बैशाख- बर्खा सुरु हुन लाग्दा पनि लमजुङमा विद्युत उत्पादन वृद्धि हुन सकेको छैन। हिउँ नपग्लिनु, मस्रयांदी, दोर्दी, मिदिम, खुदी, स्याँगेलगायत खोलामा पर्याप्त पानी नहुँदा गत मंसिरदेखि घटेको विद्युत उत्पादन वृद्धि हुन नसकेको हो। जिल्लामा उत्पादन थालेको सबैभन्दा ठूलो लमजुङको बेँसीसहर नगरपालिका-१ दलालस्थित ७० मेगावाट क्षमताको मध्यमस्रयांदी जलविद्युत आयोजनामा गत मंसिरको सुरुआतदेखि उत्पादन घटेर २४ मेगावाटमा सीमित भएको थियो।
अहिले केहीमात्रामा बढेर ३२ मेगावाटको हाराहारीमा विद्युत उत्पादन हुन थालेको मध्यमस्रयांदी जलविद्युत आयोजना केन्द्रका प्रमुख पवन बस्नेत बताउँछन्। उनका अनुसार गत वर्ष यो समयमा ४०/५० मेगावाट विजुली उत्पादन हुने गरेको थियो। ‘विगतका वर्षमाभन्दा यस वर्ष ढिलो विद्युत उत्पादन वृद्धि हुने अवस्था छ। हिउँ नपग्लिनु, नदीमा पानी नहुनुलगायत कारणले आयोजनालाई आवश्यक पानी नहुँदा विद्युत उत्पदान पुरानो अवस्थामा फर्किन ढिलाइ भइरहेको छ’ उनले भने।
मध्यमस्रयांदी आयोजना सन् २००८ मा निर्माण सम्पन्न भएको हो। उक्त आयोजना २७ अर्ब २० करोडको लागतमा निर्माण सम्पन्न भएको थिये। जिल्लामा पिपुल हाइड्रोपावर कम्पनीले निर्माण गरेको दोर्दी गाउँपालिका-६ ढोडेनीस्थित ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ आयोजनाबाट पनि विद्युत उत्पादन बढ्न सकेको छैन। यस आयोजनाबाट हाल १४ मेगावाट मात्र बिजुली उत्पादन भइरहेको आयोजना कार्यालयले जनाएको छ।
त्यस्तै, मस्रयांदी गाउँपालिकास्थित भुलभुलेमा ५० मेगावाट क्षमताको माथिल्लो मस्रयांदी ‘ए’ जलविद्युतबाट अहिले ३०/३२ मेगावाटको हाराहारीमा मात्र विद्युत उत्पादन भइरहेको आयोजनाका इञ्जिनियर कर्ण अधिकारीले जानकारी दिए। उनी भन्छन्, ‘यस वर्ष विद्युत उत्पादन घट्दा २५ मेगावाटको एउटा टर्वाइन मात्र चलाएका थियौँ, अहिले दुई वटा चलाएका छौँ, तर नदीमा पर्याप्त पानी नभएकाले पूरै क्षमतामा चल्न सकेको छैन।’
त्यस्तै, ३० मेगावाटको ङादी जलविद्युत आयोजना, दोर्दी करिडोरमा रहेको हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले निर्माण गरेको २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत, दोर्दी गाउँपालिका-६ ढोडेनीमा लिवर्टी इनर्जी हाइड्रोपावरले निर्माण गरेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजनाको उत्पादन पनि सन्तोषजनक छैन।
४ दशमलव ४ मेगावाटको राँधी, ३ मेगावाटको मिदिम करापु तथा दुई मेगावाटको छ्यांदी आयोजनाबाट पूरै क्षमतामा सञ्चालन हुन सकेका छैनन्। जिल्लामा १७ आयोजनाबाट करिब ३ सय मेगावाट बिजुली उत्पादन हुने गरेकामा नदीमा पर्याप्त पानी नहुँदा सो हाराहारीमा बिजुली उत्पादन हुन नसकेको हो। रासस