप्रति सधैँ माया लाग्ने गरेको श्रेष्ठको भनाइ छ। 'मेरो उमेरमा अधिकांश मानिसहरू विश्राम र शान्ति खोजिरहेका हुन्छन्, अरूकै सहारामा बाँचिरहका हुन्छन्। मैले भने त्यो अपेक्षा कहिल्यै गरिनँ। आफ्नै कर्म गरेर खाइरहेकी छु, सकुन्जेल काम गर्ने हो, नसकेको दिन जे हुन्छ हुन्छ', उनले भनिन्।

यो उनको हालसम्मको संघर्ष र आत्मनिर्भरतापछि आत्मविश्वास भरिएको अभिव्यक्ति हो। यही आत्मविश्वासले श्रेष्ठलाई आफ्नो कामबाट थकान होइन सधैँ थप काम गर्ने ऊर्जा र प्रेरणा मिलिरहेको छ।

'जुन दिन म काममा निस्कन्न, त्यस दिन छट्पटी हुन्छ। श्रम गरेकै कारण आजसम्म टिकिरहेकी छु। बुढेसकाल आयो भनेर घरैमा बसेर हुँदैन हातखुट्टा चलिरहेकै छन्, सकेसम्म काम गर्नुपर्छ', मुस्कुराउँदै उनी भन्छिन्, 'मकै बेच्ने काम मेरा लागि केवल आम्दानीको स्रोत मात्र होइन, आत्मसम्मानको आधार पनि हो। श्रम गरेपछि पाइने सन्तोष नै असली कमाई रहे छ।' रासस


प्रकाशित : बिहीबार , जेठ ८ २०८२१०:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend