शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

चितवनमा सुन्तला उत्पादन घट्दो

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ २४ २०७८
चितवनमा सुन्तला उत्पादन घट्दो

चितवन- यस वर्ष चितवनमा सुन्तला उत्पादनमा कमी आएको छ। कृषि ज्ञान केन्द्रका अनुसार १२५ हेक्टर क्षेत्रफलमा ८३७ दशमलब पाँच मेट्रिक टन सुन्तला उत्पादन भएको छ। गत आर्थिक वर्ष २०७७/७८ मा सोही क्षेत्रफलमा ९५० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। गत वर्ष प्रतिहेक्टर ७.६ मेट्रिकटन सुन्तला उत्पादन भएकामा यस वर्ष घटेर ६.७ मा झरेको हो।

आर्थिक वर्ष २०७६/७७ मा जिल्लामा सोही क्षेत्रफलमा सुन्तला खेती गरिएकामा एक हजार १०१ मेट्रिक टन उत्पादन भएको थियो। त्यस वर्ष प्रतिहेक्टर ८.८१ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। आव २०७५/७६ मा एक हजार १५० मेट्रिक टन उत्पादन भएको थियो। सो वर्ष सुन्तलाको उत्पादकत्व ९.२ प्रतिहेक्टर रहेको थियो। सोही क्षेत्रफलमा सुन्तला खेती हुँदा विगतका वर्षहरुमा क्रमशः उत्पादन घट्दै गएको हो।

सुन्तला बगैँचाको व्यवस्थापन राम्रो नहुँदा र बोट बूढो भई उत्पादकत्व घट्दै गएको ज्ञान केन्द्रका सूचना अधिकारी मीनबहादुर पुनले बताए। सुन्तलाका बोटहरु बूढो हुँदै जाँदा उत्पादन क्षमता पनि कम हुने उनले जानकारी दिए। पुनले भने, 'सुन्तलालाई मलजल, सिँचाइ, काटँछाट जस्ता स्याहारसुसार उचित नहुँदा उत्पादनमा कमी आएको हो।' उत्पादन निरन्तर घट्दै जाँदा कृषक निराश हुँदै गएको उनको भनाइ छ।

सुन्तला खेतीको विस्तारका लागि स्थानीय तहले कुनै चासो नदिँदा क्षेत्रफल विस्तार हुन नसकेको पुनले बताए। बगैँचाको पुनःसंरचना गर्न सकेमा सुन्तला खेतीको विकास र विस्तार गर्न सकिने ज्ञान केन्द्रले जनाएको छ। ज्ञान केन्द्रले सुन्तला खेतीका लागि सुन्तला ब्लक विकास कार्यक्रम सञ्चालन गरिरहेको छ। कोभिडका कारण कार्यक्रम प्रभावकारी हुन नसकेको पुनले बताए।

जिल्लाको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकामा सुन्तला खेती हुने गरेको छ। इच्छाकामनाका वडा नं ३, ४ र ५ मा सुन्तलाको व्यावसायिक खेती हुँदै आएको छ। रासस


प्रकाशित : सोमबार, माघ २४ २०७८१०:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend