बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

बाढीले बगाएको खार्तेको पुल पुनः निर्माणको अन्तिम चरणमा

मंगलबार, वैशाख १६ २०८२
बाढीले बगाएको खार्तेको पुल पुनः निर्माणको अन्तिम चरणमा

गत वर्ष बगाएको रुम्जाटार-कुइभिर सडकअन्तर्गत खार्ते खोलाको मोटरेबल पुल निर्माणको अन्तिम चरणमा पुगेको हो।

ओखलढुंगा- बाढीले बगाएको खार्तेखोलाको मोटरेबल पुल पुनःनिर्माणको अन्तिम चरणमा पुगेको छ। गत वर्ष बगाएको रुम्जाटार-कुइभिर सडकअन्तर्गत खार्ते खोलाको मोटरेबल पुल निर्माणको अन्तिम चरणमा पुगेको हो।

विसं २०८१ को भदौमा सम्पन्न गर्नेगरी २०८० साल कात्तिकमा पुष्पाञ्जली कन्स्ट्रक्सन कम्पनीले ठेक्का सम्झौता गरेको थियो। ६० मिटर लम्बाइ र पाँच मिटर चौडाइ भएको मोटरेबल पुल निर्माणका लागि सम्झौता भएको थियो।

विसं २०८१ भदौको अन्तिममा काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको कार्यालयका इन्जिनियर सबिन लामाले जानकारी दिए। मोटरेबल पुलमा आवश्यक पर्ने सम्पूर्ण सामग्री फिल्डमा ल्याएर निर्माणको काम धमाधम भइरहेको बेलामा बाढीले बगाएको थियो।

विक्रम संवत् २०८१ जेठ १२ गते खार्ते खोलामा आएको बाढीले सम्पूर्ण निर्माण सामग्री बगाएको निर्माण कम्पनीले जनाएको छ। एक लाख किलो फलामे ट्रस्ट, ग्याबिन जालीलगायत निर्माणमा प्रयोग गरिने सामग्री बगाउँदा ७२ लाख रूपैयाँ बराबरको घाटा भएको निर्माण कम्पनीको दाबी रहेको छ।

फलामे ट्रस्टको करिब ६० प्रतिशत बीमा भुक्तानी नभएका कारण ठूलो घाटा ब्यहोर्नुपरेको निर्माण व्यवसायी बबी श्रेष्ठले जानकारी दिए। बाढीले बगाएर पूर्ण क्षति भएको मोटरेबल पुलको काम धमाधम भइरहेको छ। असार मसान्त आगावै सम्पन्न गर्नेगरी काम भइरहेको निर्माण काम्पनीले जनाएको छ। पुल निर्माणको काम करिब ८० प्रतिशतभन्दा पनि बढी सम्पन्न भइसकेको स्थानीय सडक पुल कार्यक्रमका इन्जिनियर सबिन लामाले जानकारी दिए।

मुख्य अप्ठ्यारो ट्रस्ट जोड्ने काम सम्पन्न हुन लागेको र अब  कठिन काम कम भएकाले समयमै काम सम्पन्न हुने इन्जिनियर लामाले बताए। पुलका निर्माण सामग्री बाढीले बगाएको समयमा र अरू बेलामा पनि सामान्य सहयोगका लागि हारगुहार गर्दा चिसङ्खुगढी गाउँपालिकाले कुनै सहयोग नगरेको निर्माण व्यावसायीको गुनासो रहेको छ।

स्थानीय तहले सडक मर्मत नगरेका कारण पुल निर्माण सामग्री ल्याउन करिब एक लाख ५० हजार रूपैयाँ रकम खर्च गरेर सडक मर्मत गर्नुपरेको निर्माण व्यवसायी श्रेष्ठले गुनासो गरे। निर्माणाधीन मोटरेबल पुल खार्ते खोला चिसङ्खुगढी गाउँपालिका-३ र ८ मा पर्दछ। रासस


प्रकाशित : मंगलबार, वैशाख १६ २०८२१६:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend