बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

सुरक्षित घर बनाउन नसकेका विपन्न नगरवासीको घर भरतपुर महानगरले बनाइदिने

बिहीबार , वैशाख ११ २०८२
सुरक्षित घर बनाउन नसकेका विपन्न नगरवासीको घर भरतपुर महानगरले बनाइदिने

महानगरपालिकाका प्रमुख रेनु दाहालका अनुसार सुरक्षित घर बनाउन नसकेका नगरबासीको घर महानगरपालिकाले बनाइदिने योजना पलएको हो।

चितवन- भरतपुर महानगरपालिकाले विपन्नहरूका लागि घर बनाउने भएको छ। महानगरपालिकाले यस वर्षदेखि विपन्नका लागि घर बनाउने कार्यक्रम सुरु गरेको हो। सोही कार्यक्रमअन्तर्गत एकसय ३९ जना लाभग्राही छनोट गरिएको छ।

महानगरपालिकाका प्रमुख रेनु दाहालका अनुसार सुरक्षित घर बनाउन नसकेका नगरवासीको घर महानगरपालिकाले बनाइदिने योजना पलाएको हो। गत मङ्सिर १३ गतेको कार्यपालिका बैठकबाट निर्णय गरी स्थानीय राजपत्रमा प्रकाशित गरेर कार्यक्रम सुरु गरिएको उनले जानकारी दिइन्।

दाहालका अनुसार चालु आर्थिक वर्षमा एक करोड रूपैयाँ रकम विनियोजन गरिएको छ। एउटा घर बनाउन पाँच लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको छ। छनोटमा परेका लाभग्राहीको प्राथमिकताका आधारमा क्रमशः घर बनाउँदै लगिने उनले जानकारी दिइन्।

यस कार्यक्रमअन्तर्गत महानगरभित्र रहेका विपन्न नागरिकको संरक्षण, उत्थान, सशक्तिकरण र विकास गर्न विपन्न परिवारका लागिको सुरक्षित आवास निर्माण र हस्तान्तरण गर्नेगरी कार्यक्रम कार्यान्वयनमा ल्याइएको महानगर प्रमुख दाहालले बताइन्।

‘भरतपुर महानगर प्रमुख विपन्न आवास कार्याक्रम कार्यविधि’ बनाएर कार्यन्वयनमा ल्याएको कार्यक्रमका सदस्यसचि इञ्जिनियर साकार लामाले जानकारी दिए। उनका अनुसार कार्यक्रमअन्तर्गत लाभग्राही छनोट गरिसकिएको छ।

वडा कार्यालयहरूबाट लाभग्राहीको लगत संकलन गरी स्थलगत अनुगमनको काम सकिएको बताउँदै उनले भने, 'पाँच सयभन्दा बढी लाभग्राहीको आवेदन फारम परेको थियो। स्थलगत अनुगमन पछि एकसय ३९ जना छनोट भएका छन्।'

कार्यविधिअनुसार नौवटा सूचकभित्र परेकाहरूको आवास निर्माण गरिने छ।

'उक्त कार्यक्रमअन्तर्गत घरमा दुईवटा कोठा र शौचालय रहने छन्। घर टिनले छाइने छ। सेतो पुर्जा भएका, जग्गा धनी प्रमाणपुर्जा पाउन सक्ने, वडाले विवादरहित ऐलानी जग्गा भनी सिफारिस गरेको, वन, ताल, नदी र नहरको जग्गा अतिक्रमण नगरेका लाभग्राहीलाई कार्यक्रममा समावेश गरिएको छ', इञ्जिनियर लामाले भने। ‘एक घर, एक परिवार’ अन्तर्गत आवास निर्माण गरिने उनले बताए। रासस


प्रकाशित : बिहीबार , वैशाख ११ २०८२११:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend