काठमाडौं- एनएमबि बैंकद्वारा अन्तर्राष्ट्रिय निकायहरु आईएफसी, बीआईआई र मेटलाइफसँगको साझेदारीमा नेपालमै पहिलोपटक अमेरिकी डलर ६ करोड बराबरको नेपाली रूपैयाँ अंकित हरित बन्ड जारी गर्ने उद्देश्यका साथ साझेदारी पत्रमा हस्ताक्षर भएको छ।
यस सहकार्यले जलवायु परियोजनाहरुमा संलग्न उद्यमहरुमा लगानी विस्तार गरी प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा गुणस्तरीय रोजगारी सिर्जना हुने लक्ष्यसमेत लिइएको छ। त्यसैगरी, यसले देशको ऊर्जा क्षेत्रको विकसमा थप टेवा पुग्ने विश्वास बैंकको रहेको छ।
यस बन्ड जारी गरी प्राप्त हुने रकम विशेषतः सौर्य ऊर्जालगायतका नवीकरणीय ऊर्जाहरु, विद्युतीय सवारी, हरित भवन तथा बायोमासजस्ता परियोजनाहरुमा लगानी विस्तार गर्ने लक्ष्य लिएको छ।
उक्त समझदारीपत्र हस्ताक्षर समारोहमा बैंकका संचालक समितिका अध्यक्ष मनोजकुमार गोयलले आफ्नो मन्तव्य राख्दै यस प्रयासमार्फत नवीकरणीय ऊर्जालगायतका क्षेत्रहरुमा एक पारिवर्तनकारी फड्को मारिने विश्वास व्यक्त गरे।
साथै, उनले एनएमबि बैंकको यस पहलले विदेशी पुँजीलाई स्वदेशमा भित्र्याइ जलवायु क्षेत्रमा लगानी गर्दै उक्त क्षेत्रमा परेको पर्यावरणीय प्रभावलाई न्यूनीकरण गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।