शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नागढुंगा सुरुङ मार्ग : मुआब्जाका लागि रकम अपुग, मुद्दामा रहेका पाँच घरले बाधा

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ २६ २०७८
नागढुंगा सुरुङ मार्ग : मुआब्जाका लागि रकम अपुग, मुद्दामा रहेका पाँच घरले बाधा

काठमाडौं- नागढुंगा सुरुङ मार्ग निर्माणमा मुआब्जाका लागि रकम अपुग हुनुका साथै मुद्दामा रहेका पाँच घरका कारण काममा बाधा भइरहेको छ।

नागढुंगा सुरुङ आयोजनाका प्रमुख नरेशमान शाक्यले अहिले पनि स्थानीयवासीलाई मुआब्जाका लागि दिन रकम अपुग भइरहेको बताएका छन्। विगतदेखि नै मुद्दामा रहेका पाँच घरको टुंगो नलागेकाले निर्माणमा बाधा पुगेको उनले बताए। 

आयोजनाको हालसम्म भौतिक प्रगति २९ दशमलव १ प्रतिशत र मोबिलाइजेसन पेश्कीसमेत आर्थिक प्रगति ४४ प्रतिशत रहेको आयोजनाले जनाएको छ।

हालसम्म मुख्य सुरुङ निर्माण ३३ दशमलव २ प्रतिशत र निष्कासन सुरुङ ५२ दशमलव ९ प्रतिशत सकिएको छ। 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले नागढुंगा सुरुङ तोकिएकै समयमा सम्पन्न हुने विश्वास व्यक्त गरेकी छिन्। बुधबार निर्माणस्थलको अनुगमनपछि आयोजनाका कर्मचारी र निर्माण कम्पनीसँगको छलफलमा उनले अहिलेसम्मको निर्माण सन्तोषजनक रहेको उल्लेख गरिन्। सुरुङ निर्माणको गति र गुणस्तर दुवै राम्रो बनाउन निर्माण कम्पनीले मेहनत गरेको उनले उल्लेख गरिन्। 
 
सुरुङमा आउने कुनै पनि किसिमका समस्या समाधानका लागि आफू तयार रहेको उनले बताइन्। उनले भनिन्, 'आर्थिक वा अरु कुनै पनि किसिमको समस्या आउँदा समाधानका लागि लागिनेछ।' सुरुङ निर्माण नेपालका लागि पनि सिकाइ भएको मन्त्री यादवको भनाइ थियो। यहाँबाट सिकेको अनुभवबाट अरु ठाउँमा पनि प्रयोग गर्नुपर्ने उनले बताइन्। 

मन्त्री यादवसँगै सचिव रवीन्द्रनाथ श्रेष्ठ, सडक विभागका महानिर्देशक शिवहरि सापकोटलगायत निर्माणस्थल पुगेका थिए। उनीहरूले काठमाडौं जिल्लातर्फ भइरहेको निर्माणको अवलोकन गरेका हुन्। रासस


प्रकाशित : बुधबार, माघ २६ २०७८१४:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend