काठमाडौं- नेपाल राष्ट्र बैंकले पहिलोपटक वाणिज्य बैंकहरूको सूचना प्रविधि (आईटी) सुपरिवेक्षण सुरु गरेको छ। पहिलो चरणमा बैंक सुपरिवेक्षण विभागले तीन वाणिज्य बैंकहरूको सूचना प्रविधिको सुपरिवेक्षण सम्पन्न गरेको हो।
पहिलो चरणमा नबिल बैंक, ग्लोबल आईएमई बैंक र नेपाल बैंक लिमिटेडको आईटी सुपरिवेक्षण भएको राष्ट्र बैंक स्रोतले जनाएको छ।
राष्ट्र बैंकले सूचना प्रविधि तथा डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको समयमा बैंकहरूले प्रयोग गर्ने सफ्टवेयर, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएम/डेबिट तथा क्रेडिट कार्डलगायतका प्रविधिहरूको सुपरिवेक्षण राष्ट्र बैंकले सुरु गरेको हो।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानीसम्बन्धी आवश्यक नीति तर्जुमा गर्छ। उक्त नीतिका आधारमा बैंक सुपरिवेक्षण विभागले बैंकहरूको भुक्तानी प्रणालीको सुपरिवेण गर्न थालेको छ।
राष्ट्र बैंकले तर्जुमा गरेको नीति निर्देशनभित्र रहेर कारोबार भएको वा नभएको भनेर राष्ट्र बैंकले बैंकहरूको आईटी सुपरिवेक्षण गर्न थालेको हो।
डिजिटल कारोबार सुरक्षित बनाउनका लागि बैंकहरूले सूचना प्रविधिको क्षेत्रमा गरिरहेको लगानी, उनीहरूले प्रयोग गर्ने प्रविधि, शंकास्पद कारोबार, साइवर सुरक्षालगायतका क्षेत्रभित्र रहेर सुपरिवेक्षण थालिएको राष्ट्र बैंकले जनाएको छ।
यस्तै बैंक तथा वित्तीय संस्थाहरूले प्रयोग गरिरहेको आन्तरिक सूचना प्रणाली र बैंकले हिसाब किताब राख्नका लागि प्रयोग गर्ने सफ्टवेयर लगायतका विषयमा समेत सुपरिवेक्षणमार्फत अध्ययन गरिने राष्ट्र बैंकले जनाएको छ।
बैंकहरूले आफ्नै खालका सफ्टवेयर तथा प्रणाली प्रयोग गर्न थालेपछि राष्ट्र बैंकले यसमा एकरुपता ल्याउन पनि यस्तो सुपरिवेक्षण थालेको हो। बैंकपिच्छे फरक फरक खालका सफ्टवेयरलगायतका प्रणालीहरू प्रयोग गर्दा सुपरिवेक्षणमा नै समस्या आउन थालेको बताइएको छ।
सबै बैंकहरूको आईटी सुपरिवेक्षण सम्पन्न गरेर एकरुपता ल्याउने तयारीसमेत राष्ट्र बैंकको रहेको छ।
सम्पूर्ण बैंकिङ कारोबारहरू डिजिटल माध्यमबाट हुन थालेकाले सेवाग्राहीको हित संरक्षणका लागि यस्तो सुपरिवेक्षण आवश्यक रहेको राष्ट्र बैंकको भनाइ छ।