शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

डिप ट्युबेल जडानले २४० बिघा जग्गामा सिँचाइ सुविधा, उत्पादकत्व र आम्दानीमा वृद्धि

शुक्रबार, जेठ २ २०८२
डिप ट्युबेल जडानले २४० बिघा जग्गामा सिँचाइ सुविधा, उत्पादकत्व र आम्दानीमा वृद्धि

भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले ठेक्का प्रक्रियामार्फत वडाका चार स्थानमा डिप ट्युबेल जडानको कार्य गरेको छ।

कञ्चनपुर- डिप ट्युबेल जडान भएपछि शुक्लाफाँटा नगरपालिका-१२ का किसानको २४० बिघा जग्गामा सिँचाइ सुविधा पुगेको छ। भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले ठेक्का प्रक्रियामार्फत वडाका चार स्थानमा डिप ट्युबेल जडानको कार्य गरेको छ।

गौंडी, खल्ला, वसन्तपुर र तिलकी टोलमा डिप ट्युबेल जडानको कार्य गरिएको वडाध्यक्ष नवलसिंह रानाले बताए। 'एउटा डिप ट्युबेलको क्षमता ६० बिघा जग्गामा सिँचाइ गर्ने गरेको छ', उनले भने, 'चारवटा डिप ट्युबेलबाट २४० बिघा जग्गामा सिँचाइ गर्न सकिन्छ।'

डिप ट्युबेलमार्फत सिँचाइ सुविधा उपलब्ध भएपछि यस क्षेत्रका किसानलाई माछापालन, उखुखेती, तरकारीखेती, बसन्ते मकैखेती, केराखेतीलगायत गर्न निकै सहज भएको छ। सो सुविधाले समयमै धान, तोरी, मसुरो र गहुँबाली किसानले लगाउन पाएका छन्। बालीको उत्पादकत्व विगतको तुलनामा निकै वृद्धि हुँदै गएको किसानहरुको भनाइ छ।

'विगतमा सिँचाइको भरपर्दो व्यवस्था नहुँदा यहाँका किसानले आकासे पानीको भर पर्नु पर्दथ्यो', केराखेती गर्दै आएका मोहन रानाले भने, 'सिँचाइको सुविधाले चाहेको बेला सिँचाइ गर्न पाएका छौँ, केराखेतीबाट मनग्य आम्दानी लिँदै आएका छौँ।'

सिँचाइको व्यवस्थाले यस क्षेत्रका किसानको आयआर्जनमा निकै वृद्धि भएको स्थानीय शिक्षक गेंदुराम रानाले बताए। उनका अनुसार डिप ट्युबेल जडानबाट ४०० बढी किसान लाभान्वित भएका छन्। रासस


प्रकाशित : शुक्रबार, जेठ २ २०८२१४:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend