कैलाली- जनता आवास कार्यक्रमअन्तर्गत कैलाली र कञ्चनपुरमा २० घर निर्माण हुने भएका छन्। सहरी विकास तथा भवन कार्यालय कैलालीमार्फत चालु आर्थिक वर्ष २०८१/८२ मा उक्त घर निर्माण हुने भएका हुन्।
प्रदेश सरकारको बजेटमा विपन्न परिवारका कैलालीमा १० र कञ्चनपुरमा १० वटा दुई कोठे घर निर्माण हुन लागेको कार्यालयका सूचना अधिकारी रोहित अधिकारीले जानकारी दिए। हालसम्म १५ घर निर्माणका लागि सम्झौता भएर निर्माण कार्य सुरु भइसकेको छ।
कैलालीको भजनी नगरपालिकाका-२, ५, ८ र ९ मा १० र कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका ३ र ७ मा ५ घर निर्माणको काम सुरु भइसकेको उनले जानकारी दिए। यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका-११ र १२ मा पाँच घर निर्माण गरिने जनाउँदै उनले लाभग्राहीको नामावली छनोट भइसकेको र छिट्टै निर्माण सम्झौता भएर काम अघि बढ्ने बताए।
२० वटा घर निर्माणका लागि प्रदेश सरकारले चालु आवमा ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियाे। कैलालीमा प्रतिघर निर्माण लागत अनुमान ४ लाख ८३ हजार ९९१ र कञ्चनपुरमा प्रतिघर निर्माण लागत अनुमान ४ लाख ९६ हजार २३३ रुपैयाँ थियाे।
तर, कार्यालयले प्रतिघर निर्माणका लागि ३ लाख ५० हजार उपलब्ध गराउने तथा बाँकी रकम बराबरको लाभग्राहीले श्रमदान गर्ने उनले जानकारी दिए। चालु आवमै सबै घर निर्माण सम्पन्न गर्ने कार्यालयको लक्ष्य छ। रासस