शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

वर्षाले अलैँची खेती गर्ने किसान हर्षित

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ २६ २०७८
वर्षाले अलैँची खेती गर्ने किसान हर्षित

फुङ्लिङ- ताप्लेजुङमा हिमपातसँगै निरन्तर वर्षा भएपछि किसान हर्षित भएका छन्। सबैभन्दा बढी अलैँची खेतीमा संलग्न किसान हर्षित भएका छन्। 

जिल्लाको प्रमुख नगदे बालीका रूपमा रहेको अलैँची खेतीका लागि सिँचाइ गर्ने समयमा वर्षा भएपछि किसान हर्षित भएका हुन्। हिमपातसँगै वर्षा भएकाले सिँचाइ गर्न पर्याप्त पानी नभएका क्षेत्रका किसानलाई ठूलो राहत मिलेको छ। अलैँची सिँचाइमा मूलकोभन्दा आकाशे पानी राम्रो हुने किसान बताउँछन्।  

जिल्लामा शुक्रबार र शनिबार वर्षा भएपछि हिमपातसमेत भएको छ। फक्ताङ्लुङ गाउँपालिका-६ लेलेपका विर्खबहादुर लिम्बू अलैँचीलाई सिँचाइ आवश्यक भएका बेला वर्षा भएकाले ठूलो राहत मिलेको बताउँछन्।

अलैँची फूल फुल्ने र नयाँ टुसा आउने समयमा वर्षा भएकाले राहत मिलेको लिम्बूले बताए। मङ्सिरपछि किसानले अलैँची खेतीमा सिँचाइ गर्ने गर्दछन्। यो समयमा औल क्षेत्रमा अलैँची फूल्न थालेको र लेकाली क्षेत्रमा फूल तथा टुसा पलाउने समय भएकाले वर्षाले फाइदा पुर्‍याएको किसानको भनाइ छ।

यस्तै अन्य फलफूल तथा तरकारी खेतीलाई पनि वर्षाले फाइदा पुर्‍याएको छ। यतिबेला आलुखेतीको मौसम भएकाले वर्षाले फाइदा पुगेको हो। हिउँदमा बेला-बेलामा वर्षा भइदिँदा नगदेबाली अलैँचीसहित फलफूल, तरकारीलगायतका बालीलाई फाइदा पुग्ने र उत्पादन राम्रो हुने किसान बताउँछन्।

जिल्लाको नौ स्थानीय तहका ६१ वडामध्ये फक्ताङ्लुङ गाउँपालिका-७ ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैँची खेती गरिन्छ। कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार यहाँ ४ हजार ३ सय २ हेक्टर क्षेत्रफलमा अलैँची खेती गर्ने गरिएको छ। रासस


प्रकाशित : बुधबार, माघ २६ २०७८०५:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend