बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

रोजगारी र उद्यम प्रवर्द्धनका लागि हुप्सेकोटका ४० उत्कृष्ट उद्यमी छनोट

मंगलबार, वैशाख १६ २०८२
रोजगारी र उद्यम प्रवर्द्धनका लागि हुप्सेकोटका ४० उत्कृष्ट उद्यमी छनोट

गाउँपालिकाभित्र रोजगारी र उद्यम प्रवर्द्धनका लागि गरिएका अध्ययन तथा सम्भाव्यता विश्लेषणपछि खुला आवेदन आह्वान गरिएको थियो।

नवलपरासी- यहाँको हुप्सेकोट गाउँपालिकामा ४० उत्कृष्ट उद्यमी छनोट गरिएको छ। उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, हुप्सेकोट गाउँपालिका र ‘दायित्व’ नामक एक संस्थाको सहकार्यमा सञ्चालित ‘वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत यहाँका ४० जना उत्कृष्ट उद्यमी छनोट गरिएको हो।

गाउँपालिकाभित्र रोजगारी र उद्यम प्रवर्द्धनका लागि गरिएका अध्ययन तथा सम्भाव्यता विश्लेषणपछि खुला आवेदन आह्वान गरिएको थियो। प्राप्त ९८ आवेदनमध्ये सोच र सीप, विद्यमान अवस्था, नवप्रवर्तन क्षमता, व्यावसायिक योजना, बजार सम्भावना, नेतृत्व क्षमता र सामाजिक प्रभावजस्ता मापदण्डका आधारमा उद्यमी छनोट गरिएको हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जानकारी दिइन्।

'छनोट भएका ४० उद्यमीमध्ये आगामी चरणमा उत्कृष्ट २० लाई सुदृढीकरण तालिम दिइनेछ। त्यसपछि उनीहरूलाई व्यावसायिक योजना सुधार, बजार विस्तार र उद्यम विकास साझेदारीका माध्यमबाट थप सहयोग गरिनेछ', उनले भनिन्, 'अन्तिम चरणमा मूल्यांकन गरी १० उत्कृष्ट उद्यमीलाई विशेष नेतृत्व विकास, लगानी परिचालन तथा राष्ट्रिय र अन्तरराष्ट्रिय बजारसँग जोड्न सहयोग गरिनेछ।'

कार्यक्रमको मूल उद्देश्य गाउँपालिका क्षेत्रमा साना तथा लघु उद्यमहरूलाई मजबुत बनाउँदै दिगो रोजगारी र आय वृद्धिमा योगदान गर्नु रहेको कार्यक्रम प्रबन्धक सञ्जय पोख्रेलले बताए। 'यस कार्यक्रमअन्तर्गत शासकीय क्षमता सुदृढीकरण र बहुपक्षीय सरोकारवालाबीच ज्ञान आदानप्रदानलाई प्रोत्साहित गर्ने लक्ष्य छ', प्रबन्धक पोख्रेलले भने।

समृद्ध नेपालको साझा परिकल्पनालाई साकार पार्न र ग्रामीण क्षेत्रमा रोजगारी तथा आय वृद्धिमा योगदान पुर्‍याउन ‘वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम’ त्रिपक्षीय साझेदारीमा सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पराजुलीले बताए।

उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, हुप्सेकोट गाउँपालिका र दायित्व संस्थाको लागत साझेदारीमा गण्डकी प्रदेशका पाँचवटा गाउँपालिकामा यो कार्यक्रम सञ्चालन गरिएको छ। रासस


प्रकाशित : मंगलबार, वैशाख १६ २०८२१४:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend