म्याग्दी- विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरु मासिएका छन्। तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा ज्यामरुके राजा भर्दिवम मल्लले निर्माण गर्न लगाएका चारओटा कुवा र अन्य ऐतिहासिक सम्पदाहरू मासिएका स्थानीयले बताएका छन्।
स्थानीयले पानीको स्रोतका रूपमा निर्माण गरेका २० ओटाभन्दा बढी कुवा र पँधेराहरु गाउँगाउँमा मोटरबाटो र विकास पूर्वाधारहरु निर्माण गर्ने क्रममा मासिएका स्थानीय ८५ वर्षीय बेदप्रसाद उपाध्यायले बताए। २०५० सम्म गौश्वारा, तमाने, सानालेख, भकुण्डे, फापरखेत, रोहोटे, खबरा, बगरफाँटलगायत ठाउँमा रहेका कुवा र पँधेराको हाल नामोनिसान मेटिएको छ।
‘बाँकी रहेका पुराना केही कुवा र पँधेरा पनि पुरिन थालेका छन्, खानेपानीको संकट बढ्दै गएको छ तर, सयौँ वर्षपहिले निर्माण गरिएका कुवा र पँधेरा भने नासिँदै गएका छन्’ उनी भन्छन्, ‘यिनको संरक्षण गर्न सक्ने हो भने मूलको चिसो र सफा पानी खान पाइने थियो।’
बेनी नगरपालिका-२ मा पर्ने ज्यामरुककोट प्राकृतिक सुन्दरता, जैविक विविधता, ऐतिहासिक सम्पदाले सम्पन्न छ। यहाँ पर्यटन प्रबर्धनका लागि मोटरबाटोलगायत संरचना बन्न थालेपछि कुवा, पँधेरालगायतका प्राचीन सम्पदा नासिँदै गएका समाजसेवी भीमबहादुर पौडेलको भनाइ छ।
ज्यामरुककोटवासी कुवाको पानीमा भर पर्न छोडेको तीन दशक भइसकेको छ। अस्तित्व बाँकी रहेका केही कुवा पनि जीर्ण अवस्थामा छन्। पानीको हाहाकार हुने अवस्था आइरहेका बेला यस्ता स्रोतहरूको संरक्षणमा लाग्न आवश्यक रहेको शिक्षक टीकाबहादुर कार्की बताउँछन्।
बेनी नगरपालिका-२ खबराका चन्द्रबहादुर कार्की विकासका गतिविधि सञ्चालन गर्दा वातावरणीय प्रभाव र अन्य प्राकृतिक सम्पदाको संरक्षण पनि सँगसँगै अगाडि बढाउनुपर्ने बताउँछन्। कुवा र पँधेरा मात्रै होइन गाउँघरबाट देवल, मूर्ति, चौतारी, पोखरी, मठ, मन्दिर, ढिकी जाँतो, घट्ट, ठेकाठेकी, घुमाउने घर, ढुंगेधारालगायत रैथाने सीप र ऐतिहासिक सम्पदा हराइरहेकामा उहाँले चिन्ता व्यक्त गरे। रासस