बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

देशभर अक्षय तृतीया पर्व मनाइँदै

बुधबार, वैशाख १७ २०८२
देशभर अक्षय तृतीया पर्व मनाइँदै

वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज देशभर सातु र सर्वत दान एवं सेवन गरी श्रद्धापूर्वक मनाइँदैछ।

काठमाडौं- वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज देशभर सातु र सर्वत दान एवं सेवन गरी श्रद्धापूर्वक मनाइँदैछ।

शास्त्रीय परम्पराअनुसार आज सबेरै उठी घर लिपपोत गरी स्नान पश्चात् पूजाका सामग्री तयार पारेर सङ्कल्प गरिएको थियो। दियो, कलश र गणेशको पूजा गरी कलशमाथि अष्टदल लेखिएको तामाको थाली राखी भगवान् विष्णुको पूजन गरिने वैदिक परम्परा छ।

सो क्रममा पुरोहितलाई पूजा गरी तामा वा माटाको भाँडामा शुद्ध जल राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सख्खर तथा मिश्री मिसाएर सर्वत बनाइने तथा घडा र जौको सातु दान गरिने परम्परा छ।

वेद र पुराणहरूमा उल्लेख भएअनुसार आजको दिन गरिएको स्नान, दान, ध्यान, जपलगायतका धार्मिक क्रियाकलाप अक्षय अर्थात् कहिल्यै नाश नहुने मानिन्छ। वैशाख महिनाको गर्मीमा शरीरलाई शीतलता प्रदान गर्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले सातु र सर्वतलाई अमृततुल्य मानिन्छ।

वाल्मीकि विद्यापीठका धर्मशास्त्र विभाग प्रमुख प्रा. डा. देवमणि भट्टराईका अनुसार, 'वैशाख शुक्ल तृतीयाका दिन थोरै मात्रामा दान गरे पनि ठूलो फल प्राप्त हुन्छ। शरीरलाई सुरक्षित राखी धर्मको साधना गर्नु आवश्यक भएकाले आजको दिनको महत्व अझ बढेको हो।'

आजको दिन दान गरिने घडालाई ‘धर्मघटादि’ दान भनिन्छ। आजको दिन वृद्धवृद्धालाई छाता, लौरो र कपडाका जुत्ता दिने, साथै गच्छेअनुसार गाई, जमिन, अन्न तथा सुनजस्ता वस्तु सत्पात्र ब्राह्मण वा असहाय वर्गलाई दान दिने चलन छ।

धार्मिक विश्वासअनुसार सत्य युगमा यही दिन महादेव र हिमालयकन्या पार्वतीको विवाह सम्पन्न भएको थियो। यसैकारण विवाहका लागि आजको दिनलाई शुभ मानिन्छ र विशेष साइत हेर्नु पर्दैन। साथै त्रेतायुगको प्रारम्भ पनि आजैको दिनबाट भएको मान्यता शास्त्रमा उल्लेख छ।

यस दिन गरिएका पुण्यकर्म कहिल्यै नाश नहुने भएकाले यस तिथिलाई 'अक्षय तृतीया' नाम दिइएको धार्मिक ग्रन्थहरूमा वर्णन गरिएको छ। रासस


प्रकाशित : बुधबार, वैशाख १७ २०८२०७:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend