बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन पोखराका उद्योगी व्यवसायीको माग

बुधबार, वैशाख १७ २०८२
अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन पोखराका उद्योगी व्यवसायीको माग

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निजी क्षेत्र तथा लगानीमैत्री हुनुपर्नेमा जोड दिए।

गण्डकी- पोखरामा आज आयोजित कार्यक्रमका सहभागी उद्योग व्यवसायीहरूले सुस्ताएको अर्थतन्त्रलाई गति दिने बजेट ल्याउन माग गरेका छन् ।

पोखरा भ्रमणमा रहेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलसँग भएको अन्तरक्रियाका वक्ताहरूले अर्थतन्त्रलाई गतिशिल बनाउने किसिमको बजेट अहिलेको आवश्यकता औँल्याए।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निजी क्षेत्र तथा लगानीमैत्री हुनुपर्नेमा जोड दिए।

अर्थतन्त्रलाई गति दिने खालका नीति तथा कार्यक्रमले मात्र निजी क्षेत्र उत्साहित हुने बताउँदै उनले यसतर्फ सरकारको ध्यान आकृष्ट हुनुपर्ने आवश्यकता औँल्याए।

पोखराको पर्यटन उद्योगलाई चलायमान बनाउने खालका कार्यक्रमको अपेक्षा राखिएको उल्लेख गर्दै उनले पोखरा उद्योग वाणिज्य संघले यहाँको शिक्षा, स्वास्थ्य, पर्यटनको विकास तथा कृषिको व्यवसायीकरणका निम्ति निरन्तर पैरवी गर्दै आइरहेको बताए।

आफूहरूले निजी क्षेत्रको हितमात्र नभइ समग्र पोखराको विकासका निम्ति पनि उत्तिकै क्रियााशिल रहेको जानकारी गराए। सिन्धुपाल्चोकका व्यवसायीसँग रहेको हिमालपार व्यापारको अनुभव र त्यसको महत्वबारे उल्लेख गर्दै उनले गण्डकी प्रदेशको कोरोला नाका सुचारु हुँदा समग्र गण्डकी क्षेत्रका व्यवसायीको निम्ति नयाँ सम्भावनाको ढोका खुल्ने धारणा राखे।

कोरोलामा नेपालतिर खासै भौतिक संरचना नबने पनि चीनसँग आयात र निर्यातको काम गर्ने अवसर आएको उनको भनाइ छ। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले अहिले खासा र रसुवा नाकाबाट निर्यातभन्दा बढी आयात मात्र हुने गरेको जानकारी दिँदै आयातमा आधारित अर्थतन्त्रलाई निर्यातमुखी बनाउनुपर्ने धारणा राखे।

नेपाल उद्योग वाणिज्य महासंघले जिल्ला तथा नगर उद्योग वाणिज्य संघका समस्याप्रति बढी ध्यान दिनुपर्ने भन्दै उनले महासंघमा वास्तविक समस्या बुझेको व्यक्ति नेतृत्वमा आउनुपर्ने धारणा राखे।

पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष पवनकुमार प्रजापतिले देशैभरका उद्योगी/व्यवसायीहरु अहिले एउटै समस्याले पीडित भएको बताउँदै सुस्ताएको बजार चलायनमान बनाउन सरकारलाई निरन्तर दबाब दिनुपर्ने धारणा राखे।

नेपाल उद्योग वाणिज्य महासंघलाई मोफलसका समस्याप्रति गम्भीर बनाउनका निम्ति जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूको एकताबद्ध प्रयास आवश्यक रहेको उनको भनाइ छ। 

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, उपमहासचिव सुदीप प्रधानाङ्गलगायतले उद्योगी व्यवसायीका समस्यालाई समाधान गर्ने गरी बजेट आउनुपर्ने धारणा राखे। रासस


प्रकाशित : बुधबार, वैशाख १७ २०८२१५:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend