बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

महाकाली नदीमा बनेको चार लेनको पक्की पुलले खिच्दैछ पर्यटकको ध्यान, बढ्दैछ घुमफिर गर्नेको संख्या

आइतबार, वैशाख १४ २०८२
महाकाली नदीमा बनेको चार लेनको पक्की पुलले खिच्दैछ पर्यटकको ध्यान, बढ्दैछ घुमफिर गर्नेको संख्या

पछिल्लो समय यहाँ फोटो र भिडिओ बनाउनेको भीड लाग्ने गर्छ। स्थानीयका अनुसार यहाँ छिमेकी मुलुक भारतबाट पनि पर्यटक आउने गरेका छन्।

कञ्चनपुर- महेन्द्रनगरस्थित महाकाली नदीमा बनेको चार लेनको पक्की पुल पर्यटकको रोजाइमा परेको छ।

महाकालीपारिको बस्ती दोधारा चाँदनी जोड्ने यो पुलसँगै महाकाली नदी किनारमा बनेको आठ किलोमिटर सडक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ। पुलसँगै बनेको सडक ‘भाइरल रोड’ले परिचित छ।

अहिले महेन्द्रनगर पुग्ने आगन्तुकहरू तस्बिर खिच्न र भिडिओ बनाउन महाकाली चार लेन पुल पुग्ने गरेका छन्। पुल अवलोकनका लागि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ।

पुल अवलोकन गर्न आएका शुक्लाफाँटा नगरपालिका-१ का मदन रानाले सामाजिक सञ्जालबाट महाकाली पुलबारे थाहा पाएपछि परिवारसहित यहाँ घुम्न आएको बताए। 'फेसबुक र टिकटकमा धेरैले यहाँको फोटो-भिडिओ राखेको देखेर मलाई पनि आउन मन लाग्यो', उनले भने, 'साँझका बेला यहाँ घुम्न अत्यन्त रमाइलो ठाउँ रहेछ।'

पछिल्लो समय यहाँ फोटो र भिडिओ बनाउनेको भीड लाग्ने गर्छ। स्थानीयका अनुसार यहाँ छिमेकी मुलुक भारतबाट पनि पर्यटक आउने गरेका छन्।

पुलमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको स्थानीयवासी अमिर तिरुवा बताउँछन्। 'यहाँ महेन्द्रनगर, भारतीय सीमावर्ती सहर र बाहिरी जिल्लाबाट पनि मानिस आउने गरेका छन्', उनले भने, 'पछिल्लो समय दोधारा चाँदनी झोलुंगे पुल जाने पर्यटक पनि यहाँ पुग्ने गरेका छन्।' उनले यहाँ विभिन्न म्युजिक भिडिओसमेत छायांकन हुने गरेको बताए।

पुलबाट महाकाली नदी, दोधारा चाँदनी झोलुंगे पुल, शारदा ब्यारेजको अवलोकन गर्न सकिन्छ। साँझका बेला सूर्यास्तको सुन्दर दृश्यलाई पृष्ठभूमिमा राखेर पुलबाट तस्बिर कैद गर्न सकिने भएकाले पनि साँझको समय फोटो खिच्नेको भीड नै लाग्ने गरेको छ। विसं २०७४ देखि निर्माण सुरु भएको पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आए पनि पुलसँगै बन्ने अन्य संरचना निर्माणाधीन अवस्थामा छन्।

पुललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न महाकाली पुल आयोजना कार्यालय महेन्द्रनगरले पुलसँगै चारवटा पोखरी निर्माण गर्न लागेको छ। त्यसकै छेउछाउमा पाँच हजार बिरुवा रोप्ने योजना छ। महाकाली नदीमा पुल निर्माण गरिरहेको कुमार सीएफईसी जेभीका इञ्जिनियर किशोरराज पाण्डेयले पुलसँगै महाकाली नदी किनारमा पर्यटकलाई आकर्षित गर्न टापुसहितका चारवटा पोखरी निर्माण हुन लागेको जानकारी दिए।

'पुलको वारिपारि चारवटा पोखरी निर्माण हुन्छन्, त्यसमा टापु पनि छ, पर्यटकले बोटिङ गरेर त्यो टापुमा जान सक्छन्', उनले भने, 'पोखरीसँगै हरियाली बनाउन पाँच हजार बिरुवा रोप्छौँ, यसले पर्यटक आकर्षित हुनेछन्।' उनले पछिल्लो समय पुल अवलोकनका लागि दैनिक दुई-तीन सय जना पुग्ने गरेका बताए।

महाकाली पुल आयोजना कार्यालयका अनुसार पुलको उत्तरपट्टि एक वर्ग किलोमिटरभन्दा ठूला दुई तथा दक्षिणतर्फ शून्य दशमलव तीन वर्गकिलोमिटरका दुई गरी चारवटा पोखरी निर्माण हुँदैछन्। अहिले पोखरीका लागि बाँध बाँध्ने काम निर्माणाधीन अवस्थामा छ। रासस


प्रकाशित : आइतबार, वैशाख १४ २०८२१०:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend