काठमाडौं- बजेटको समय सुरु हुनै लाग्दा विद्युतीय सवारीको आयात केही बढ्न थालेको छ। बजेटमा कर बढ्ने हल्ला र विद्युतीय सवारीमा अस्थिर सरकारी कर नीतिका कारण उपभोक्ता तथा व्यवसायीहरु सधैँ त्रस्त अवस्थामै हुने गरेका छन्।
सन् २०२५ को अप्रिल महिनामा १ हजार ६ सय ८ वटा कार, जीप र भ्यान आयात भएको छ। यसमा सबैभन्दा धेरै विद्युतीय कारको हिस्सा रहेको छ। उल्लेखित तथ्यांकमा प्यासेन्जर कार, पिकअप र केही ब्रान्डका एमपीभीसमेत समावेश गरिएको छ।
अप्रिल महिनामा ३३ ब्रान्डका कार तथा जिप आयात भएका छन्। नेपाली बजारमा ६० भन्दा बढी ब्रान्डका कार आयात हुँदै आइरहेको छ। तर यो महिनामा भने सबै ब्रान्डका कार आयात भएका छैनन्। सवारी आयातकर्ताहरुले बजारको मागअनुसार तथा बिक्रीका आधारमा सवारी आयात गर्ने गरेका छन्।
सरकारले विद्युतीय सवारीमा कर सहुलियत दिँदै आएकाले विद्युतीय सवारीको बिक्री बढ्दै गइरहेको छ। नयाँ नयाँ ब्रान्ड र मोडलका विद्युतीय सवारीको आयात पनि उल्लेख्यरुपमा बढेको तथ्यांक छ। आईसी इन्जिनयुक्त कारको तुलनामा विद्युतीय कारको आयात पछिल्लो ३/४ वर्ष धेरै रहेको छ।
अप्रिल महिनामा सबैभन्दा धेरै कार एमजीले आयात गरेको छ। एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले अप्रिलमा ३ सय ८६ वटा विद्युतीय कार आयात गरेको तथ्यांक छ। यी सबै एमजीले केही समयअघि मात्रै नेपाली बजारमा सार्वजनिक गरेको एमजी एसफाइभ हो। आयात भएको छोटो समयमै कम्पनीले १ सय ५० भन्दा बढी एसफाइभ डेलिभरी गरिसकेको र त्योभन्दा बढी संख्यामा बुकिङ रहेको कम्पनीले जनाएको छ।
एमजीपछि अप्रिलमा धेरै कार आयात गर्नेमा टाटा रहेको छ। टाटाको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले अप्रिलमा २ सय १ वटा कार आयात गरेको छ। सिप्रदीले आयात गरेका टाटाका सबै विद्युतीय कार हुन्। टाटाका टियागो, टिगोर, पन्च, नेक्सन केथ्री र कर्भ ईभी नेपाली बजारमा बिक्री हुँदै आएको छ।
अप्रिलमा महिन्द्राका १ सय ८९ वटा सवारी आयात भएका छन्। महिन्द्राको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी इनकर्पोरेटले महिन्द्रा पिकअप तथा ९ सिट क्षमताको सवारी आयात गर्दै आएको छ। महिन्द्राको एक्सयूभी४०० ईभी गत आर्थिक वर्षमा आयात भएपनि त्यसयता एउटा पनि आएको छैन।
अप्रिलमा चौथो बढी कार आयात गर्नेमा बीवाईडी रहेको छ। एक महिनामा १ सय ५० वटा बीवाईडीका कार आयात भएका छन्। यसमा सबैभन्दा धेरै एम सिक्स रहेको छ।
पाँचौँ स्थानमा ओमोडा तथा जेइको ब्रान्ड रहेको छ। अप्रिलमा ओमोडा तथा जेइको ब्रान्डका १ सय ३४ वटा कार आयात भएको छ। ओमोडा तथा जेइकोको नेपालका लागि आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले ओमोडा ईफाइभ र जेइको जेसिक्स आयात गर्दै आएको छ।
अप्रिलमा सुजुकीको ८८ वटा कार आयात भएको छ। सुजुकीको हालसम्म नेपाली बजारमा कुनै विद्युतीय कार आयात भएको छैन। सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटो कर्पले सुजुकीका ब्रेजा, स्वीफ्ट, फ्रंक्स, जिम्नीलगायत आईसी इन्जिनयुक्त कार आयात गर्दै आइरहेको छ।
हुन्डाईका ७० वटा तयारी कार अप्रिलमा नेपाल भित्रिएका छन्। यहाँ हुन्डाईले एसेम्बलका लागि आयात गरेको कारको संख्या उल्लेख गरिएको छैन। लक्ष्मी मोटर कर्पोरेसनले भेन्यु र क्रेटा एसेम्बलका लागि सीकेडी आयात गर्दै आएको छ। त्यस्तै लक्ष्मी इन्टरकन्टिनेन्टलले आधिकारिक रुपमा नेपाली बजारमा हुन्डाईको क्रेटा, क्रेटा ईभी, ग्रान्ड आईटेन, भेन्यु, एक्स्टर, टुसाना, आईट्वाइन्टीलगायत कार आयात गर्दै आएको छ।
अप्रिलमा कियाका ६६ वटा कार आयात भएको छ। कियाको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङले ईभी नाइन र ईभी सिक्स पनि आयात गर्दै आएको छ। तर अप्रिलमा यी दुवै कार नेपाल भित्रिएका छैनन्। कियाका सेल्टोस, सोनेट, स्पोर्टेज तथा सोरेन्टो आयात हुँदै आएको छ।
प्रोटोन ईमास सेभेन अप्रिलमा ५० वटा नेपाल आएको छ। गत महिना नेपाल आएको प्रोटोनको ईमास सेभेन विद्युुतीय कार जगदम्बा मोटर्सले ल्याएको हो। दुईवटा ब्याट्री अप्सनमा आएको ईमास सेभेनमा १ सय ६० किलोवाट पिक पावरको मोटर रहेको छ। हाल प्रोटोनको एउटा मात्र ईभी मोडल उपलब्ध रहेको छ।
ईभीइजी अप्रिलमा ५० वटा आयात भएको छ। जेएम ईभीले उत्पादन गरेको ईभीइजी सरिना जी ट्रेडर्सले आयात गरेको हो भने यो केवल ट्याक्सी प्रयोजनका लागि आयात गरिएको हो।
त्यस्तै अप्रिल महिनामा नामी ४० वटा, दिपल ३५ वटा, केई २९ वटा, टोयोटा २० वटा, निसान १६ वटा, आयोन १६ वटा, रिडारा १० वटा र सेरेस पनि १० वटा आयात भएको तथ्यांक छ।
एमजी- ३ सय ८६
टाटा- २ सय १
महिन्द्रा- १ सय ८९
बीवाईडी- १ सय ५०
ओमोडा/जेइको- १ सय ३४
सुजुकी- ८८
हुन्डाई- ७०
किया- ६६
प्रोटोन- ५०
ईभीइजी- ५०
नामी- ४०
दिपल- ३५
केई- २९
टोयोटा- २०
निसान- १६
आयोन- १६
रिडारा- १०
सेरेस- १०
लिपमोटर- ९
भोल्टस्- ७
स्कोडा- ६
हाभाल- ४
होन्डा- ४
म्याक्सस- ३
जिप- २
मित्सुबिसी- २
पोर्सा- २
फक्सवागन- २
जीकर- २
किङलङ पिकअप- २
बीएडब्लू- १
इसुजु- १
टेस्ला- १
