काठमाडौं- जनसांख्यिक लाभ कसरी लिने भनेर सरकारी तहबाट बहस, छलफलको प्रयास भर्खर सुरू भएको बेला जनसंख्या भने बुढ्यौतर्फको यात्रामा प्रवेश गरिसकेको छ।
मुलुकमा सक्रिय जनसंख्या अधिक भएको समयमा आर्थिक विकास उच्च दरमा हुने संसारका धेरै देशका उदाहरण भएपनि नेपालमा भने भर्खर अहिले बहस भइरहेको छ जब कि मुलुकले आजभन्दा दुई दशक पहिले नै जनसांख्यिक लाभको चरणमा प्रवेश गरिसकेको थियो। मुलुक अहिले जनसांख्यिक लाभको उत्कर्षमा रहेको तथ्यांक पनि सार्वजनिक भइसकेको छ।
संसारभर भइरहेको प्रक्षेपण मोडल र सर्वमान्य मान्यताअनुसार नेपाली जनसंख्याको चरित्र अहिले लाभमा त छ तर बुढ्यौलीतर्फको यात्रामा प्रवेश गरिसकेको छ। युवा, वयस्क र बुढ्यौलीपना भनेजस्तै जनसंख्यामा परिभाषित बुढ्यौलीमा प्रवेश गरेकाहरूको हिस्साअनुसार तय हुन्छ।
यदि कुनै पनि जनसंख्यामा ६५ वर्षमाथिको उमेर समूहको संख्या ७ प्रतिशत माथि भएमा बुढ्यौलीतर्फ प्रेवश गरेको मानिन्छ। यो विश्वव्यापी अवधारणा हो। यो अवधारणाअनुसार २०७८ को जनगणनाअनुसार नेपाली जनसंख्या बुढ्यौलीमा प्रवेश गरिसकेको छ। तर यसको मतलब केही वर्षमै बुढ्यौली हुने भने होइन यसका लागि अझै पनि करिब २ दशकमा नेपाली समाज बुढ्यौली समाज हुने प्रक्षेपण गरिएको छ।
नेपालको कुल जनसंख्यामा अहिले ६५ वर्षमाथिको संख्या ६.९ प्रतिशत रहेको छ। तर नेपाल सरकारले ६० वर्षमाथिको उमेर समूहलाई बुढ्यौली मानेकाले यो संख्या १०. २ प्रतिशत छ।
६५ वर्ष नै माने पनि ६० माने पनि नेपाली जनसंख्या बुढ्यौलीउन्मुख भइसकेको राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता ढुन्डीराज लामिछानेले जानकारी दिए।

‘राष्ट्रसंघीय मान्यता र चलचल्तीको बुझाइअनुसार गएपनि हामी बुढ्यौलीमा गइसकेका छौँ भने हाम्रै कानूनअनुसार गएपनि झन बुढ्यौलीनजिक पुगिसकेका छौँ’, उनले भने।
यद्यपि नेपालले अब भने ६० बाट ६५ वर्षमाथिलाई बुढ्यौली मान्ने अवस्था आएको उनको भनाइ छ। औसत आयुमा भएको सुधारले पनि अब नेपालले आगामी दिनमा यसमा सुधार गर्ने उनको भनाइ छ।
यदि यसो गर्दा पनि नेपाली जनसंख्या बुढ्यौलीमा जाने उनको भनाइ छ। यसका पछाडि अर्को कारण छ जन्मदर। पछिल्लो बालबालिकाको हिस्सा जनसंख्यामा निरन्तर घटेको छ। प्रजननदर नै प्रतिस्थापन तहभन्दा मुनि झरेको छ भने विवाह टार्ने र बच्चा थोरै जन्माउने प्रवृत्ति देखिएको छ।
कुल जनसंख्यामा १४ प्रतिशत ६५ वर्षमाथिको उमेर समूहको हिस्सा भएमा बुढ्यौली समाज हुन्छ। यदि ६५ वर्षमाथिलाई बुढ्यौली मान्ने हो भने पनि नेपाल विस २१११ सम्म बुढ्यौली समाजमा रुपान्तरण भइसक्ने प्रक्षेपण कार्यालयको छ।
त्यस्तै, २१ प्रतिशतभन्दा माथि यस्तो हिस्सा भएमा सुपर बुढ्यौली समाज मानिन्छ। संसारमा अहिले जापानको ३० प्रतिशत रहेको छ।
नेपालमा पछिल्लो समयमा ०-१४ वर्ष उमेर समूहको संख्या निरन्तर घट्दै आएको छ। कुल जनसंख्यामा यो समूहको हिस्सा २०५८ मा ३९.४ प्रतिशत थियो। त्यस्तै २०६८ मा यो हिस्सा ३४.९ मा झरेको थियो। २०७८ सम्म पुग्दा २७.८ प्रतिशतमा सीमित भएको छ। संख्यामा पनि गिरावट आएको छ। २०५८ मा यो समूहको संख्या ८९ लाख ४८ हजार ५८७ थियो भने २०७८ मा पुग्दा ८१ लाख १५ हजार ५७५ मा झरेको छ।
तर पछिल्लो चार दशकमा ६० माथिको समूहको संख्या भने तीन गुणाले बढेको छ। २०४८ सालमा १० लाख भएको यो उमेर समूहको संख्या २०७८ मा २९ लाख ७७ हजार पुगेको छ। हिस्सा पनि ५.८ प्रतिशतबाट १०.२ प्रतिशत पुगेको छ।
न्यून प्रजननदर, वैदेशिक आप्रवासन, स्वास्थ्यामा सुधार हुँदा औसत आयुमा भएको वृद्धिले गर्दा बुढ्यौली संख्यामा वृद्धि हुँदै आएको छ। यो संख्या बढ्दै गएर आगामी तीन दशकमै परनिर्भर संख्यामा वृद्धि हुने देखिएको छ।
नेपालले जनसांख्यिक लाभको अवसर लिनै छुटाएको छ। यो अवसर नलिँदै भविष्यमा थपिने बुढ्यौली समाज र त्यसको व्यवस्थापनमा अहिलेदेखि नै सचेत हुनुपर्ने अवस्था आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा स्वर्णम वाग्ले जनसांख्यिक लाभको अवसर लिने झ्यालढोका सबै बन्द हुँदै गएको बताउँछन्।
प्रतिनिधिसभामा बोल्दै उनले यो लाभ लिनका लागि निकै चनाखो र छिटो हुनपर्ने नभए मुलुक जनसांख्यिक संक्रमणको ट्रयापमा पर्ने बताए।