बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

९६ प्रतिशत नागरिक साक्षर भएसँगै हुम्लालाई 'साक्षर जिल्ला' घोषणा गरिँदै

बिहीबार , वैशाख ११ २०८२
९६ प्रतिशत नागरिक साक्षर भएसँगै हुम्लालाई 'साक्षर जिल्ला' घोषणा गरिँदै

यहाँका १५ देखि ६० वर्ष उमेर समूहका ९६ दशमलव शून्य चार प्रतिशत नागरिक साक्षर भएसँगै साक्षर जिल्ला घोषणा गर्न लागिएको हो।

हुम्ला- आगामी जेठ ९ गते हुम्ला साक्षर जिल्ला घोषणा हुने भएको छ। यहाँका १५ देखि ६० वर्ष उमेर समूहका ९६ दशमलव शून्य चार प्रतिशत नागरिक साक्षर भएसँगै साक्षर जिल्ला घोषणा गर्न लागिएको हो।

जिल्लाका सातवटै स्थानीय तह साक्षर पालिका घोषणा भइसकेकाले आगामी जेठ ९ गते साक्षर जिल्ला घाषणा गर्ने निर्णय गरिएको शिक्षा विकास तथा समन्वय इकाइ समितिले जनाएको छ। आज बिहान समितिका प्रमुख शिवराज शर्माको अध्यक्षतामा बसेको बैठकले साक्षर घोषणाका लागि आवश्यक मापदण्ड र सर्तहरू पूरा भएकाले साक्षर जिल्ला घोषणा गर्न लागिएको जनाइएको छ।

जिल्लामा १५ देखि ६० उमेर समूहका ३५ हजार ३५४ जनसङख्यामध्ये ३३ हजार ९५४ अर्थात् ९६ दशमलव शून्य चार प्रतिशत साक्षर भएपछि घोषणाको तयारी गरिएको शिक्षा विकास तथा समन्वय इकाइका निमित्त प्रमुख योगेश आले मगरले बताए।

उनका अनुसार नाम्खाका ९६ दशमलव १६, सिमकोटका ९५ दशमलव छ, खार्पुनाथका ९५ दशमलव पाँच, सर्केगाडका ९५ दशमलव ७४, चङ्खेलीका ९५ दशमलव २४, अदानचुलीका ९५ दशमलव २८ र ताँजकोट गाउँपालिकाका ९८ दशमलव २८ प्रतिशत नागरिक साक्षर भएका छन्।

साक्षर नेपाल घोषणा अभियान-२०७६ अनुसार १५ वर्षदेखि ६० वर्ष उमेरका ९५ प्रतिशत साक्षर भएपछि पालिका र जिल्लालाई साक्षर घोषणा गर्न सकिने प्रावधान रहेको जिल्ला समन्वय समितिका प्रमुख शर्माले जानकारी दिए।

लामो प्रयासपछि जिल्ला साक्षर घोषणा हुन लागेकामा खुसी व्यक्त गर्दै उनले यसमा सबैको अनिवार्य सहयोगको आवश्यकता औँल्याए। साक्षर जिल्ला घोषणाका लागि यहाँस्थित सामाजिक विकास कार्यालयले आर्थिक सहयोग गर्ने कार्यालयका प्रमुख हर्कबहादुर बस्नेतले जानकारी दिए। रासस


प्रकाशित : बिहीबार , वैशाख ११ २०८२१४:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend