बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

बेनी-जोमसोम-कोरला सडक : जोमसोमस्थित भासिएको सडक स्तरोन्नति गर्न स्थानीयको माग

बिहीबार , वैशाख ११ २०८२
बेनी-जोमसोम-कोरला सडक : जोमसोमस्थित भासिएको सडक स्तरोन्नति गर्न स्थानीयको माग

मार्फा-जोमसोम सडक कालोपत्र र जोमसोममा भासिएको सडक बर्खायामको खोलाको सतह नबढ्दै निर्माण गर्नुपर्ने स्थानीयको माग छ।

मुस्ताङ- राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत मुस्ताङको कोवाङ-जोमसोम सडकखण्डमा पर्ने घरपझोङ-४ जोमसोमस्थित भासिएको सडक स्तरोन्नति गर्न स्थानीयवासीले माग गरेका छन्। उनीहरुले आज दुई घण्टा सडक अवरोधसमेत गरेका छन्।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले तत्काल निर्माण कम्पनीलाई भासिएको स्थानमा सडक संरचनाको काम सुरु गर्न लगाउने आश्वासन दिएपछि सडक आगमन खुल्ला गरिएको हो। योसँगै मुक्तिनाथ-कोरला आउजाउ गर्ने सडक गन्तव्यमा प्रस्थान गरेका छन्।

यसअघि जोमसोममा निर्माणाधीन मुख्य सडक भासिएको स्थानमा सडकको काम तत्काल सुरु गर्नुपर्ने माग राख्दै मुस्ताङको घरपझोङ-४ जोमसोमस्थित गणेश मन्दिर नजिकै स्थानीयले सडक अवरोध गरेका थिए। उनीहरुले गतवर्ष भासिएको करिब १०० मिटर सडक स्तरोन्नति नहुँदा कालिगण्डकी नदीको तटीय बस्ती जोखिममा परेको जनाउँदै मुक्तिनाथ-कोरला सडकमा केही समय आवत जावतमा अवरोध गरेका थिए।

जोमसोमकी स्थानीय प्रमिला गुरुङ थकालीले भासिएको सडक मर्मत तथा स्तरोन्नतिका लागि आवश्यक पहल गरिदिन पटक-पटक स्थानीय प्रशासन र गाउँपालिका कार्यालयमा लिखित ध्यानाकर्षण गराउँदासमेत भासिएको सडक स्तरोन्नति गर्न पहल नभएको बताइन्।

मुस्ताङको घरपझोङ-४ जोमसोमका वडाध्यक्ष यमप्रसाद थकालीले जोमसोम सडक स्तरोन्नतिमा निर्माण कम्पनी, आयोजना र स्थानीय प्रशासनले गरेको अल्टिमेटम चैत्र २० गतेसम्म तोकिएको भएपनि निर्माण कम्पनीले उक्त स्थानमाा भासिएको सडक स्तरोन्नति नगरेको बताए। निर्माण कम्पनीले पटकपटक झुक्याउने काम गरेको र स्थानीय प्रशासनले पनि सडक मर्मत तथा स्तरोन्नति कार्यलाई गम्भीररुपमा नलिएकाले स्थानीयले सडक अवरुद्ध गरेको उनको भनाइ छ।

विसं २०७३/०७४ सालमा ठेक्का सम्झौता भएको कोवाङ-जोमसोम १७ किमी सडकमा निर्माण कम्पनीले ढिलासुस्ती गर्न सम्पन्न हुन सकेको छैन। मार्फा-जोमसोम सडक कालोपत्र र जोमसोममा भासिएको सडक अविलम्ब सुरु गरेर बर्खायामको खोलाको सतह नबढ्दै निर्माण गर्नुपर्नेमा स्थानीयले माग गरेका छन्। रासस


प्रकाशित : बिहीबार , वैशाख ११ २०८२१३:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend