बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

हुप्सेकोटका बालिकालाई ५ हजारसहितको बैंक खाता उपहार

सोमबार, वैशाख १५ २०८२
हुप्सेकोटका बालिकालाई ५ हजारसहितको बैंक खाता उपहार

याे सेवा हुप्सेकोट गाउँपालिकामा स्थायी बसोबास गरेका दम्पतीका सन्तानले मात्रै पाउने छन्।

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकाले ५६ जना बालिकाहरुलाई ५ हजार रुपैयाँसहितको बैंक खाता उपहार दिएको छ। ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रममार्फत चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र जन्मिएका ५६ जना छोरीहरूको बैंक खातामा उक्त रकम जम्मा गरिएको हो।

छोरी जन्मिएर वडा कार्यालयमा जन्म दर्ता गराएपछि छोरीको नाममा खोलिने बैंक खातामा गाउँपालिकाले ५ हजार रकम जम्मा गरिदिने गरेको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जानकरी दिएकी छन्। याे सेवा हुप्सेकोट गाउँपालिकामा स्थायी बसोबास गरेका दम्पतीका सन्तानले मात्रै पाउने छन्।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म जन्मिएका ५६ जना छोरीहरुको बैंक खातामा ५ हजारका दरले २ लाख ८० हजार निकासा भइसकेको छ। ‘छोरीको बैंक खातामा अभिभावकलाई पनि कम्तीमा ५ हजार जम्मा गर्न आग्रह गर्ने गरेका छौँ’ पलिका अध्यक्ष पाण्डेले भनिन्।

छोरीको नाममा बैंक खातामा जम्मा भएको रकम उच्च शिक्षा अध्ययनका बेला उपयोग हुने अपेक्षा पालिकाले गरेको छ। बचत गर्ने बानीको विकास गर्न उक्त कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष पाण्डेको भनाइ छ। 

उनी भन्छिन्, ‘यसरी बैंकमा जम्मा हुने रकमले छोरीको सुनौलो भविष्यका लागि बचत गर्ने बानीको विकास हुनुका साथै अध्ययन तथा अन्य कार्यका लागि छोरीलाई सक्षम बनाउन प्रोत्साहन हुने अपेक्षा गरेका छौँ।’ छोरी जन्मदा खुसी नहुने समाजमा छोरीप्रति सम्मान र आत्मनिर्भरताको विकास गर्नुका साथै भ्रूण  हत्या रोक्नका लागि पनि यो अभियान सुरु गरेको पालिकाले जनाएको छ।

हुप्सेकोट गाउँपालिकाले आव २०७७/७८ देखि यो कार्यक्रम सुरु गरेको हो। उक्त कार्यक्रममार्फत हालसम्म ३१२ जना छोरी लाभान्वित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीले जानकारी दिए। ‘आव २०७७/७८ मा ३८ जना, २०७८/७९ मा ५९ जना, २०७९/८० मा ९७ जना र २०८०/८१ मा ६२ जना बालिकाको बैंक खातामा रकम जम्मा गरिएको छ’ उनले भने।

उक्त कार्यक्रम सञ्चालन भएपछि उमेर पुगेर बच्चा जन्माउने, नियमित स्वास्थ्य चौकी आएर गर्भपरीक्षण गर्ने, अस्पतालमा नै सुत्केरी हुने, बच्चाको समयमै जन्म दर्ता गरिदिनेलगायतका सकारात्मक बानीको विकास भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण सापकोटाको भनाइ छ। रासस 


प्रकाशित : सोमबार, वैशाख १५ २०८२१०:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend