शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

व्यास नगरपालिकाद्वारा फोहरजन्य वस्तु बेचेर ८ महिनामा १४ लाख रूपैयाँ आम्दानी

images
मंगलबार, वैशाख १६ २०८२
images
व्यास नगरपालिकाद्वारा फोहरजन्य वस्तु बेचेर ८ महिनामा १४ लाख रूपैयाँ आम्दानी

पहिलो चरणमा नकुहिने फोहरलाई मोहरमा बदल्ने सोचसहित सूक्ष्मरुपमा वर्गीकरण गरी बिक्री गर्न थालेको नगरपालिकाले जनाएको छ।

images
images

तनहुँ- व्यास नगरपालिकाले नकुहिने फोहर बिक्री गरेर आठ महिनाको अवधिमा १४ लाख रूपैयाँ आम्दानी गरेको छ। गत भदौदेखि फोहर संकलन गरी व्यवस्थित कार्य थालेको यस नगरपालिकाले चैतसम्मको अवधिमा उक्त रकम आम्दानी गरेको हो।

images
images
images

पहिलो चरणमा नकुहिने फोहरलाई मोहरमा बदल्ने सोचसहित सूक्ष्मरुपमा वर्गीकरण गरी बिक्री गर्न थालेको नगरपालिकाले जनाएको छ।

images
images

नगरपालिकाले प्लास्टिक, कपडा, फलाम र सिसाजन्य वस्तु बिक्रीका लागि बोलपत्र आह्वान गरी बिक्री गर्न थालिएको नगरपालिकाको वन, वातावरण तथा सरसफाइ शाखाका प्रमुख कृष्ण घिमिरेले जानकारी दिए।

images
images

'ट्रकलाई लोड पुगेपछि बिक्रीका लागि पठाउने गरिएको छ', उनले भने, 'नगरपालिका परिसरमा ‘बेलिङ’ मेसिन जडान गरी नकुहिने प्लास्टिकजन्य, फलामजन्य र कागजजन्यलाई ठूलो आकारबाट दाबेर सानो आकारमा परिणत गरी भण्डारण गर्ने गरिएको छ।' 

विगत लामो समयदेखि नकुहिने फोहरलाई खाडल खनेर पुर्दै आएकामा हाल नगरपालिका कार्यालय परिसरमै व्यवस्थापन गरी बिक्रीको व्यवस्था मिलाइएको छ। उनका अनुसार रेडबुललगायत आल्मुनियम प्रतिकिलो ६० रूपैयाँ, फलाम प्रतिकिलो ३५, टिन २५, पानीको बोतल तथा अन्य बोतल २३, कपडा पाँच रूपैयाँ ५० पैसा, कापी १६ रूपैयाँ र किताबको प्रतिकिलो १४ रूपैयाँ दररेट कायम गरिएको छ।

नगरपालिकाले यसअघि वडा नं ३ मादी नदी किनारस्थित भतेरीमा नकुहिने फोहर व्यवस्थापन गर्दै आएको थियो। त्यस क्षेत्रको सम्झौता अवधि सकिएकाले अर्को व्यवस्था नहुँदासम्म कार्यालय परिसरबाटै फोहर व्यवस्थापन गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशिराम गैरेले जानकारी दिए।

उनका अनुसार फोहर व्यवस्थापनका लागि नगरपालिकाको पुरानो सभाहल र बाहिरी क्षेत्रमा ट्रस निर्माण गरी फोहर वर्गीकरण गरिएको छ। फोहर राख्दा दुर्गन्ध हुन्छ भनेर विरोध गर्ने, जग्गा खरिद कार्यमा बाधा पुर्‍याउनेका लागि नगरपालिकाले सकारात्मक सन्देश दिएको उनले बताए।

'नगरपालिका क्षेत्रमा हाल दैनिक १५ टन नकुहिने र सात टनको हाराहारीमा कुहिने फोहर संकलन गरिँदै आएको छ', उनले भने, 'पछिल्लो समय कबाडी सामग्रीको महत्व बुझ्न थालेपछि अन्य मानिसले पनि संकलन गरी बिक्री गर्न थालेका छन्।'

कुहिने फोहरलाई व्यास-१० स्थित गौ संरक्षण केन्द्र भतेरीमा व्यवस्थापन गरिँदै आएको छ। नकुहिने फोहरको दिगो व्यवस्थापनका लागि वडा नं १३ मा जग्गा खरिद प्रक्रिया अगाडि बढाइएकामा त्यहाँ पनि स्थानीयले विरोध गरेकाले जग्गा खरिद प्रक्रिया हाललाई रोकिएको छ।

नगरपालिकाले सरसफाइ क्षेत्रमा लाखौँ खर्च गर्दै आएकामा अब फोहरबाट राम्रो आम्दानी गर्न थालेको नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताए। रासस


प्रकाशित : मंगलबार, वैशाख १६ २०८२१४:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend