बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

सवारी आवागमन बन्द गरी दुलेगौडा-साखे सडक स्तरोन्नति थालियो

मंगलबार, वैशाख १६ २०८२
सवारी आवागमन बन्द गरी दुलेगौडा-साखे सडक स्तरोन्नति थालियो

एक महिनासम्म उक्त बाटो बन्द हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ।

तनहुँ- यहाँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा साखे सडक स्तरोन्नति सुरु गरिएको छ। शुक्लागण्डकी नगरपालिका र सडक बोर्डको साझेदारीमा उक्त सडक स्तरोन्नति सुरु गरिएको हो।

सो सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका-८ ढोरबाराहीको बाराही खोलादेखि मान्द्रे खण्ड सडक स्तरोन्नति भइरहेको वडाध्यक्ष नारायण थापाले जानकारी दिए। १५ लाख रूपैयाँमा उक्त खण्ड ढलान सुरु गरिएको उनले बताए। यस खण्डमा १५० मिटर सडक ढलान हुनेछ।

शनिबारदेखि उक्त सडकखण्डको बराहखोला कल्भर्ट, कुमारी बैंक अगाडि र भाटीको डिल खण्डमा सवारी आवागमन बन्द गरिएको छ। एक महिनासम्म उक्त बाटो बन्द हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ।

त्यसैगरी भानु नगरपालिका-१२ स्थित भिसी शेरबहादुर सडकअन्तर्गत चन्द्रावती-घलेछाप सडकखण्ड स्तरोन्नति थालिएको छ। संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालयको बजेटबाट स्तरोन्नति थालिएको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको एक करोड रूपैयाँ बजेटमा उक्त खण्डअन्तर्गत ढुंगेधारा घुम्तीबाट ४७० मिटर कालोपत्रसहित आवश्यक संरचना निर्माण भइरहेको वडा सदस्य सुदीप केसीले जानकारी दिए। सहरी विकास मन्त्रालयको एक करोड रूपैयाँ बजेटबाट ४९० मिटर कालोपत्रसहित अन्य संरचना निर्माण गरिने केसीले जानकारी दिए।

पूर्वाधार विकास कार्यालयमार्फत कार्यान्वयन भएको २० लाख बजेटबाट सुरुवाती बिन्दु चन्द्रावतीमा १८० घनमिटर ग्याबिन जाली र ५४ घनमिटर पक्की नाला निर्माण सम्पन्न भइसकेको छ।

भानु नगरपालिकामार्फत ठेक्का लागेको र निर्माण पक्षले पटक-पटक समय थप गर्दासमेत काम नगरेकाले सुरुवाती बिन्दुबाट कुडुलेसम्मको ठेक्का तोडी ७५ लाख रूपैयाँमा करिब ९५० मिटर कालोपत्र सुरु गरिएको केसीले बताए। 

हाल भइरहेको ४७० मिटर कालोपत्र सम्पन्न हुन केही दिन लाग्ने जनाइएको छ। हाललाई माथिल्लो घलेछाप, ओख्ले, बयापानी जाने उपभोक्ताहरुले वैकल्पिक मार्ग चन्द्रावती-अर्चले-आरबाजेमार्फत यात्रा गर्न आग्रह गरिएको छ। रासस


प्रकाशित : मंगलबार, वैशाख १६ २०८२११:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend