शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

बन्दीपुरका एकसय किसानलाई मौरीसहितको घार वितरण

बिहीबार , जेठ १ २०८२
बन्दीपुरका एकसय किसानलाई मौरीसहितको घार वितरण

गाउँपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लगानीमा सेरेना जातका मौरीका घार उपलब्ध गराइएको हो।

तनहुँ- जिल्लाको बन्दीपुर गाउँपालिकाको कृषि शाखाले एकसय किसानलाई ५० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरेको छ। गाउँपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लगानीमा सेरेना जातका मौरीका घार उपलब्ध गराइएको हो।

मह उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ तीन दिनको मौरीपालनसम्बन्धी तालिम दिएसँगै मौरीसहितको घार उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए। उनले भने, 'किसानलाई कृषिका क्षेत्रमा आत्मनिर्भर बनाउँदै आम्दानीतर्फ आकर्षित गराउन सीपमूलक र आयआर्जन क्षेत्रमा पालिकाले प्राथामिकता दिँदै आएको छ।'

मौरीसहितको घारको मूल्य नौ हजार रूपैयाँ पर्ने जनाउँदै उनले वार्षिक कृषि कार्यक्रमअन्तर्गत मौरीपालन गर्न इच्छुक किसानलाई तालिम र मौरीसहितको घार वितरण गरिएको बताए। पालिकाले तोरी र मुसुरोखेतीका लागि गत वर्ष तीन लाख रूपैयाँ विनियोजन गरेको थियो। तोरी र मुसुरोखेतीसँगै मौरीपालन गर्ने किसानलाई प्रोत्साहन गर्न घार सहयोग गरिएको अध्यक्ष थापाको भनाइ छ।

गाउँपालिकाले मह, तेल र दालमा आत्मनिर्भर बनाउनका लागि पकेट क्षेत्रका रूपमा विकास गर्दै खेतीलाई विस्तार गर्दै लागेको पालिका कार्यालयले जनाएको छ।

तीन दिनका लागि सञ्चालित मौरीपालन तालिम आज समापन हुँदैछ। तालिम सकिएपछि मौरीसहितको घार वितरण गर्ने योजना रहेकामा तालिमअगावै मौरी र घार आएकाले वितरण गरिएको अध्यक्ष थापाले जानकारी दिए। रासस


प्रकाशित : बिहीबार , जेठ १ २०८२११:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend