सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

images
सोमबार, जेठ ५ २०८२
images
सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

सुर्तीजन्य पदार्थको सेवनकर्ताले बट्टामा घिनलाग्दो रंगीन चित्र देखेपछि सेवन नगरून् भनेर नै सरकारले शतप्रतिशत घातक रंगीन चित्रको व्यवस्था गरेको हो। यसअघि चुरोट, बिँडी, खैनीलगायतका सुर्तीजन्य पदार्थमा ९० प्रतिशत भागमा घातक चित्र र चेतावनीमूलक सन्देश छाप्ने गरिन्थ्यो।

images
images

काठमाडौं- आगामी भदौदेखि नेपाली बजारमा आउने सबैखाले सुर्तीजन्य पदार्थका प्याकेटको शतप्रतिशत भागमा सरकारले तोकेको घातक चित्र अंकित तस्बिर र चेतावनीमूलक सन्देश राख्नुपर्ने भएको छ।

images
images
images

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका, २०८१’ स्वीकृत गरेको छ। त्यसको कार्यान्वयन भने १ भदौ २०८२ देखि हुने भनिएको थियो। 

images
images

नयाँ निर्देशिकामा चुरोट, खैनी, बिँडी र गुट्खाको बट्टा, प्याकेट र र्‍यापर्सको मुख्य भागको अगाडि र पछाडिको शतप्रतिशत भागमध्ये ८० प्रतिशत भागमा क्यान्सर, मृत्यु जस्ता घातक रंगीन चित्र र २० प्रतिशत भागमा चेतावनीमूलक सन्देश राख्नुपर्ने व्यवस्था गरिएको छ। मुखको क्यान्सर अंकित चित्र, हृदयघातको अंकित चित्र र फोक्सोको क्यान्सर अंकित चित्र राख्न भनिएको छ।

images
images

सुर्तीजन्य पदार्थको सेवनकर्ताले बट्टामा घिनलाग्दो रंगीन चित्र देखेपछि सेवन नगरून् भनेर नै सरकारले शतप्रतिशत घातक रंगीन चित्रको व्यवस्था गरेको हो। यसअघि चुरोट, बिँडी, खैनीलगायतका सुर्तीजन्य पदार्थमा ९० प्रतिशत भागमा घातक चित्र र चेतावनीमूलक सन्देश छाप्ने गरिन्थ्यो।

सुर्तीजन्य पदार्थको प्याकेटको शतप्रतिशत भागमा चित्र तथा सन्देश छाप्ने निर्देशिका पारित गरेर विश्वमै सबैभन्दा बढी भागमा सुर्तीजन्य पदार्थविरुद्धको सन्देश छाप्ने राष्ट्रको पहिचान बनाएको नेपाल अब चाँडै नै ‘प्लेन प्याकेजिङ’मा जाने तयारी गरेको छ। प्लेन प्याकेजिङमा जाँदा सुर्तीजन्य कम्पनीले ‘ब्रान्डिङ’ गर्न नपाउने र प्याकेजको ‘लेभल’ पनि एकै हुने छ।

स्वास्थ्य कर कोष सचिवालयका सदस्यसचिव तथा मन्त्रालयका कानून शाखाका उपसचिव गोपीकृष्ण रेग्मीले सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन २०६८ संशोधन गरेर प्लेन प्याकेजिङमा सुर्तीजन्य पदार्थको प्याकेज लैजानेबारे छलफल गरिएको बताए। 'प्लेन प्याकेजिङका लागि ऐन नै संशोधन गर्नुपर्दछ', उनले भने, 'आगामी संसद्को अधिवेशनमा ऐन संशोधन गर्नेगरी कानूनको मस्यौदा तयारी गरिएको छ।'

उपसचिव रेग्मीले प्लेन प्याकेजिङमा अन्य धेरै देश पनि अभ्यासमा गइसकेको हुनाले नेपालमा प्लेन प्याकेजिङमा जानेबारे तयारी गरिएको बताए। मन्त्रालयले ऐन सशोधन गर्नका लागि प्रशासन महाशाखाका प्रमुख ऋषिराज आचार्यको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानून मन्त्रालय र उद्योग मन्त्रालयका प्रतिनिधि रहेको कार्यदल गठन गरेको छ। 

'हामीले मस्यौदा बनाउने कार्य गरिरहेका छौँ, तयार भएपछि छलफल गर्छौँ', उनले भने, 'सुझाव संकलन गरेपछि गठित कार्यदलले मस्यौदालाई अन्तिम रुप दिएर संसद्का समितिमा छलफलका लागि पठाउनेछौँ।' उपसचिव रेग्मीका अनुसार अष्ट्रेलिया, बेल्जियम, टर्की, इजरायल, फ्रान्स, बेलायत, लाओस, म्यान्मालगायतका देशले प्लेन प्याकेजिङ लागु गरिसकेको छ।

स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा भक्तबहादुर केसीले शतप्रतिशत घातक चित्र र चेतावनीमूलक सन्देश राखे पनि सुर्तीजन्य पदार्थको ब्रान्डलाई रोक्न नसकिएको बताए। 'हामीले सुर्तीजन्य पदार्थको प्याकेजिङमा शतप्रतिशत घातक चित्र र चेतावनीमूलक सन्देश राख्ने निर्देशिका संशोधन गरिसकेका छौँ', उनले भने, 'तर त्यसले सुर्तीजन्य पदार्थको ब्रान्डलाई नियन्त्रण गर्न सकेका छैनौँ, सेवनकर्ता ब्रान्डका आधारमा सुर्तीजन्य पदार्थको सेवन गर्ने हुन्, त्यसलाई रोक्न प्लेन प्याकेजिङमा जाने सोच बनाएका छौँ।'

उनले ब्रान्डका कारणले सेवनकर्ता बढ्ने भएकाले ब्रान्डलाई रोक्न नै प्लेन प्याकेजिङको प्रस्ताव गरिएको बताए। मन्त्रालयका सूचना अधिकारी डा केसीले शतप्रतिशतमध्ये २० प्रतिशत भागमा चेतावनीमूलक सन्देश राख्न पाउने व्यवस्थाअनुसार सुर्तीजन्य पदार्थ कम्पनीले त्यही २० प्रतिशत भागमा आफ्नो ब्रान्डको प्रचार गरिरहेको बताए।

'अहिले २० प्रतिशत भागमा सुर्तीजन्य पदार्थका कम्पनीले आफ्नो डिजाइनको नाम, लोगो, रंग राखेर ब्रान्डिङ गरिरहेका छन्', उनले भने, 'त्यही २० प्रतिशतमा सुर्तीजन्य पदार्थका कम्पनीले ब्रान्डमा खेल्ने गर्दछन्, प्लेन प्याकेजिङमा हामीले दिएको नाम, रंग हुन्छ र सुर्तीजन्य कम्पनी नाम, डिजाइन, ‘फन्ट’मा खेल्न पाउँदैनन्, त्यसपछि ब्रान्डिङ हुन पाउँदैन।' उनले प्लेन प्याकेजिङका कारणले युरोपियन मुलुकमा चुरोट सेवन घटेको पाइएको बताए। 

सूचना अधिकारी डा केसीले सुर्तीजन्य पदार्थको प्याकेजिङमा प्लेन गर्दा सबैभन्दा मन नपराउने रंग ‘प्यान्टोन ४४८ सि’  प्रयोग गरिने बताए। 'सबै कम्पनीले प्याकेजिङमा हामीले भनेको रंग प्रयोग गर्नुपर्ने हुन्छ', उनले भने, 'जसले गर्दा प्याकेजिङमा उनीहरु खेल्न पाउँदैनन्, सेवनकर्तालाई घिनलाग्दो रंग भए पनि सेवन विस्तारै छाड्दछन्।'

अहिले शतप्रतिशत चेतावनीमूलक चित्र राख्ने भने तापनि प्याकेजिङको लेभल आकर्षक गराउने गरेका छन्। 'चुरोट, खैनी, गुटखाको प्याकेज प्लेन गर्दा सेवनकर्ताले त्यति मन नपाएर बिस्तारै सेवन गर्न छाड्ने छन्', उनले भने, 'नयाँ सेवनकर्ता पनि प्लेन प्याकेजप्रति आकर्षित नभएर नखाने विश्वव्यापी मान्यता रहेको छ।'

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकी नेपालजस्तो देशमा प्लेन प्याकेज आवश्यक रहेको बताउँछन्। चुरोट, सुर्तीको प्लेन प्याकेजले प्रयोगकर्ता घट्ने र क्यान्सर तथा अन्य रोगमा कमी हुने उनको भनाइ छ। रासस


प्रकाशित : सोमबार, जेठ ५ २०८२१३:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend