शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

वर्षासँगै आएको हावाहुरीले ढले केराका बोट, ५१ लाख रूपैयाँ बराबरको क्षति

सोमबार, वैशाख २९ २०८२
वर्षासँगै आएको हावाहुरीले ढले केराका बोट, ५१ लाख रूपैयाँ बराबरको क्षति
फाइल तस्बिर

आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बाह्रदशी-७ स्थित बत्तीसबिघेमा स्थानीयवासीले ३० बिघामा लगाएको केराखेती पूर्णरुपमा नष्ट हुँदा करिब ५१ लाख रूपैयाँ बराबरको क्षति भएको छ।

बनियानी- झापाको बाह्रदशी गाउँपालिकामा वर्षासँगै आएको हावाहुरीले केराखेतीमा लाखौँको क्षति भएको छ।

आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बाह्रदशी-७ स्थित बत्तीसबिघेमा स्थानीयवासीले ३० बिघामा लगाएको केराखेती पूर्णरुपमा नष्ट हुँदा करिब ५१ लाख रूपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

हावाहुरीले बाह्रदशी-७ का १५ घरपरिवारले लगाएको केराको बोट ढलेको छ। इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरी नायब निरीक्षक बलबहादुर राईको नेतृत्वमा खटिएको प्रहरी टोलीले आज स्थलगत अनुमगन गरी क्षतिको विवरण संकलन गरेको प्रवक्ता खड्काले बताए।

हावाहुरीले झापा मेचीनगर नगरपालिका-१५ गाइनाबारीस्थित मेचीनगर-१० धुलाबारीका कपिल क्षेत्रीलगायतले सामूहिकरुपमा सञ्चालन गरेको कामक्ष इण्डष्ट्रिज प्राइभेट लिमिटेड (प्लाई उद्योग) मा पानीसँगै आएको हावाहुरीले पिलिङ भवनको पश्चिम साइडको ट्रस, जस्ताले बनेको छाना उडाएको, सीसीटीभी क्यामेरा फुटाइ करिब दुई लाख २० हजार रूपैयाँ बराबरको क्षति भएको छ।

त्यस्तै, वर्षासँगै आएको हावाहुरीले दमक नगरपालिका-८ का ५५ वर्षीय दुर्गा प्रसाईँले सञ्चालन गरेको दुर्गा काटा गल्ला भण्डारमा (फापर, धान, मकै) स्टोर गरेको हलको ३५ वटा जस्तापाता पूर्णरुपमा उडाएको र छानाको भागमा रहेको फलामको पाइपहरु समेत बांगिएर क्षति भएको छ। उक्त स्टोर हलको भित्र रहेको ५५-६० बोरा फापर पानीले भिजेको छ भने करिब एक लाख ५० हजार रूपैयाँ बराबरको क्षति भएको छ।

यसैगरी, झापा हल्दिबारी गाउँपालिका-४ बलटोलका ६९ वर्षीय सकलदीप साहको टिनको छाना बाँसको टाटीबेराले बनेको तीनकोठे कच्ची घर पानीसँगै आएको हावाहुरीले उडाएर पूर्णरुपमा क्षति हुँदा करिब एक लाख ५० हजार बराबरको क्षति भएको छ।

हावाहुरीले दमक नगरपालिका-४ संगम चोककी ३८ वर्षीया कमला अधिकारीको डेढ तले पक्की घरको माथिको तलाको सिँढी छोप्ने जस्ता उडाउँदा करिब ३० हजार बराबरको क्षति भएको छ भने सोही स्थानका ५२ वर्षीय भीमप्रसाद सिग्देलको पक्की घरको माथिल्लो तलाको दुईवटा कोठाको जस्ता उडाउँदा करिब ६० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। रासस


प्रकाशित : सोमबार, वैशाख २९ २०८२१५:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend