बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

आँधीखोला गाउँपालिकाको जुग्ले-बाँगे सडक कालोपत्र

मंगलबार, वैशाख १६ २०८२
आँधीखोला गाउँपालिकाको जुग्ले-बाँगे सडक कालोपत्र

जुग्ले बजारदेखि गोगनपानी हुँदै फेदीखोला गाउँपालिका-५ को बाँगेलाई जोड्ने गरी सडक कालोपत्र गरिएको हो।

वालिङ- स्याङ्जाको आँधीखोला गाउँपालिका-५ जुग्ले हुँदै बाँगे जाने सडक कालोपत्र गरिएको छ। जुग्ले बजारदेखि गोगनपानी हुँदै फेदीखोला गाउँपालिका-५ को बाँगेलाई जोड्ने गरी सडक कालोपत्र गरिएको हो।

जुग्ले-बाँगे सडकखण्डको हाल जुग्ले-गोगनपानी खण्डको साढे तीन किलोमिटर सडक कालोपत्र गरिएको आँधीखोलाका अध्यक्ष विश्वनाथ पौडेलले बताए। 'आँधीखोला र फेदीखोला गाउँपालिकाका जनघनत्व धेरै रहेका गाउँलाई समेट्दै सडक कालोपत्र गरिएको छ', उनले भने, 'सामरिक महत्वका दृष्टिकोणका साथै भौगोलिक बनोट, खेतीपाती, विद्यालय, बजारको आवतजावतका लागि पनि यो सडकले गाउँ र सहरलाई जोडेको छ।'

गाउँमा नागरिकको जनघनत्व धेरै रहेकाले उनीहरुलाई गाउँमै टिकाइराख्न र गाउँमा बाह्रै महिना सडकको सहज पहुँच पुर्‍याउन यो सडकले महत्वपूर्ण टेवा दिने उनले बताए। दश वर्षअघि ‘ट्र्याक’ खोलिएको सडकलाई आँधीखोलाले संघीय सरकारसँगको समपूरक अनुदानअन्तर्गत बहुवर्षीय योजनाका रुपमा अगाडि बढाएको हो।

विसं २०७९ माघमा सम्झौता भइ निर्माण सुरु भएको सडक विसं २०८२ साउनभित्र सकिनुपर्नेमा समयावधिभन्दा पहिले नै निर्माण सकिएको उनले बताए। 'बहुवर्षीय योजनाअन्तर्गत चालु आर्थिक वर्षमा तीन किलोमिटर कालोपत्र र झन्डै ६ सय मिटर ढलान गरिएको छ', उनले भने, 'साढे तीन किलोमिटर सडक कालोपत्र र ढलान सकिएसँगै आँधीखोला गाउँपालिकाभित्र पर्ने सडक निर्माणसम्पन्न भएको हो, अब आउने वर्षमा फेदीखोला गाउँपालिकातर्फको सडक कालोपत्र सुरु हुन्छ।'

संघीय सरकारको समपूरक अनुदानअन्तर्गत तीन करोड रूपैयाँ र आँधीखोलाको चार करोड ५५ लाख रूपैयाँ गरी कुल सात करोड ५५ लाख रूपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो। स्याङ्जा, कास्की र पर्वतको सीमामा अवस्थित पर्यटकीय स्थल पञ्चासे पुग्नका लागि पनि यो सडक निर्माणसँगै सहज हुने भएको हो।

तीन किलोमिटर ५०० मिटर लम्बाइ यस पटक कालोपत्र गरिएको गाउँपालिकाका सिनियर सब-इञ्जिनियर सन्तोष सुवेदीले बताए।

सडक नालीसहित सात मिटर चौडाइको रहेको छ। सडक किनारामा पहेँलो घेराको रङ-रोगन गर्ने, सडकको दायाँ बायाँ किनारामा सुरक्षा बार लगाउने काम पूरा भएको उनले बताए। सडक पाँच दशमलव ७५ मिटर चौडाइ रहनेगरी कालोपत्र गरिएको छ। ‘प्रिमिक्स कार्पेटिङ’ प्रविधिको कालोपत्र गरिएको उहाँले बताए। उक्त सडक निर्माणका लागि विजय÷राङखोला सिद्धबाबा जेभीले ठेक्का सम्झौता गरेको थियो। रासस


प्रकाशित : मंगलबार, वैशाख १६ २०८२१४:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend