कन्चनपुर- कन्चनपुरको भीमदत्त नगरपालिका-४ मा निर्माण भएको सभागृह प्रयोगविहीन बनेको छ। २०७५ मा निर्माण सम्पन्न भएको उक्त सभागृह हालसम्म प्रयोगमा आउन सकेको छैन।
तीन तले सुविधा सम्पन्न सभागृहमा तीन हलका साथै चेन्जिङ रुम, अन्डरग्राउण्ड पार्किङको सुविधा पनि छ। तर, निर्माण सम्पन्न भएको ७ वर्ष बित्दासमेत उक्त सभाहल सञ्चालनमा आउन सकेको छैन।
तत्कालीन महेन्द्रनगर नगर विकास समितिले ८ करोड रुपैयाँ लगानीमा निर्माण गरेकोे सभागृह अहिले भीमदत्त नगरपालिका मातहत छ। सभा हल सञ्चालनमा ल्याउने दायित्व भीमदत्त नगरपालिकाको भएपनि नगरपालिकाले सभाहल सञ्चालनमा ल्याउन सकेको छैन। प्रयोगविहिन भएपछि सभागृह जिर्ण बन्दै गएको छ।
नगरपालिकाको नेतृत्वले चासो नदिदा करोडौँ लगानीमा निमार्ण भएको सभागृह जिर्ण बन्दै गएको यहाँका स्थानीय बताउँछन्। ‘तत्कालीन नगरविकास समितिले जुन उद्देश्यका साथ सभागृह निमार्ण गरेको त्यही उद्देश्यअनुरुप सभागृह सञ्चालनमा आउँनुपर्छ’ स्थानीय विष्णुप्रसाद जोशीले भने। सरकारको करोडाैँ लगानी भएको संरचना प्रयोगविहिन बन्न दिन नहुने उनको बुझाइ छ।
कञ्चनपुरमा सभागृह नहुँदा ठुला कार्यक्रम सञ्चालन गर्न समस्या हुने गरेको छ। तर, निमार्ण सम्पन्न भएको ७ वर्ष पुग्दा पनि सञ्चालनमा आउन सकेको छैन।अर्का स्थानीय टेक सिंह नायकले पनि सभागृहको कतिपय ठाउँमा भवन चर्किएको, ढोका र झ्याल फुटेको बताउँछन्। उनले सभाहल सञ्चालन गर्ने दायित्व नगरपालिकाको भएकाले सञ्चालनमा ल्याउन पहल गर्नुपर्ने बताए।
भीमदत्त नगरपालिकाले सभागृह सञ्चालनका लागि कार्यविधि बनाएर सञ्चालनमा ल्याउने तयारी रहेको जनाएको छ। नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामी सभागृह सञ्चालनका लागि मापदण्ड बनाएर नगर विकास समितिको बैठकबाट पास गर्नुपर्ने बताउँछन्। तर, अहिले नगर विकास समितिकै बैठक बस्न सकेको छैन।
नगरपालिकाले यसअघि सभागृह सञ्चालनका लागि समिति बनाएर अध्ययन गरेको थियो। उक्त समितिले सभागृह सञ्चालनका लागि कार्यविधि बनाएर नगरपालिकालाई दिइसकेको छ। पूर्व-पश्चिम राजमार्गसँगै जोडिएको साढे पाँच बिघाहा जमिन क्षेत्रफलमा सभागृह निर्माण गरिएको छ। अपांगमैत्री सभागृहमा एक हजार जना अटाउने क्षमता छ।
२०६५ सालमा श्यामसुन्दर र गौरी पार्वती जेभी निर्माण कम्पनीसँग दुई वर्षभित्र काम सक्ने गरी ६ करोड ८१ लाख रुपैयाँमा सभागृह निर्माणका लागि ठेक्का सम्झौता भएको थियो। सम्झौता हुँदाको इस्टमेट र डिजाइन परिवर्तन भएपछि ठेक्का रकम एक करोड ७० लाख बढाएर ८ करोड ५१ लाख रुपैयाँमा सभागृह निमार्ण सम्पन्न भएको हो। रासस