शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बनेपछि गाउँठाउँमै रोजगारी पाइने स्थानीयको आशा

images
शुक्रबार, वैशाख २६ २०८२
images
दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बनेपछि गाउँठाउँमै रोजगारी पाइने स्थानीयको आशा

घर छेउमै सुक्खा बन्दरगाह निर्माणको थालनी भएपछि यहाँका युवाले रोजगारीका लागि भारतीय सहर जानुनपर्ने बाध्यता हट्ने आशा छ।

images
images

कञ्चनपुर- दोधारा चाँदनी नगरपालिका-१ भूमिराज टोलका ६० वर्षीय राम खड्का २०२२ सालमा डोटीको सिलगढीबाट बसाइँ सरेर यहाँ आए। डोटीमा खेती गर्न जग्गा नभएपछि यहाँ आएका खड्का दुई बिघा जमिनमा खेती गर्दै आएका छन्।

images
images
images

सुक्खा बन्दरगाह निर्माणपछि यहाँ ठूला उद्योग खुल्ने सुनेका उनमा स्थानीयस्तरमै रोजगारी पाउने आशा पलाएको छ। घर छेउमै सुक्खा बन्दरगाह निर्माणको थालनी भएपछि यहाँका युवाले रोजगारीका लागि भारतीय सहर जानुनपर्ने बाध्यता हट्ने आशा छ।

images
images

'त्यसबेला सडक, बिजुली बत्ती केही थिएन, जंगली जनावर र भारतीय लुटेराको डर हुन्थ्यो', उनले विगत सम्झिँदै भने, 'यसरी घर छेउमै सुक्खा बन्दरगाह निर्माण होला भनेर सोच्न पनि सकेका थिएनौँ।'

images
images

दोधारा चाँदनीमा बन्दरगाह निर्माणका लागि रुख कटानको काम सुरू भएको छ। बन्दरगाहकै लागि महाकाली नदीमा चार लेनको पक्की पुल र पूर्वपश्चिम राजमार्गको गड्डाचौकीबाट सुक्खा बन्दरगाह निर्माणस्थलसम्म ६ लेनको सडक बनेको छ।

उनका छोरा महाकाली चार लेन पुल निर्माण कम्पनीको टिपर चलाउँथे। पुलको काम सम्पन्न भएपछि अहिले घरमै बेरोजगार छन्। बन्दरगाह निर्माण सुरू भएपछि छोराले पुनः घर नजिकै रोजगारी पाउने आशा उनको छ।

'बन्दरगाह बनेपछि घर नजिकै हामीले पनि रोजगारी पाउने आशा गरेका छौँ', उनले भने, 'धेरै पहिलादेखि बन्छ, बन्छ भन्थे अहिले बन्दरगाह निर्माणका लागि रुख कटान गर्न थालेपछि यहाँका स्थानीयमा रोजगारी पाउने आशा जागेको छ।'

उनले महाकाली नदीमा पुल र चाँदनीसम्म ६ लेनको कालोपत्र सडक बनेपछि यहाँको मुहार परिवर्तन भएको बताए। 'दुई बिघा जग्गा छ, पहिलेको जस्तो उत्पादन पनि हुँदैन', खड्काले भने, 'बन्दरगाह निर्माणले यहाँको आर्थिक अवस्था परिवर्तन होला भन्ने पर्खाइमा छौँ।' 

यहाँ सुक्खा बन्दरगाह बन्ने भएपछि दोधारा चाँदनीको स्वरूप परिर्वतन भएको छ। 'विगतमा महेन्द्रनगर आवतजावत गर्न भारतीय बाटो शारदा ब्यारेज भएर जानुपर्थ्यो,' चाँदनीका स्थानीय नीरज भट्टले भने, 'पक्की पुल र सुक्खा बन्दरगाह बन्ने भएपछि आवतजावतमा सहज त भयो नै जग्गाको मूल्यवृद्धि र रोजगारीको बाटा खुलेका छन्।'

दोधारा चाँदनीका अधिकांश युवा रोजगारीका लागि भारतका विभिन्न सहर धाउनुपर्ने बाध्यता रहेको बताउँदै सुक्खा बन्दरगाह बनाउँदा स्थानीयलाई रोजगारीको सबैभन्दा ठूलो आशा रहेको उनको भनाइ छ।

सुक्खा बन्दरगाह निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आए सुदूरपश्चिमको सम्भावनाको ढोका खुल्ने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जंगबहादुर मल्लको बुझाइ छ। उनले भारतको राजधानी नयाँ दिल्ली र उत्तराखण्डस्थित औद्योगिक क्षेत्र रुद्रपुरसम्म सहज पहुँच हुने हुँदा सुदूरपश्चिमको विकासमा ठूलो योगदान मिल्ने बताए।

'रुद्रपुर भारतकै ठूलो औद्योगिक क्षेत्र हो, नेपालको गड्डाचौकीनाकाबाट भारतको औद्योगिक क्षेत्र पुग्न दुई घण्टा लाग्छ तर यति छोटो दुरीमा रहेको औद्योगिक क्षेत्रसँग सुदूरपश्चिमले अहिलेसम्म व्यापारिक कारोबार गर्न पाएको छैन', उनले भने, 'सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आएपछि यस क्षेत्रको व्यापार विस्तारको ढोका खुल्छ र रोजगारीको अवसर सृजना हुन्छन्।'

नेपाल इन्टरमोडल यातायात विकास समितिले बन्दरगाह निर्माणका लागि गौरीशंकर सामुदायिक वनमा रुख कटानको काम सुरू गरेको छ। समितिका इञ्जिनियर अनिश केसीले बन्दरगाह निर्माणका लागि एक हजार ५ सय ९३ रुख काट्नका लागि ४१ लाख रूपैयाँमा ठेक्का सम्झौता भएर रुख कटानको काम भइरहेको जानकारी दिए।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकारबीच जुन १, २०२३ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो। सोही सम्झौताअनुसार दुवैतर्फबाट काम भइरहेको छ।

भारतीय पक्षले बन्दरगाह निर्माणका लागि दुई अर्ब ५४ करोड ३१ लाख ९९ हजार भारतीय रूपैयाँ लागतमा बोलपत्र आह्वान गरिसकेको छ। सुक्खा बन्दरगाहस्थल खाली गरेर भारतीय पक्षलाई हस्तान्तरण भएपछि पूर्वाधार निर्माणको काम सुरु हुने छ।

बन्दरगाह निर्माणका लागि प्रयोग हुने ४२ दशमलव ३६ हेक्टर क्षेत्रफलमा दुईवटा गोदाम भवन, भन्सार चेकजाँच भवन, क्वारेन्टाइन भवन, इमिग्रेसन भवन, सुरक्षा भवनलगायत पूर्वाधार निर्माण हुने इन्टरमोडल यातायात विकास समितिले जनाएको छ। सुक्खा बन्दरगाह निर्माणसँगै पश्चिममी नाका सञ्चालनमा आए सुदूरपश्चिम विकासको सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ। रासस


प्रकाशित : शुक्रबार, वैशाख २६ २०८२१०:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend