पर्सा- वीरगञ्ज महानगर-१५ भिष्वाका वीरेन्द्र महतोलाई दुई दशक अघिसम्म वीरगञ्ज बजारमा रिक्सामा सवार गर्ने यात्रुको खासै प्रतीक्षा गर्नु पर्दैनथ्यो। चोक-चोकमा भेट्टिने यात्रुलाई आफ्नो गन्तव्यमा पुर्याउनको लागि भ्याइनभ्याइ हुने गर्थ्यो। त्यही कर्मबाट आफ्नो पाँच सन्तानलाई राम्रैसँग पढाइलेखाइ पनि गराउँदै आइरहेका थिए।
तर, विगत पाँच वर्षयता भने उनीजस्तै वीरगञ्जमा भाडाको रिक्सा चलाउनेको अवस्था भने निकै दयनीय बन्दै आइरहेको छ। अहिले ४७ वर्षे महतोलाई वीरगञ्ज आसपासमा रिक्सामा सवार गर्ने यात्रु भेट्टाउन पनि मुस्किल पर्ने गरेको गुनासो सुनाउँछन्।
'२० साल अघिसम्म त रिक्सामा सवार गर्ने यात्रुलाई गन्तव्यमा पुर्याउन भ्याइनभ्याइ हुने गर्थ्यो। त्यतिबेला पनि आम्दानी पनि राम्रै हुने गर्थ्यो,' उनले भने, 'अचेल त चोक-चोकमा छ्याप्तछयाप्ती भेट्टिने अटोरिक्साका कारण हामीजस्ता भाडाका रिक्सा चालकको काम खोसिएको छ। अचेल त दिनको ७ सय रूपैयाँ कमाउन पनि मुस्किल पर्ने अवस्था आइसकेको छ।'
तीन छोरी र दुई छोराका पिता महतोलाई रिक्सा चलाएर नै आफ्नो परिवारको गुजारा चलाउन हम्मेहम्मे परेको गुनासो पोखे। 'अहिले महँगीले आकाशै छुम्ला जस्तो गरिसक्यो। बिहान ३ बजेदेखि बेलुका ८ बजेसम्म घोटिँदा पनि मुस्किलले ७ सय रूपैयाँ कमाउन धौधौ भइसकेको छ,' उनले भने, 'त्यो सात सयमा पनि २ सय रूपैयाँ त रिक्साको साहुलाई भाडा तिर्नुपर्ने अर्काे बाध्यता छ।'
यहाँका अधिकांश रिक्साचालकको आफ्नै रिक्सासमेत छैनन्। अधिकांश रिक्सा चालकले दैनिक औसतमा १ सय ५० रूपैयाँदेखि २ सय रूपैयाँसम्म भाडा तिरेर साहुको रिक्सा चलाएर आफ्नो गुजारा चलाउँदै आइरहेका छन्।
'रिक्साको भन्दा अटो रिक्साको भाडा धेरै सस्तो र छिटो गन्तव्यमा पुगिने लोभले सर्वसाधारण रिक्सामा चढ्न खासै रुचि देखाउँदैनन्,' रिक्सा चालक महतोले भने, 'मेसिनबाट चल्ने अटोरिक्सा र हाम्रो रगत पसिनाबाट चल्ने रिक्साको रेट एउटै त कहाँ राख्न सकिन्छ र?'
वीरगञ्जको घण्टा घर चोकदेखि बसपार्कसम्म अटोरिक्सामा १० रूपैयाँमात्र नै यात्रा गर्न सकिन्छ भने रिक्सामा भने कम्तीमा पनि ३० रूपैयाँ पर्ने भएकाले पनि भएकाले पनि सर्वसाधारणको रोजाइमा भने अचेल रिक्सा खासै पर्दैन। उनले अटोरिक्सा किन्न नसकेकै कारणले भाडाको रिक्सा चलाउँदै आइरहेको दुखेसो पोखे। '५० हजार पर्ने रिक्सा त आफैँ किन्न सकेको छैनौ भने कहाँ चार लाख पर्ने अटोरिक्सा किन्ने कुरो त सपना जस्तै हो', चालक महतोले भने।
प्राचीन तथा व्यापारिक सहर वीरगञ्ज बजारमा पहिला जस्तो रिक्सा गुड्न पनि कमी आएको छ। अहिले वीरगञ्जमा औसतमा २ सयभन्दा धेरै रिक्सा चालक रहेका छन्।
वीरगञ्जकै घण्टाघर आसपासमा रिक्सा चलाउँदै आइरहेका ४६ वर्षे वसन्त गिरी पनि रिक्सा चलाएर गुजारा चलाउन गाह्रो हुने अवस्था सिर्जना भएको बताउँछन्। 'अचेल रिक्सा सवारी गरेर पेट पाल्न पनि गाह्रो हुने अवस्था भइसकेको छ,' उनले भने, 'रिक्सा चलाउने बाहेक अन्य कुनै सीप छैन। तर यस्तै अवस्था रहिरहने हो भने त एक दिन नचाहेर पनि विस्थापित हुनुपर्ला कि।'
वीरगञ्जमा नेपाली नागरिक मात्रै नभएर भारतीय नागरिक पनि रिक्सा चलाउँदै आइरहेका छन्। भारतको विहार राज्यअन्तर्गतको बेतिया जिल्लाका ६० वर्षे सुरेश रामको अनभुवमा पनि पछिल्लो समय रिक्साका चढ्ने यात्रु घटेको अनुभव सुनाउँछन्।
'मेरो त जिन्दगी नै रिक्सा चलाएर बित्योभन्दा पनि हुन्छ,' उनले भने, 'वीरगञ्जमै रिक्सा चलाएको पनि ४५ वर्ष बितिसक्यो। तर अचेल रिक्सा चढ्ने यात्रु भने घटेकोघट्यै छन्। यस्तै अवस्था रहीरह्यो भने त घर फर्किनुपर्ला भन्ने लागिरहेको छ', उनले भने, 'बेटरीवाला अटोरिक्साले हाम्रो काम जति सबै खोसेका छन्। कसरी टिक्नु खोइ!'
रिक्सा चालक रामका अनुभवमा अटोरिक्सा नपाएको बेला र अत्यावश्यक परेको खण्डमा मात्रै यात्रु रिक्सा चढ्ने गर्छन्। 'छोटो रुट, अटोरिक्सा नगुड्ने ठाउँमा मात्रै यात्रुको रोजाइमा रिक्सापर्ने गर्छ,' उनले भने, 'पहिले त रिक्सा चढ्न हानाथाप हुने गर्थ्यो। अचेल त पुराना बुढापाका मात्रै चढ्ने गर्छन्।'
पछिल्लो समय वीरगञ्जमा रिक्सा र टाँगा हराउँदै पनि गइरहेको छ। वीरगञ्ज आसपासमा टाँगा र रिक्सा न्यून सङ्ख्यामा मात्रै सडकमा देखिन्छन्। पछिल्लो समय युवा पुस्ता भने इलेक्ट्रिक तथा पेट्रोलियम पदार्थबाट चल्ने अटोरिक्सा चलाउनेतर्फ आकर्षित भइरहेका छन् वैदेशिक रोजगारीबाट फर्किएका युवा भने धमाधम अटोरिक्सा (टेप्पो)तर्फ आकर्षित भइरहेका छन्।
वीरगञ्ज महानगर-१५ नगवा मोहम्मद सविरु पनि वैदेशिक रोजगारीको लागि तीन वर्ष युनाइटेड अरब इमिरेट्स गए। तर यहाँको खासै रमाउन नसकेपछि एक वर्षदेखि वीरगञ्ज बजारमा भाडाको अटो रिक्सा चलाउँदै आइरहेका छन्।
'अरबको खाडी सहर दुबईभन्दा त आफ्नो घरआँगनमा अटो रिक्सा गुडाउँदा झनै रमाइलो लाग्ने रैछ,' उनले विगत स्मरण गर्दै भने, 'दुबईमा भन्दा यहाँ आठ-दश हजार आम्दानी कम होला तर, परिवारको साथै बसेर काम गर्दा छुट्टै आनन्द महसुस हुने गरेको छ।'
सविरुले दैनिक ७ सय रूपैयाँ भाडा तिरेर भाडाको अटो रिक्सा गुडाउँदै आइरहेको बताए। 'पहिला-पहिला रिक्सा चढ्ने खुवै भेट्टिन्थे,' उनले भने, 'अचेल छिटो र सस्तो अटोरिक्सा हुने भएकाले सबैको रोजाइमा त्यही पर्ने गर्छ।' उनले अटोरिक्सा चलाएर दैनिक औसतमा दुई हजारसम्म आम्दानी गर्न सकिने बताए। 'अहिले अटोरिक्सा चलाएर परिवारलाई खुसीपूर्वक पालनपोषण गर्दै आइरहेको छु,' उनले भने।
वीरगञ्जमा १० वर्षदेखि इलेक्ट्रिक रिक्सा चलाउँदै आउएकी निशाचन्द्र ठकुरी पनि ई-रिक्साको पनि आम्दानी पनि घटेको अनुभव सुनाउँछिन्। 'यहाँ अहिले पाइला-पाइला अटोरिक्सा र ई-रिक्सा पाइने भएकाले पनि कमाई घट्दै गइरहेको छ,' उनले भनिन्, 'अहिले त दैनिक एक हजार ५ सय रूपैयाँ आम्दानी गर्न पनि मुस्किल भइरहेको छ। टेप्पो र अटोरिक्सा चालकको हानाथापको कारणले पनि कुनै बेला त रित्तै पनि गुडाउनुपर्ने बाध्यता आइसकेको छ।'
निशाचन्द्र वीरगञ्जमा पहिलो महिला ई-रिक्सा चालकको रूपमा परिचित छन्। आफूले ई-रिक्सा चलाउन थाल्दा वीरगञ्जमा १० वटा मात्रै ई-रिक्सा गुड्ने गरेको उनी दाबी गर्छिन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्ट वीरगञ्ज बजार क्षेत्रमा अत्यधिक मात्रामा अटोरिक्सा चल्ने भएकाले पनि ट्राफिक जाम हुने गरेको बताउँछन्। 'वीरगञ्ज बजार क्षेत्रमा यात्रु ओसार्ने सवारीसाधन भनेकै अटोरिक्सा हो। स-साना सवारीको कारणले पनि पिक आवरमा ट्राफिक व्यवस्थापनमा पनि समस्या थपिँदै आइरहेको छ', उनले भने।
वीरगञ्ज बजार क्षेत्रमा अटोरिक्सा, रिक्सा, टाँगा र दुईपाङ्ग्रे सवारीसाधन अत्यधिक मात्रामा गुड्ने गर्छन्। यसको कारणले पनि पछिल्ला समय यहाँका सडक अटोरिक्सा र स-साना सवारीसाधनले भरिभराउ हुने गरेका छन्।
वीरगञ्ज महानगर आसपासमा चल्ने अटोरिक्साको यकिन तथ्यांक भने छैन। यद्यपी यहाँका सरोकारवाला निकायले भने करिब चार हजारको हाराहारीमा गुड्ने अनुमान गर्छन्।
वीरगञ्ज महानगर सडक तथा यातायात शाखा प्रमुख विजय गुप्ताले महानगरमा ७ सय ५० को हाराहारीमा अटोरिक्सा दर्ता भएको बताए। 'पर्साका १४ वटै पालिकाबाट वीरगञ्जमा अटोरिक्सा चल्ने भएकाले पनि सङ्ख्या यकिन गर्न र व्यवस्थापनमा पनि चुनौती थपिँदै आइरहेको छ,' उनले भने, 'जनशक्तिको अभावको कारणले पनि अटोरिक्सा तथा टेप्पोलाई व्यवस्थित गर्न समस्या भइरहेको छ।' रासस