शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

यार्सा खोज्न हिमालतिर उक्लिए चिमखोलावासी

बिहीबार , जेठ १ २०८२
यार्सा खोज्न हिमालतिर उक्लिए चिमखोलावासी

चिमखोलाबाट करिब ५० स्थानीयवासी यार्सागुम्बा खोज्न बुकीमा गएका छन्। बैशाखको अन्तिम सातादेखि जेठ महिनाको तेस्रो हप्तासम्मका लागि पुग्ने खाद्यान्न, लत्ताकपडा लिएर यार्सा खोज्न बुकी गएका हुन्।

म्याग्दी- म्याग्दीको हिमाली क्षेत्रमा यार्सागुम्बा संकलन गर्न थालिएको छ। धवलागिरि गाउँपालिका-१ गुर्जा, वडा नं.-४ मुदी र रघुगंगा गाउँपालिका-७ चिमखोलाका बासिन्दाहरु यार्सागुम्बा खोज्न हिमाल फेदीको बुकी पाटनमा पुगेका छन्। गुर्जा, चुरेन र धौलागिरि हिमालको फेदीमा यार्सागुम्बा पाइने गर्छ।

धवलागिरी गाउँपालिका-१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले गुर्जाका अधिकांश घरबाट यार्सा खोज्न हिमाली क्षेत्रमा गएका बताए। गुर्जामा गत बैशाखको २६ गतेदेखि यार्सा संकलन गर्न खुला गरिएको थियो। गुर्जामा रहेका दुईसय ५० घरपरिवारमध्ये एक घरबाट कम्तीमा एकजना यार्सा खोज्न गएका वडा अध्यक्ष छन्त्यालले बताए।

रघुगंगा गाउँपालिका-७ चिमखोलाका वडाध्यक्ष थकबहादुर पाइजा (रिम)ले हिउँदेबाली भित्र्याउने र बर्खेबाली लगाउने तथा उपभोक्ता समितिमार्फत सञ्चालित विकास आयोजनाको काम सकेर स्थानीयवासीहरु यार्सागुम्बा खोज्न धौलागिरि हिमाल फेदीको कालीबराह बुकीमा गएका बताए।

चिमखोलाबाट करिब ५० स्थानीयवासी यार्सागुम्बा खोज्न बुकीमा गएका छन्। बैशाखको अन्तिम सातादेखि जेठ महिनाको तेस्रो हप्तासम्मका लागि पुग्ने खाद्यान्न, लत्ताकपडा लिएर यार्सा खोज्न बुकी गएका हुन्। अनुकूल मौसम हुदाँ दैनिक एकसय गोटासम्म यार्सागुम्बा संकलन हुने र एकजनाले दुई लाख रूपैयाँभन्दा बढी आम्दानी गर्ने बताइएको छ।

यार्सा संकलकहरु बुकीमा ओढार र त्रिपालको छाप्रो हालेर बास बस्ने गरेका छन्। संकलन भएको यार्सा स्थानीय स्तरमा प्रतिगोटा दुईसय रूपैयाँदेखि दुईसय ५० रूपैयाँसम्ममा बिक्री हुने गरेको चिमखोले बुकीमा यार्सा संकलन गर्दै गरेका गमान गर्बुजाले बताए।

यार्सा संकलन हिमाली क्षेत्रका बासीन्दाका लागि रोजगारी र आयआर्जनको माध्यम बनेको छ। यार्सा टिप्न जानेहरुले देवीदेवताको पूजापाठ गरी काम सुरु गर्छन्। यार्सा संकलन हिमाली भेगका जनताका लागि मौसमी रोजगारी बनेको छ।

यार्सा संकलन भएपछि ठेकेदारले गाउँमै पुगेर यार्साको खरिद गर्दै आएका छन्। म्याग्दीमा केहि वर्षअघि वार्षिक २० किलोभन्दा बढी यार्सा निकासी हुने गरेकोमा पछिल्ला वर्षहरुमा मात्रा घटेको छ। चालु आर्थिक वर्षमा हालसम्म कसैले यार्सागुम्बा संकलनको अनुमति नलिएका डिभिजन वन कार्यालयका सूचना अधिकारी विनयबहादुर अधिकारी खत्रीले जानकारी दिए।

यार्सागुम्बा संकलन र निकासीका लागि राजस्व तिरेर संकलन पुर्जी र छोटपुर्जी लिएर मात्रै यार्सागुम्बा बिक्री र निकासी गर्न पाइन्छ। गत वर्ष आधा किलोग्राम यार्सागुम्बाको लागि छोडपुर्जी जारी भएको थियो। प्रतिकिलो यार्सागुम्बा निकासी गर्न १० हजार रूपैयाँ राजस्व तिर्नुपर्छ।

हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा न्यून मात्रामा भेटिने भएपछि यार्सा संकलनकर्ताले संकलन भएपछि मात्रै सोही बमोजिमको संकलन पुर्जी काट्ने चलन छ। सर्वसाधारणबाट व्यवसायीहरुले प्रतिकिलो पाँच लाख रूपैयाँदेखि ६ लाख रूपैयाँसम्ममा यार्सा खरिद गर्ने गरेका छन्। हालको बजारमूल्य प्रतिकिलो आठ लाख रूपैयाँदेखि १० लाख रूपैयाँसम्म रहेको जानकार बताउँछन्। रासस


प्रकाशित : बिहीबार , जेठ १ २०८२१४:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend