बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

खाद्य व्यवस्था जनकपुरद्वारा किसानबाट गहुँ खरिद सुरु

बिहीबार , वैशाख ११ २०८२
खाद्य व्यवस्था जनकपुरद्वारा किसानबाट गहुँ खरिद सुरु

समर्थन मूल्यभन्दा बजार मूल्य अधिक रहेकाले किसानले आफ्नो उत्पादन निजी क्षेत्रका बजारमा बिक्री गरेकाले लक्ष्यअनुसार धान खरिद भएको छैन।

जनकपुरधाम- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय जनकपुरधामले आजदेखि किसानसँग गहुँ खरिद गर्न थालेको छ।

सरकारले प्रतिक्विन्टल तीन हजार ८ सय ६७ रूपैयाँ तथा ३८ पैसाका दरले खरिद गर्ने तोकेको समर्थन मूल्यको आधारमा गहुँ खरिद सुरु गरेको कार्यालय प्रमुख निर्मल थापाले जानकारी दिए। 

धनुषा तथा महोत्तरीका किसानबाट यसवर्ष दुई हजार ५ सय क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य रहेको छ। प्रतिकिसानबाट ५० क्विन्टल तथा प्रतिसहकारी संस्थाबाट ५ सय क्विन्टल गहुँ खरिद गर्ने कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार जनकपुरको मुजेलियास्थित कार्यालय हाताभित्र गहुँ खरिदका लागि निःशुल्क काँटासमेत सञ्चालन गरेको छ।

धनुषा तथा महोत्तरीका सम्बन्धित स्थानीय तहको सिफारिस तथा गहुँ बिक्री गर्न गहुँ सफा गरी तोकेको मापदण्डको आधारमा हुनुपर्ने र किसानलाई भुक्तानी चेकमार्फत गराइने सूचनामा उल्लेख छ।

सो कार्यालयले चालु आर्थिक वर्षमा लक्ष्यको तुलनामा धान खरिद कम गरेको छ। ३२ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेकामा पाँच हजार ३ सय ४६ क्विन्टल धान मात्र खरिद गरिएको छ।

समर्थन मूल्यभन्दा बजार मूल्य अधिक रहेकाले किसानले आफ्नो उत्पादन निजी क्षेत्रका बजारमा बिक्री गरेकाले लक्ष्यअनुसार धान खरिद नभएको हो।

सरकारले प्रतिक्विन्टल तीन हजार ५ सय ८० रूपैयाँका दरले धान खरिद गर्ने निर्देशन दिए पनि बजारमा करिब चार हजार रूपैयाँ प्रतिक्विन्टलका दरले किसानले धान बिक्री गरेका थिए। रासस


प्रकाशित : बिहीबार , वैशाख ११ २०८२१६:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend