शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सांसदहरूले भने- महाकाली पुलको काम छिटो गरियोस्

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ २५ २०७८
सांसदहरूले भने- महाकाली पुलको काम छिटो गरियोस्

विगतमा ठेक्का भएका कतिपय पुल अझै निर्माण अघि नबढेको भन्दै ध्यानाकर्षण गराएका छन्।

काठमाडौं- सांसदहरूले महाकाली नदीमा निर्माणाधीन पुल चाँडो सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराएका छन्।

कञ्चनपुर जिल्लाका सांसद्हरू निरुदेवी पाल, दीपकप्रकाश भट्ट र नरबहादुर धामीले भौतिक पूर्वाधार सचिव रवीन्द्रनाथ श्रेष्ठलाई पुल निर्माणमा रहेका समस्या हटाएर चाँडो सम्पन्न गर्न ध्यानाकर्षण गराएका हुन्। 

दोधारा चाँदनी जोड्ने गरी महाकाली नदीमा निर्माणाधीन पुलमा डिजाइन परिवर्तन गर्ने भन्दै निर्माण रोकेकामा पुनः अघि बढ्न नसकेको सांसद् धामीले जानकारी दिए।

उनका अनुसार पहिले पुलको नजिकै पर्यटकलाई आकर्षित गर्ने गरी पोखरीलगायतका आकर्षणका लागि संरचना बनाइने भनिए पनि अहिले केही परिवर्तन हुन लागेको छ। उनले भने, 'अहिलेसम्म ७५ प्रतिशत काम भइसकेको पुल चाँडो सक्न हामीले भनेका छौँ, अहिले तीन चार महिनादेखि काम ठप्प छ।'

टोलीले विगतमा ठेक्का भएका कतिपय पुल अझै निर्माण अघि नबढेको भन्दै सचिव श्रेष्ठको ध्यानाकर्षण गराएको छ।

झण्डै तीन/चार वर्ष पहिले योजनामा परेका अरु कतिपय पुल प्रक्रियामा नगएको भन्दै त्यसलाई अघि बढाउन भनिएको सांसद् धामीले बताए। सचिव श्रेष्ठले महाकाली पुलमा जतिसक्दो चाँडो डिजाइन अनुमोदन गरी अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

सरकारले चार वर्ष पहिले महाकाली नदी पारी रहेको दोधारा-चाँदनीलाई जोड्ने गरी पुल निर्माण सुरु गरेको थियो। सो पुलले दोधारा चाँदनीलाई भीमदत्त नगरपालिकासँग जोड्नेछ। रासस 


प्रकाशित : मंगलबार, माघ २५ २०७८१३:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend