चितवन- उच्च शिक्षा अध्ययनका लागि पोखरा पुगेका अर्घाखाँचीका ओमप्रकाश पाण्डेलाई अहिले पर्यटन व्यवसाय फलिफाप भएको छ। पर्यटकीय सहर पोखरामा ‘कमाउँदै-पढ्दै’ गर्नेक्रममा २०४५ सालमा होटलबाट पाण्डेले काम सुरु गरेका थिए। अहिले उनै पाण्डे स्थापित पर्यटन व्यवसायी बन्न सफल भएका छन्।
होटलको आंशिक रोजगारीबाट यस क्षेत्रमा प्रवेश गरेका पाण्डे अहिले ५ वटा होटलको मालिक बनेका छन्। उनी सबैको प्रेरणाका स्रोत बन्दैछन्। पोखराका होटल तथा ट्राभल एजेन्सीमा काम गरेको ज्ञान, सीप, अनुभव र सम्पर्कलाई सदुपयोग गर्दै अघि बढेका उनले धेरै जनालाई रोजगारी दिँदै आएका छन्। वि.सं. २०२२ मा अर्घाखाँचीमा जन्मिएका पाण्डेले स्थानीय विद्यालयबाट प्रवेशिका परीक्षा (एसएलसी) सम्मको अध्ययन गरे।
त्यसपछि उच्च शिक्षा अध्ययनका क्रममा पृथ्वीनारायण क्याम्पस, पोखरा पुग्नुभएका उनले विज्ञानमा स्नातकसम्मको अध्ययन गरेका छन्। विद्यार्थीकालमा होटलमा ३ वर्ष काम गर्दाको अनुभवले उनी आत्मविश्वासका साथ यस क्षेत्रमा आकर्षित भएको बताउँछन्। पाण्डेले ७ लाख ५० हजार रुपैयाँ लिएर पोखरामै घर भाडामा लिएर होटल व्यवसाय सुरु गरेका हुन्। विभिन्न आरोह अवरोहका बीच अहिलेसम्म ४ वटा होटल चलाए। कहिले कमाइ हुन्थ्यो त कहिले लगानी नै गुमाउनु पथ्र्यो।
‘होटल चलाउँदै गर्दा पहिला किनेको घडेरी बेचेर ऋण पनि तिर्नुपर्यो। पछिल्लो होटलले राम्रै कमाइ गर्यो भने ट्राभल एजेन्सीबाट पनि मनग्गे नाफा भयो’ पाण्डेले सुनाए। भाडामा होटल चलाउँदै आएका पाण्डेले २०६२ सालमा केही नगद र बैंकसँग ऋण लिएर पोखराको लेकसाइडमा होटल ल्याण्डमार्क किने। १ करोड ५० लाखमा किनेको २३ कोठे होटललाई विस्तार गरेर अहिले १०० कोठाको ४ तारे होटलमा स्तरोनन्ति गरेका छन्।
पाण्डेले आफ्नो व्यवसाय पोखरामा मात्रै सिमित राखेनन्। अर्को पर्यटकीय नगरी चितवनको सौराहामा २०६७ सालमा जग्गा किनेर होटल निर्माण गरे। सौराहामा २०७१ सालदेखि ७५ कोठाको ल्याण्डमार्क होटल सञ्चालन गर्दै आएका छन्। त्यति मात्रै होइन अहिले पाण्डेको काठमाडौं दरबारमार्गमा पनि ल्याण्डमार्क होटल सञ्चालनमा छ। यो सफलताको पछि पाण्डेको लगनशिलता महत्वपूर्ण भएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन्।
पाण्डे आफैँ साहु र कामदारको भूमिकामा रमाउन सकेकाले व्यवसायमा सफल भएको क्षेत्रिय होटल संघ, सौराहाका उपाध्यक्ष गुणराज थपलिया बताउँछन्। ‘अहिले पनि उहाँको सिंगो परिवार तनमनका साथ काममा खटेकै देखिन्छ, इमानका साथ निरन्तर खटे सफल भइन्छ भन्ने यथार्थलाई कर्मले प्रमाणित गर्नुभएको छ’ उपाध्यक्ष थपलियाले भने। निरन्तरको संघर्षका कारण पाण्डे सफल व्यवसायी बनेको भन्दै उपाध्यक्ष थपलिया एउटै बुबाका छोरा-बुहारी, नाति-नातिना सबै मिलेर पेसाप्रति समर्पित हुनु उदाहरणीय काम भएको बताउँछन्।
गत वर्षबाट भैरहवाको एक होटलमा पाण्डेले व्यवस्थापन पक्ष हेर्दै आएका छन्। यहि बैशाखबाट भरतपुरको होटल रोयल सेञ्चुरीलाई भाडामा लिएर नारायणी ल्याण्डमार्कको नामबाट सञ्चालन गरेको उनले सुनाए। साथै तनहुँको देवघाटमा पनि अर्को होटल भाडामा लिएर ल्याण्डमार्क फार्म हाउस नामबाट सञ्चालन भइरहेको छ। यसबाहेक पर्यटकीय क्षेत्रहरु वीरगञ्ज, जनकपुर र नगरकोटमा पनि सकभर होटल सञ्चालन गर्ने त्यो सम्भव नभए व्यवस्थापन हेर्ने गरी छलफल अघि बढिरहेको पाण्डेको भनाइ छ।
पर्यटन व्यवसायी पाण्डेले सञ्चालन गरेका होटलहरुमा अहिले ३५० कोठा क्षमता छन्। जसमा करिब ५ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। क्षेत्रिय होटल संघ सौराहाका अध्यक्षसमेत रहेका पाण्डे यसअघि संघको उपाध्यक्ष थिए। उनी ‘नेपाल टुर एण्ड ट्राभल’ गण्डकी प्रदेशको अध्यक्ष भइसकेका छन्। पाण्डेका ३ दाजुभाइ होटल व्यवसायमा सँगै छन्। त्यसो त ३ दाजुभाइका ३ छोरा पनि प्रत्यक्षरुपमा यही व्यवसायमा जोडिएका छन्।
उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले पर्यटकीय गन्तव्यका रुपमा रहेको चितवनको पर्यटन व्यवसायको प्रबद्र्धन, रोजगारी सिर्जना र समाज सेवाका क्षेत्रमा पर्यटन व्यवसायी पाण्डेको अतुलनीय योगदान रहेको बताए। स्थानीय होटल व्यवसायीका अनुसार गाउँको सामान्य परिवारमा जन्मेका पाण्डे दृढ इच्छाशक्ति भएका, सदैव सकारात्मक सोच राख्ने, श्रमलाई सम्मान गर्ने, स्वप्नद्रष्टा एवं कर्मशील पर्यटन व्यवसायी हुन्।
मुलुकको पर्यटन व्यवसायमा समर्पित पाण्डेको पर्यटन प्रबद्र्धनमा अतुलनीय योगदान रहको होटल संघ सौराहाले जनाएको छ। परिश्रमलाई सम्मान गर्ने, निरन्तरको कर्म, दृढ इच्छाशक्ति, व्यावसायिक घरानामा जन्म नभए पनि अनुभव बटुल्दै निरन्तरको संघर्षबाट पाण्डे सफल व्यवसायीका रुपमा स्थापित भएका हुन्।होटल व्यवसायमा उतारचढाब आइरहने र निष्ठाका साथ लागि रहे सफल भइने पाण्डेको बुझाइ छ।
उनी भन्छन्, ‘व्यवसायमा आजको आजै मुनाफा हुँदैन, कुर्न सक्नुपर्छ।’ नेपालमा केही हुँदैन, विदेशै जानुपर्छ भन्नेहरूका लागि अर्घाखाँचीको सामान्य परिवारमा जन्मेका होटल तथा पर्यटन व्यवसायी पाण्डे उदाहरणीय पात्र हुन्। रासस