बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

प्रतिनिधिसभा बैठक : बालबालिकाको पोषणभत्ता वृद्धि गर्न सांसदको माग, कसले के भने?

मंगलबार, वैशाख १६ २०८२
प्रतिनिधिसभा बैठक : बालबालिकाको पोषणभत्ता वृद्धि गर्न सांसदको माग, कसले के भने?

सांसद रामहरि खतिवडाले गभर्नर नियुक्तिको प्रक्रिया तत्काल अगाडि बढाउन सरकारसँग माग गरे।

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसदहरुले बालबालिकालाई दिँदै आएको पोषणभत्ता वृद्धि गर्न सरकारलाई सुझाव दिएका छन्।

सांसद रञ्जुकुमारी झाले बालबालिकाको पोषणभत्ता वृद्धि हुनेगरी आगामी नीति तथा कार्यक्रम र बजेट ल्याउन सरकारलाई सुझाव दिइन्। 

सांसद माधव सापकोटाले सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ गुम्बास्थित बोल्दे आधारभूत विद्यालयका कार्यालय सहयोगी पेम्बानुर्बु तामाङलाई आन्दोलनका क्रममा हातपात भएको भन्दै आपत्ति जनाए।

सांसद महेश बस्नेतले इलाममा चिया उत्पादन गर्न किसानले युरिया मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले किसानलाई किबीको उचित मूल्य उपलब्ध गराउन सरकारसँग माग गरे।

सांसद मीना तामाङ र मैना कार्कीले शिक्षकका समस्या समयमै वार्तामार्फत समाधान गर्नुपर्नेमा जोड दिइन्। सांसद मेनकाकुमारी पोखरेलले अभिभावकविहीन बालबालिकाका लागि सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा व्यवस्था गर्न माग गरिन्। 

यस्तै, सांसद योगेन्द्र मण्डलले शिक्षा ऐन चाँडोभन्दा चाँडो ल्याउनुपर्नेमा जोड दिए भने सांसद रणकुमारी बलम्पाकी मगरले बालबालिकाको भविष्यसँग खेलबाड गर्न नहुने भन्दै शिक्षक आन्दोलन बन्द गरेर समाधानको बाटो खोज्न सुझाव दिइन्।

सांसद रणेन्द्र बराइलीले कर्मचारीले सर्वसाधारणलाई हैरानी दिने प्रवृत्ति नरोकिएको भन्दै आपत्ति जनाए।

सांसद रमा कोइराला पौडेलले विद्युत् प्राधिकरणका कर्मचारीको गैरजिम्मेवारीले सर्वसाधारणको जीवन जोखिममा परेको बताइन्।

संसद्‌ बैठकको शून्य समयमा सांसद राजेन्द्रकुमार केसीले पूर्वाधार विकासका काम वातावरणमैत्री हुन नसक्दा खानेपानीका मुहान जोखिममा रहेको बताए भने सांसद राजेन्द्रकुमार राईले बजेट अभावले ‘एक स्थानीय तह एक अस्पताल’ कार्यक्रम कार्यान्वयन गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

सांसद रामहरि खतिवडाले गभर्नर नियुक्तिको प्रक्रिया तत्काल अगाडि बढाउन सरकारसँग माग गरे। 

यसैगरी, सांसदहरु रामकुमार राई, रामकिशोर यादव, रुपा सोशी (चौधरी), रेखा शर्मा, लेखनाथ दाहाल, बिजुला रायमाझी र रोशन कार्कीले शिक्षकहरुसँग वार्ता गर्न ढिला गर्न नहुने बताए। रासस


प्रकाशित : मंगलबार, वैशाख १६ २०८२१३:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend