सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

चियाको व्यापारमा पटकपटक भारतीय अवरोध, वैकल्पिक बजार खोज्न नसक्दा उत्पादन बढ्नै सकेन

सोमबार, वैशाख १५ २०८२
चियाको व्यापारमा पटकपटक भारतीय अवरोध, वैकल्पिक बजार खोज्न नसक्दा उत्पादन बढ्नै सकेन

निर्यातका लागि नेपालमा उत्पादित चियाले प्रत्येक पटक भारतबाट गुणस्तरको परीक्षा पास गर्नुपर्छ। यस्तो परीक्षा पास गर्न उत्तिकै सास्ती पनि छ। नेपाली चिया उत्पादक तथा निर्यातकर्ताका लागि यो प्रक्रिया निकै झन्झटिलो छ।

काठमाडौं- नेपालमै उत्पादन भएका थोरै वस्तु छन् जसले विदेशको बजारमा ठाउँ पाउँछन् र नेपालीहरूले आम्दानी गर्छन्। यसमा चिया चर्चितसँगै राम्रो आम्दानीको माध्यम पनि हो।

वर्षौँदेखि निर्यातमा उत्साहजक वस्तुका रुपमा हेरिएको चियाको अवस्था पछिल्ला केही वर्षमा भने सुखद छैन। पछिल्लो तीन वर्षदेखि चियाको उत्पादनमा स्थिर देखिएको छ।

चिया तथा कफी विकास बोर्डको तथ्यांकअनुसार नेपालमा पछिल्लो तीन वर्षमा २९ हजार टनको औसतमा बर्सेनि उत्पादन भइरहेको छ। त्यस्तै चियाको खेती हुने क्षेत्रफल पनि पछिल्लो तीन वर्षदेखि स्थिर छ। २०७८/७९ मा  २० हजार २३७ हेक्टर क्षेत्रफलमा चिया खेती भएको थियो भने २०८०/८१ मा पनि २० हजार ७६० हेक्टरमै खेती भइरहेको छ।

त्यस्तै पछिल्लो तीन वर्षदेखि निर्यात पनि स्थिर जस्तै देखिएको छ। निर्यात प्रभावित भएसँगै पछिल्लो दुई वर्षदेखि आयात भने केही कमी आएको छ।

पछिल्लो तीन वर्षदेखि उत्पादन तथा निर्यातमा देखिएको शिथिलताका पछाडिल निर्यातमा भारतीय अवरोध मुख्य कारण रहेको छ। पछिल्लो समय भारतले नेपालको चिया निर्यातमा विभिन्न समयमा अवरोध सिर्जना गर्दै आएको छ। यो समस्यामा स्थायी समाधान नहुँदा चिया उत्पादकहरू पनि निराश हुन थालिसकेका छन्।

निर्यातका लागि नेपालमा उत्पादित चियाले प्रत्येक पटक भारतबाट गुणस्तरको परीक्षा पास गर्नुपर्छ। यस्तो परीक्षा पास गर्न उत्तिकै सास्ती पनि छ। नेपाली चिया उत्पादक तथा निर्यातकर्ताका लागि यो प्रक्रिया निकै झन्झटिलो छ।

नेपाली चियाको गुणस्तर परीक्षण गर्ने अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला स्वदेशमा नहुँदा चिया उत्पादक व्यवसायी समस्यामा परिरहेका छन्। चियाको अन्तर्राष्ट्रिय बजारीकरणका लागि आधारभूत मानिने प्रयोगशाला पूर्वाधारसमेत स्वदेशमा उपलब्ध छैन। पूर्वाधार र पहल नहुँदा वार्षिक १० अर्बको चिया निर्यात गर्न सकिने सम्भावना भएपनि अहिलेसम्म बर्सेनि चार अर्बभन्दा बढीको निर्यात भएको छैन।

नेपालको चिया गुणस्तर परीक्षण नगरी भारतले आयातको अनुमति दिँदैन। तर स्वदेशमा प्रयोगशाला नहुँदा व्यवसायीलाई भारतकै पश्चिम बङ्गालको कोलकातामा परीक्षण गर्नुपर्ने बाध्यता छ। उद्योगीले तयारी चिया बोकेका कन्टेनर हप्तौँ काँकरभिठ्ठा भन्सारमा राखेर कोलकातामा परीक्षण गर्न लैजान्छन्। परीक्षणको ‘रिपोर्ट’ आएपछि मात्र भारतलगायत तेस्रो देशमा चिया निर्यात हुने गरेको नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलले बताए।

नेपाली चिया उत्पादकहरूले गुणस्तर परीक्षण गर्ने मान्यताप्राप्त ल्याब खोल्न सरकारसँग पटक-पटक माग गरेका छन्। मुलुकभित्र चियाको गुणस्तर परीक्षण गर्ने ल्याब नहुँदा भारतमा जस्तो गुणस्तर मापन हुन्छ, त्यसकै आधारमा मूल्य पाउने गरेको व्यवसायीहरूको भनाइ छ।

भारतसँग समन्वय गर्ने निकायको अभावमा भारतीय व्यापारीले तोकेकै मूल्यको आधारमा ५० वर्षदेखि एउटै मूल्यमा नेपाली उद्योगी, व्यवसायी चिया बिक्री गर्न बाध्य भएको व्यवसायीहरूको गुनासो छ।

नेपालमा चिया उत्पादन गर्ने ३० अर्थोडक्स र ३८ वटा सीटीसी गरी ६८ ठूला चिया उद्योग सञ्चालनमा छन्। एकसय ५० भन्दा बढी साना अर्थोडक्स प्रशोधन उद्योग सञ्चालनमा छन्। नेपालमा एकसय ६० भन्दा बढी चिया बगान रहेका छन्।

चिया खेतीमा १५ हजार भन्दा बढी साना किसान आबद्ध छन् भने कुल ६० हजारले रोजगारी पाएका बोर्डको तथ्यांक छ। 


प्रकाशित : सोमबार, वैशाख १५ २०८२१६:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend