काठमाडौं- शैक्षिक मलजलको अवसर मिलेको हुन्थ्यो भने रामेछापका विदुर चौलागाईँ यतिबेला सांसद गगन थापाले भनेजस्तै कुनै डाँडोमा बसेर मासिक लाखौँ रूपैयाँ कमाइरहेका हुन पनि सक्थे। या त कुनै क्याफेमा 'एस्प्रेसो' को चुस्की लिँदै ल्यापटपमार्फत कुनै विदेशी कम्पनीसँग सहकार्य गरिरहेका हुन सक्थे। कि त स्वदेशकै कुनै निजी-सरकारी कम्पनीको उच्च ओहोदामा रहेर अह्राइपह्राइ गरिरहेका हुन सक्थे।
तर, परिवार आर्थिकरुपमा सबल नहुँदा उच्च शिक्षाबाट वञ्चित हुन पुगेका विदुर अहिले रिक्सा गुडाएर जिउपालो गरिरहेका छन्। भनाइको तात्पर्य कर्म सानो-ठूलो भन्ने होइन, परिश्रम र खटाइअनुसारको फल नमिल्नुमा असन्तुष्टि छ उनको।
सीपमा आधारित शिक्षा हुन्थ्यो भने सायद पढ्ने आधार जेनतेन जुट्थ्यो होला, तर आर्थिक उल्झन सुल्झाउन बालखैमा उनी राजधानी झरेका हुन्।
अव्यावहारिक शिक्षाभन्दा सीपलाई प्राथमिकता दिएकामा एउटा फाइदा भने उनलाई मिलेको छ- उच्च शिक्षाको प्रमाणपत्र बोकेर जागिरको खोजीमा भौँतारिनु परेन। न त अनुभव नभएकै कारण नोकरीबाट विमुख हुनुपर्ने अवस्था आयो।
अनेकन संघर्ष पार गरी जीवनलाई भोग्दै भोग्दै बुढ्यौलीनजिक आइपुग्दा ‘जे-जे भए राम्रै भए’ भन्ने निचोडमा पुगेपनि नपढेकोमा कताकति थकथकी भने उनलाई अझै पनि लागिरहन्छ।
जीवनको आधार मानिने कृषिबाट ‘सजिलरी’ बाँच्ने आधार नमिलिरहेका बेला हातमा पैसा खेलाइरहन पाइने अपेक्षाले लहलहैमै काठमाडौं आइपुगेका हुन् विदुर। त्यतिबेला यी निर्णय उचित लागे पनि अहिले प्रविधिको विकाससँगै मिलेको ‘सरल जीवन’को आस्वादनबाट वञ्चित हुनुपर्दा भने पढाइ छाड्नु अनुचित थियो भन्ने लाग्छ उनलाई।
हुन पनि, भर्खरै हुर्किँदै बढ्दै गरेको एउटा बिरुवालाई भइँ हुँदै झाँगिदै अग्लिँदै गगनचुम्बी बन्न आडभरोसा दिने थाँक्रोजस्तै मानवीय जीवन सरल, सहज र सफल बनाउन, उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेलिरहेको प्रविधिको विकास तीव्र रुपमा भइरहेको छ।
प्रविधिको लहरो समाएर लहरिन जान्नेहरूका लागि संसार निकै उँचो भइसकेको छ। प्रविधिको तालमा ताल मिलाउन सक्नेहरूका लागि जीवन जटिलबाट सरल हुँदै 'अँध्यारोबाट उज्यालोतर्फ' लम्किरहँदा केही भने किनारामै रुमल्लिरहेका छन्। रामेछाप सुनापति गाउँपालिकाका विदुर पनि मानव जीवनको आधारभूत आवश्यकताजत्तिकै अभिन्न बनिसकेको प्रविधिको हालीमुहाली रहेको यो नवीन युगमा प्रविधिको फड्को सँगसँगै फट्कन नसक्दा पुरातनमै अल्मलिरहेका छन्।

४० वर्षदेखि असन न्युरोडका गल्लीगोरेटामा रिक्सा कुदाइरहेका ५२ वर्षीय विदुर सानै उमेरदेखि संघर्षको मैदानमा होमिए। ८/९ वर्षको उमेरमै जीविकोपायको खोजीमा काठमाडौं छिरेका उनले पढ्ने अवसर पाएनन्। त्यसकारण पनि उनलाई आफूले कहिल्यै सल्टाउन नसक्ने ‘पहेली’ जस्तो बनेको छ प्रविधि।
‘त्यतिबेला स्कुलहरू निकै टाढाटाढा थिए। घरको आर्थिक अवस्था पनि कमजोर हुँदा धेरै पढ्न पाइएन। पढ्न मन त अझै पनि लाग्छ तर के गर्नु उमेर घर्किसक्यो, जिम्मेवारी सकिएको छैन’, निराशामा मुस्कान मिसाउँदै मजागी शैलीमा आफ्ना रहर र बाध्यता सुनाउँछन् विदुर।
अधिकांश नागरिकको पहुँचमा इन्टरनेट, इन्टरनेट बैंकिङको पहुँच पुगिसकेको समयमा उनी भने अपवादको गिन्तीमा पर्छन्।
नयाँनयाँ प्रविधि विकास भएर आएका स्मार्टफोनको रजगज छ, चलाउन जान्नेलाई संसारै यसैभित्र समेटिएको छ। तर विदुर उही पुरानो मोडलको किप्याड फोनबाटै काम चलाइरहेका छन्। भन्छन्, ‘आएका फोन उठाउनु र गर्नु मेरा लागि मोबाइल फोनको काम यत्ति हो। न म्यासेज लेख्न र पठाउन आउँछ, सामान्य सेटिङ बिग्रिँदासमेत मोबाइल पसलमा बनाउन लैजानुपर्छ। चलाउन नआउने भएपछि बजारमा जतिसुकै अब्बल फोन आए पनि महत्त्व नहुने रहेछ।’
व्यापक डिजिटल परिवर्तनसँगै विश्व नै डिजिटल कारोबारोन्मुख भइरहेका बेला विदुरले यसमा समेत आफूलाई भिन्न लाइनमा उभ्याएका छन्। अहिलेसम्म बैंकमा खातासमेत नखोलेका उनलाई मोबाइल बैंकिङ, एटीएम झन्झटिलो लाग्छ, जुन पछिल्लो पुस्तामा लोकप्रिय बनेको छ। नगदभन्दा सहज, सरल र विश्वासिलो मानिने मोबाइल बैंकिङ, डिजिटल वालेट तथा अनलाइन भुक्तानीका कुनै पनि माध्यममा नजोडिएका कारण उनका कति ग्राहक उम्किएका छन्।
‘एक त आम्दानी नै निकै थोरै हुन्छ, खानैलाई ठिक्क। अर्को त आफूलाई पढ्नलेख्न आउँदैन। सिकाउनलाई अरु झन्झट मान्छन्। त्यसमाथि आफूले नबुझ्ने भएपछि सबै कुरामा अरुको भर परिहाल्न पनि सकिँदैन। आँखा चिम्लेर विश्वास गर्ने समय छैन’, उनले भने।
अध्ययनबाट विमुख भएकै कारण प्रविधिको दौडमा आफू पछाडि परेको उनी बताउँछन्। अंग्रेजी पनि नबुझ्ने भएपछि झन् समस्या भएको उनलाई लाग्छ। ‘त्यतिबेला पढ्न नपाएकामा अहिले निकै पछुतो लाग्छ। विदेशी पर्यटकहरू यहाँ घुम्न आउँछन्। के-के नक्सा देखाउँछन् त्यहाँसम्म लैजान भन्दै। तर अरुलाई हेरिदिन अनुरोध गर्नुपर्छ। आफूले अध्ययन नगरेका कारण यस्ता कयाैँ अवसर गुमाइरहेको छु।’

गुजाराका लागि खेतीपातीको भर, त्यही पनि भरपर्दो नभएपछि आफन्त साथीभाइको साथ लागेर गाउँबाट काठमाडौं छिरेका विदुरले सुरुवाती समयमा होटलमा काम गरे। १२ वर्षको उमेरमै रिक्सा चलाउन सिकेर सामान ओसारपसारको काम थाले। यसले आम्दानीमा केही सुधार ल्यायो।
त्यसपछि उनी यसमै भुलिन थाले। नभुलिउन पनि कसरी, जीवनको पहिलो प्राथमिकता भोजन हुने नै भयो। त्यसमाथि दिनहुँ पैसा हातमा पर्ने भएपछि उनलाई यसैमा रस बस्यो। अहिले पनि उनी संघर्षमै तल्लीन छन्। भोक पनि बिर्साइदिने परिश्रमी उनका पैताला बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म रिक्साको पाइडल घुमाइरहन्छन्, चलिरहन्छ सामान ओसारपसारको काम।
चार कक्षासम्ममात्र अध्ययन गरेका उनले आफूले पढ्न नपाएर पाएको दुःख सम्झेर छोराछोरीलाई पढाए। बुहारीहरूलाई पनि अध्ययनका लागि सघाएका छन्। 'शिक्षा नै ठूलो धन हो' भन्ने नलागे पनि जीवनको ठूलो भर भने हो भन्ने लाग्छ उनलाई।
आम्दानी राम्रै छ, खर्च कटाएर दैनिक पाँचसयजति बचत हुन्छ। त्यस्तो नपुग्दो पनि केही छैन, जीविका राम्रैगरी चलेकै छ। ‘पहिलेपहिले १५ सय रुपैयाँसम्म बचत हुन्थ्यो। अहिले आम्दानी निकै घटेको छ। कोठाभाडा, खानाखर्च, रिक्सा भाडा तिर्दा कमाएको सकिन्छ। दैनिक सालाखाला पाँचसय रुपैयाँजति चाहिँ बचत हुन्छ’, विदुर सुनाउँछन्।
किताबी ज्ञान नभए पनि जीवनमा आइपरेका सानाठूला संघर्षबाट व्यावहारिक पाठ भने सिकेका छन् उनले। उनलाई केवल एउटै कुरामा चुकचुकी लागिरहन्छ- पढ्नुपर्थ्यो! पढेको भए जुगअनुसार परिवर्तन हुन सकिन्थ्यो, जीवन सहज बन्थ्यो।