शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

किसानको फापर उत्पादन गाउँपालिकाद्वारा खरिद

मंगलबार, वैशाख २३ २०८२
किसानको फापर उत्पादन गाउँपालिकाद्वारा खरिद

आँबुखैरेनी गाउँपालिकाले स्थानीय नौ जना कृषकले उत्पादन गरेको ६५० किलो फापर खरिद गरी हाटबजारमार्फत बिक्री सुरु गरेको छ।

दमौली (तनहुँ)- आँबुखैरेनी गाउँपालिकाले स्थानीय नौ जना कृषकले उत्पादन गरेको ६५० किलो फापर खरिद गरी हाटबजारमार्फत बिक्री सुरु गरेको छ।

पालिकाले मिलन गुरुङ, सेती गुरुङ, चित्र गुरुङ, फूलमाया गुरुङ, सन्तोष गुरुङ, धनबहादुर गुरुङ, सुखमाया गुरुङ, सन्तोष गुरुङ र प्रकाश गुरुङले उत्पादन गरेको फापर प्रतिकिलो १५० रुपैयाँको दरले खरिद गरेको हो।

आँबुखैरेनी–६ प्युघरका सेती गुरुङले विगतमा फापर प्रतिकिलो ६० रुपैयाँमा मात्र बिक्री हुने गरेको स्मरण गर्दै पालिकाबाट प्रतिकिलो १५० रुपैयाँ पाउँदा तीन गुणासम्म आम्दानी बढेको बताए। 'जति उत्पादन हुन्छ, पालिकाले खरिद गरिदिन्छौं भनेकाले हामीलाई हौसला मिलेको छ,' उनले भने।

त्यही स्थानका अर्का किसान मिलन गुरुङले पनि उत्पादनपछि बिक्रीको चिन्ता नगर्नु परेको अनुभव सुनाउँदै पालिकाको सक्रियताले थप प्रेरणा मिलेको प्रतिक्रिया दिए।

गाउँपालिकाको कृषि शाखा प्रमुख सन्तोष केसीले ग्रामीण क्षेत्रका रैथाने उत्पादनलाई उपभोक्तासम्म जोड्ने प्रयासस्वरूप फापरको सीधा खरिद र बिक्री थालिएको जानकारी दिनुभयो। उहाँले कृषकहरू अघिल्लो वर्षहरूमा विचौलियामार्फत प्रतिकिलो ६० रुपैयाँमा फापर बेच्दै आएकामा यसपटक पालिकाले प्रतिकिलो १५० रुपैयाँमा हाटबजारमार्फत बिक्री गरिरहेको बताए।

'यसले कृषकले अब विचौलियालाई नबेच्नु पर्ने भएको छ, र आम्दानी पनि बढी भएको छ,' केसीले भने। उनका अनुसार कृषकको खेतबारीबाट हाटबजारसम्म निःशुल्क ढुवानीको व्यवस्था गरिएको छ।

आँबुखैरेनी–६ का प्युघर, डिहीखेत, घलडाँडा, रतनपुर र हिलेखर्क क्षेत्रलाई फापर उत्पादनका लागि मुख्य मानिन्छ। यहाँ वार्षिक करिब पाँच टन फापर उत्पादन हुने गरेको पनि प्रमुख केसीले जानकारी दिए।

'आगामी वर्ष कुट्ने उपकरण उपलब्ध गराएर फापरको पिठो खरिद गर्ने योजना छ,' उनले भने, 'बजारीकरणलाई अझ व्यवस्थित बनाउनका लागि पहल भइरहेको छ।' रासस


प्रकाशित : मंगलबार, वैशाख २३ २०८२०६:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend