शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

कोशीमा पर्यटन वर्ष सुरू भएसँगै पर्यटकको चहलपहल बढ्यो, १५ लाख पर्यटक भित्र्याउने लक्ष्य

images
शनिबार, वैशाख १३ २०८२
images
कोशीमा पर्यटन वर्ष सुरू भएसँगै पर्यटकको चहलपहल बढ्यो, १५ लाख पर्यटक भित्र्याउने लक्ष्य

छिमेकी भारत र तेस्रो मुलुकबाट १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरू गरिएको पर्यटन वर्षले प्रदेशवासीमा उत्साह थपेको छ। पर्यटन वर्षको शुभारम्भसँगै कोशीमा पर्यटकको चहलपहल उल्लेखनीय रूपमा बढ्न थालेको छ।

images
images

काठमाडौं- कोशी प्रदेश सरकारले पर्यटन विकास तथा प्रवर्द्धनका लागि पर्यटन वर्ष २०८२ मनाइरहेको छ। छिमेकी भारत र तेस्रो मुलुकबाट १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरू गरिएको पर्यटन वर्षले प्रदेशवासीमा उत्साह थपेको छ। पर्यटन वर्षको शुभारम्भसँगै कोशीमा पर्यटकको चहलपहल उल्लेखनीय रूपमा बढ्न थालेको छ।

images
images
images

पर्यटकको बढ्दो आगमनसँगै पर्यटन तथा होटल व्यवसायीहरू उत्साहित भएका छन्। भारतको बिहार राज्यबाट इलामको कन्याम घुम्न आएका कमलेश शर्माले भने, 'नेपाल वास्तवमै स्वर्गको टुक्रा रहेछ। सुनेकोभन्दा धेरै राम्रो लाग्यो। साथीहरूसँग दुई दिनअघि आएका हौँ। अब एक सातासम्म नेपाल घुम्ने योजना बनाएका छौँ।'

images
images

कोरोना महामारीपछि थिलोथिलो बनेको पर्यटन क्षेत्रलाई पुनः गतिमा ल्याउन प्रदेश सरकारले पर्यटन वर्ष २०८२ कार्यक्रम ल्याएको हो। 'हामी होटल व्यवसायीहरू एकदमै खुसी छौँ। आशा छ, पर्यटन वर्ष २०८२ ले महामारीपछिको सुस्त पर्यटन र होटल व्यवसायमा नयाँ ऊर्जा भर्नेछ,' होटल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूले भने।

images
images

विशेषगरी भारतीय पर्यटकको आगमन उल्लेखनीय बनेको छ। भन्सार नाकामा हुने चेकजाँचका झन्झटलाई कम गर्न प्रदेश सरकारले भारतीय पर्यटकीय सवारी साधनमा स्टिकर टाँस्ने व्यवस्था गरेको छ। मुख्यमन्त्री हिक्मत कुमार कार्कीले भारतीय सवारीमा पर्यटन वर्षको स्टिकर टाँसेर अभियानको औपचारिक सुरुआत गरे।

अध्यक्ष लिम्बूका अनुसार दैनिक करिब १०० वटा भारतीय पर्यटकीय सवारी साधन भेडेटार आइपुग्ने गरेका छन्। 'भेडेटार र वरपरका क्षेत्रमा १५ देखि २० हजार पर्यटकलाई राख्न सकिने होटल र होमस्टेहरूको पर्याप्त व्यवस्था गरिएको छ,' उनले बताए।

धनकुटा साँगुरीगढी गाउँपालिका–६, नाम्जेका होमस्टे सञ्चालक नगेन्द्र मगरले गत वर्षको तुलनामा यो वर्ष सुरुआती दिनमै आन्तरिक पर्यटकको चहलपहल उल्लेखनीय रूपमा बढेको बताए। उनका अनुसार सामान्यतया शुक्रबार र शनिबार बढी चहलपहल हुने भए पनि अहिले अन्य दिनमा पनि पर्यटकको भीड देखिन थालेको छ।

नाम्जे थुम्की सामुदायिक होमस्टे व्यवस्थापन समितिअन्तर्गत १९ घर आबद्ध रहेका छन्, जसमा ९० देखि १०० जनासम्म पर्यटकलाई राख्न सकिन्छ। आन्तरिक पर्यटनप्रति आकर्षण बढ्दै गएकाले घुम्नका लागि गाडी भाडामा लिनेहरू पनि बढेका छन्। मोरङ, बेलबारी–९ का यातायात व्यवसायी नगेन्द्र भट्टराईले भने, 'पछिल्लो समय गाडी भाडामा लिएर घुम्न जानेको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ।'

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले निजी क्षेत्रसँग सहकार्यमा सञ्चालन गरिएको पर्यटन वर्षले समग्र आर्थिक गतिविधि सक्रिय हुने विश्वास व्यक्त गरे। 'यस अभियानलाई सफल बनाउन सबैले आ–आफ्नो स्थानबाट योगदान गर्नु जरुरी छ,' उनले भने।

चैत २७ गते तेह्रथुमको तीनजुरे मिल्के क्षेत्रमा उपप्रधानमन्त्री प्रकाशमान सिंहले पर्यटन वर्ष २०८२ को औपचारिक उद्घाटन गरे।

पर्यटन वर्ष २०८२ का सहसंयोजक भविष श्रेष्ठले धार्मिक, प्राकृतिक, सांस्कृतिक, शिक्षा, स्वास्थ्य तथा खेलकुद क्षेत्रका पर्यटकहरूलाई आकर्षित गर्ने लक्ष्य लिएको बताए। उनका अनुसार पर्यटन वर्षमा १५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ।

रासस


प्रकाशित : शनिबार, वैशाख १३ २०८२१४:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend