बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

जगदुल्ला जलविद्युत आयोजना : १३ अर्ब ७३ करोडको ठेक्का जियाङसी-एनके जेभीलाई

बुधबार, वैशाख २४ २०८२
जगदुल्ला जलविद्युत आयोजना : १३ अर्ब ७३ करोडको ठेक्का जियाङसी-एनके जेभीलाई

प्राविधिक मूल्यांकनपछि खोलिएको वित्तीय प्रस्तावमा १३ अर्ब ७३ करोड रुपैयाँ (भ्याटसहित) को सबैभन्दा कम दर प्रस्तुत गर्ने जेसीई/एनकेजेई जेभी छनोटमा परेको हो।

काठमाडौं- डोल्पाको कर्णाली क्षेत्रमा निर्माण हुने १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माणको ठेक्का जियाङसी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पोरेशन लिमिटेड र एनके कन्स्ट्रक्सन कम्पनी प्रालिको संयुक्त (जेसीई/एनकेजेई जेभी)लाई दिने निर्णय भएको छ।

जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना निर्माणका लागि आह्वान गरेको ठेक्का प्रक्रियामा आवेदन दिएका चार कम्पनीमध्ये दुई कम्पनी-जेसीई/एनकेजेई जेभी र सिनो हाइड्रो कर्पोरेशन लिमिटेडमात्र प्राविधिक प्रस्तावमा छनोट भएका थिए। प्राविधिक मूल्यांकनपछि खोलिएको वित्तीय प्रस्तावमा १३ अर्ब ७३ करोड रुपैयाँ (भ्याटसहित)को सबैभन्दा कम दर प्रस्तुत गर्ने जेसीई/एनकेजेई जेभी छनोट भएको हो।

यसअघि आवेदन दिएका सातै कम्पनीलाई प्राविधिक रूपमा अयोग्य ठहर गर्दै गत पुस २३ गते ठेक्का रद्द गरिएको थियो। नयाँ आह्वानपछि चार कम्पनीले मात्र आवेदन दिएका थिए। पटक-पटक ठेक्का प्रक्रिया अन्योलमा पर्दा आयोजना ढिलाइ हुँदै आएको थियो।

कम्पनीले आयोजना पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। कुल अनुमानित लागत २३ अर्ब रुपैयाँ रहेको आयोजनामा १६ अर्ब ऋण र ७ अर्ब स्वपुँजीबाट लगानी जुटाइनेछ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको नेतृत्वमा वित्तीय व्यवस्थापन गरिएको छ। सो बैंकले ४ अर्ब ७० करोड, नबिल बैंकले ४ अर्ब, एचआईडीसीएलले ४ अर्ब, लक्ष्मी सनराइज बैंकले २ अर्ब र एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्नेछन्।

आयोजनामा विद्युत् उत्पादन कम्पनीले २६ प्रतिशत संस्थापक सेयरधनीको रूपमा लगानी गर्नेछ। एचआईडीसीएलको १० प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको ९ प्रतिशत, कर्णाली प्रदेश सरकार, जगदुल्ला र मुड्केचुला गाउँपालिकाको समान एक-एक प्रतिशत सेयर स्वामित्व रहनेछ।

सर्वसाधारणतर्फ ३३ प्रतिशत सेयर स्थानीय नागरिकले, १० प्रतिशत आयोजनाबाट प्रभावित डोल्पावासीले, र ३-३ प्रतिशत प्रसारण लाइन प्रभावित बासिन्दा तथा आयोजनाका कर्मचारीले पाउने व्यवस्था छ।

आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत भइसकेको छ। हालसम्म २५५ रोपनी जग्गाको मुआब्जा वितरण सम्पन्न भएको छ।

२०७४ असार १८ गते विद्युत् उत्पादनका लागि सर्वेक्षण अनुमति प्राप्त गरेको आयोजना २०७६ पुस १६ मा प्रसारण लाइनको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेको थियो। उत्पादित बिजुली बिक्रीका लागि विद्युत् खरिद-बिक्री सम्झौता गत वैशाखमा सम्पन्न भएको छ।

आयोजनामा ७८९ मिटर ग्रसहेड रहेको छ भने २३ मिटर उचाइ र ९३ मिटर लम्बाइको बाँध निर्माण गरिनेछ। जगदुल्ला गाउँपालिका-१ को हुरिकोटमा बाँध निर्माण गरी ६.१ किलोमिटर लामो सुरुङमार्फत ६२३ गिगावाट-घण्टा ऊर्जा उत्पादन गर्ने लक्ष्य रहेको छ।

१०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनाको ठेक्कामा दुई कम्पनी प्राविधिक रूपमा छनोट १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनाको ठेक्कामा दुई कम्पनी प्राविधिक रूपमा छनोट


प्रकाशित : बुधबार, वैशाख २४ २०८२१८:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend