काठमाडौं- सांसद अमनलाल मोदीले डोल्पा जिल्लामा निर्माण गर्ने भनिएको जगदुल्ला जलविद्युत आयोजनाको खरिद प्रक्रियमा अनियमिता भएको आरोप लगाएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्।
साथै उक्त विषयमा उचित छानबिन गर्नुपर्ने उनको माग छ। ‘आयोजनाको खरिद प्रक्रियामा कानून विपरीत काम भएको बुझिएको छ, यसबारेमा छानबिन गर्नुपर्छ’ सांसद मोदीले भने। उक्त जलविद्युत आयोजनामा सार्वजनिक खरिद ऐन र नियमावली विपरीत काम भएको आरोप उनको छ।
त्यस्तै नेपालबाट भएको अवैध पुँजी पलायन रोक्न र विदेश गइसकेको रकम फिर्ता गर्न आवश्यक प्रक्रिया थाल्न पनि उनले माग गरेका छन्। बैठकमा सांसद विमला सुवेदीले आज कोटेश्वर-तिनकुने क्षेत्रमा सार्वजानिक यातायातले ठक्कर दिँदा एक जनाको ज्यान गएको र ३ जना घाइते भएको गरेको जानकारी गराइन्।
साथै मृतकको परिवारलाई क्षतिपूर्ति र घाइतेलाई सहज स्वास्थ्य उपचारको व्यवस्था मिलाउन माग गरेकी छन्। त्यस्तै सरकारले २० वर्ष पुराना सवारीसाधन विस्थापन गर्ने नीति लिएको भए पनि यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको सांसद सुवेदीको भनाइ छ।
सांसद प्रभु साहले तराईका सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले नागरिकलाई दुःख दिन नहुने बताए। उनले रासायनिक मल अभाव हुन नदिनेतर्फ ध्यान दिन सरकारसँग माग गरे। रासस