बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

जलवायु परिवर्तनबाट बालबालिका र युवा बढी प्रभावित : मन्त्री शाही

शनिबार, वैशाख १३ २०८२
जलवायु परिवर्तनबाट बालबालिका र युवा बढी प्रभावित : मन्त्री शाही

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनका कारण बालबालिका र युवा बढी प्रभावित भएको बताएका छन्।

काठमाडौं- वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनका कारण बालबालिका र युवा बढी प्रभावित भएको बताएका छन्।

नेपाल सरकार तथा संयुक्त राष्ट्र सङ्घ नेपालको संयुक्त आयोजनामा आयोजित ‘वायु संवाद : नेपालको जलवायु मुद्दाको केन्द्रमा बालबालिका तथा युवा’ कार्यक्रममा मन्त्री शाहीले भने, ‘जलवायु परिवर्तनका कारण बालबालिका तथा युवाको स्वच्छ जीवन, स्वच्छ हावा, स्वच्छ पानी र हरियाली वातावरणमा बाँच्न पाउने अधिकार हनन भएको छ।’ उनले जलवायु परिवर्तनले पारेको असरबारे सरकारले निरन्तर पैरवी, बहस र न्यूनीकरणको प्रयास गरिरहेको बताए ।

कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले बालबालिका र युवामा लगानी गर्नुपर्ने आवश्यकता औँल्याए। उनले भने, ‘बालबालिका र युवा नै हाम्रो अमूल्य सम्पत्ति हुन् । तिनलाई फस्टाउने अवसर सिर्जना गर्नु जरुरी छ। जलवायु परिवर्तनलाई बुझौँ, आत्मसाथ गरौँ र सङ्कट न्यूनीकरणमा सबैले साझा प्रयास गरौँ।’

नेपालका लागि संयुक्त राष्ट्र सङ्घका कार्यवाहक आवासीय संयोजक एलिस अकुङ्गाले सबै बालबालिकाले सुरक्षित र स्वस्थ वातावरणमा हुर्कन पाउने अधिकार सुनिश्चित हुनुपर्ने बताए। उनले भने, ‘जलवायु परिवर्तनले बालबालिकाको अधिकारलाई दैनिकरूपमा जोखिममा पारिरहेको छ।’

युनिसेफका दक्षिण एसिया क्षेत्रीय जलवायु सल्लाहकार रक्षा राजेश्वरी थापाले नेपालमा जलवायु परिवर्तनको असर बालबालिका तथा युवामा गहिरो परेको बताए। अत्यधिक गर्मी, भीषण वर्षा, जलवायुजन्य विपद् र प्रदूषित हावापानीका कारण उनीहरूको स्वास्थ्यमा गम्भीर जोखिम पैदा भइरहेको उनले उल्लेख गरे।

सगरमाथा संवाद शिखर सम्मेलनको एक भागका रूपमा यो कार्यक्रम नेपाल सरकार, संयुक्त राष्ट्र सङ्घ नेपाल र विभिन्न युवा सञ्जालहरूको सहकार्यमा आयोजना गरिएको हो।

कार्यक्रममा देशभरिका सयभन्दा बढी बालबालिका तथा युवाको सहभागिता रहेको थियो। अन्तर्राष्ट्रिय सगरमाथा संवादअघि आयोजना गरिएको यो राष्ट्रिय कार्यक्रम जलवायु परिवर्तन प्रतिकार्यमा बालबालिका तथा युवाको नेतृत्वलाई केन्द्रमा राखेर गरिएको हो।

रासस


प्रकाशित : शनिबार, वैशाख १३ २०८२१७:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend