काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसँग जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय कोष फण्ड फर रेस्पोण्डिङ टु लस एण्ड ड्यामेजका कार्यकारी निर्देशक इब्राहिम चैख डाइओङले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री ओलीले सगरमाथा संवादको पहिलो शृङ्खलामा सहभागी भएकामा धन्यवाद दिएका छन्।
साथै हिमाल र वातावरणको रक्षा हुन नसके मानव जीवनमा असुरक्षा हुने भएकाले यसमा विश्व समुदायको ध्यान पुग्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएका छन्। कतिपय धनी मुलुक पेरिस सम्झौताबाट पछि हट्न खोजेकामा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीले नेपालको गौरव सगरमाथा र हिमालहरुको रक्षा नेपालका साथै विश्वका लागि उत्तिकै महत्वको विषय भएको बताए।
कार्यकारी निर्देशक डाइओङले सगरमाथा संवादजस्तो महत्वपूर्ण सम्मेलन आयोजनाका लागि नेपाललाई बधाई दिएका छन्। साथै कोषका तर्फबाट आगामी दिनमा रकम परिचालन गर्दा नेपालजस्ता मुलुकलाई प्राथमिकतामा राख्ने उनले प्रतिबद्धता व्यक्त गरे।
त्यस अवसरमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल र वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. महेश्वर ढकाललगायत सहभागी थिए। कोप-२७ को निर्णयका आधारमा जलवायु परिवर्तनको मार खेपिरहेका विकासोन्मुुख मुलुकलाई सहयोग गर्न उक्त कोष खडा गरिएको हो।
कोषको बोर्डमा पेरिस सम्झौतामा हस्ताक्षरकर्ता मुलुकबाट २६, विकसित मुलुकबाट १२ र विकासोन्मुख मुलुकबाट १४ सदस्य छन्। अल्पविकसित मुलुकका तर्फबाट नेपालका वन मन्त्रालयका सहसचिव डा. ढकाल बोर्डको आमन्त्रित सदस्य थिए। रासस