बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

२६ लाख खर्चिएर तालगाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान

आइतबार, वैशाख १४ २०८२
२६ लाख खर्चिएर तालगाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान

गाउँपालिका र एचडीसीएसको सहकार्यमा २६ लाख रूपैयाँको लागतमा तालगाउँमा साइरन जडान गरिएको हो।

मनाङ- नासोँ गाउँपालिका-१ तालगाउँमा मर्स्याङ्दी नदी तटीय क्षेत्रका बासिन्दालाई प्राकृतिक विपद्‌बाट बचाउन मानव विकास तथा सामुदायिक सेवा केन्द्र (एचडीसीएस) ले बाढीसम्बन्धी सूचना दिने साइरन जडान गरेको छ।

गाउँपालिका र एचडीसीएसको सहकार्यमा २६ लाख रूपैयाँको लागतमा तालगाउँमा साइरन जडान गरेपछि स्थानीय विपद्‌बाट बच्ने भन्दै खुसी भएका छन्।

विसं २०७८ असार १ मा मनाङमा भीषण वर्षा भयो। वर्षासँगै आएको बाढीले मर्स्याङ्दी नदी किनारका कैयौँ स्थानीयलाई घरबारविहीन बनायो। बाढीले क्षतिग्रस्त भएपछि लामो समयसम्म गाउँले पालमुनि बस्न बाध्य भएका थिए।

बाढीले सबैभन्दा बढी नासोँ गाउँपालिका-१ ताल गाउँमा क्षति पुर्‍याएको थियो। नासोँ-१ का वडाध्यक्ष मीनरासी गुरुङका अनुसार तालगाउँमा ६३ परिवार छन्। मर्स्याङ्दी नदी किनारसँगैको बस्ती भएकाले यहाँका अधिकांश घरमा बाढी पसेको थियो। पटकपटक बाढी आउँदा लाखौँको धनमाल गुमाएका तालगाउँवासीले अब विपद् आउनुपूर्व सूचना पाउने भएपछि खुसी भएका हुन्।

वडाध्यक्ष मीनरासी गुरुङले साइरन जडानपछि वर्षाको समयमा गाउँले ढुक्कसँग निदाउन पाउने भएको भन्दै खुसी व्यक्त गरे।

लमजुङसँग सीमा जोडिएको तालगाउँलाई विपद्‌बाट जोगाउन पूर्व सूचना दिने साइरन जडान गरिएको एचडीसीएसका मनोसामाजिक परामर्शदाता शोभा ठकुरीले जानकारी दिइन्। उनका अनुसार नासोँ-८ को धारापानीमा राखिएको एक यन्त्रले मर्स्याङ्दी नदीमा पानीको सतह मापन गर्नेछ।

स्वचालित उक्त यन्त्रले मर्स्याङ्दी नदीमा खतराको सतह पार गरेको संकेत गर्नासाथ साइरन बज्न थाल्ने ठकुरीले बताइन्। साइरन तालगाउँभरि सुनिने गरी राखिएको छ। साइरनसँगै खतराको संकेतको सूचना मोबाइल एसएमएसबाट पनि जाने प्रबन्ध गरिएको उनले उल्लेख गरिन्।

यदि विद्युत् आपूर्ति बन्द भएमा, इन्टरनेट बन्द भएमा पनि कटुवालमार्फत खतरासम्बन्धी सूचना गाउँलेले थाहा पाउने छन्। स्थानीय सुरक्षित स्थानतर्फ जान सक्ने प्रबन्ध गरिएको ठकुरीले जानकारी जानकारी दिइन्।

सुरक्षित स्थानका लागि स्थानीय फुटबल खेल मैदानलाई प्रयोग गर्नेगरी स्थानीय गाउँमा रहेको मर्स्याङ्दी युवा क्लबसँग समन्वय गरिएको छ। यसअघिको डुबानका बेलामा पनि उक्त ठाउँमा पानी सतह पुग्न सकेको थिएन।

साइरन जडानपछि स्थानीय जनप्रतिनिधि, आमा समूह, युवा क्लबका पदाधिकारी, प्रहरी र स्वास्थ्य चौकी तथा स्थानीय बासिन्दालाई एक दिने प्राथमिक मनोसामाजिक सहयोगसम्बन्धी तालिम पनि दिइएको थियो। रासस


प्रकाशित : आइतबार, वैशाख १४ २०८२१४:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend