बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत गोरखामा ३३ हजारभन्दा बढी धारा जडान

बिहीबार , वैशाख ११ २०८२
‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत गोरखामा ३३ हजारभन्दा बढी धारा जडान

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखामार्फत चालु आर्थिक वर्षसम्म करिब ३३ हजार ७ सय १५ धारा जडान गरिएका हुन्।

गोरखा- गण्डकी प्रदेश सरकारले सुरु गरेको ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत गोरखामा ३३ हजारभन्दा बढी घरमा खानेपानीका धारा जडान गरिएको छ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखामार्फत चालु आर्थिक वर्षसम्म करिब ३३ हजार ७ सय १५ धारा जडान गरिएका हुन्।

कार्यालको तथ्यांकअनुसार आव  २०८०/८१ सम्म जिल्लाभर ३३ हजार २ सय १५ धारा जडान गरिएकामा चालु आवमा थप पाँच सयभन्दा बढी धारा जडान भएका हुन्। यो जिल्लाको कुल लाभग्राहीमध्य ९१ दशमलव पाँच प्रतिशत हो। कार्यालयका सबइन्जिनियर दीपक खनालले यो कार्यक्रम लागु भएको पाँच वर्षमा उल्लेख्य प्रगति भएको बताए।

'हामी कार्यक्षेत्र गोरखा र लमजुङ हो। चालु आवमा दुवै जिल्लाका लागि नौसय १५ वटा धारा जडान गर्ने कार्यक्रम छ, त्यसमध्ये करिब ३ सय धारा लमजुङमा जडान भएका छन् भने बाँकी गोरखामा जडान भएका छन्', उनले भने।

'एक घर एक' धारा कार्यक्रमका लागि कार्यालयमा चालु आवमा ३० करोड ३० लाख रूपैयाँ बजेट प्राप्त भएको खनालले जानकारी दिए। उक्त रकमबाट दुवै जिल्लामा कार्यक्रम सञ्चालन गरिएको हो।

'हालसम्म जिल्लाको ९१ दशमलव पाँच प्रतिशत जनसङ्ख्यामा खानेपानीको पहुँच पुगेको छ। यो तथ्यांक अन्य जिल्लाहरूको तुलनामा धेरै राम्रो हो', उनले भने। लमजुङमा आधारभूत खानेपानी पहुँच ८५ दशमलव ८८ प्रतिशत रहेको छ भने त्यहाँ हालसम्म करिब १९ हजार ४ सय २० वटा खानेपानी धारा जडान गरिएका छन्।

कार्यालयले धारा नभएका ठाउँमा जडान गर्ने र धारा भएका ठाउँहरूमा मर्मतसम्भारको काम गरिरहेको छ तर पानीको स्रोत सुनिश्चितताको जिम्मा भने आफूहरूमा नरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाका प्रमुख तुल्सी बस्नेतको भनाइ छ। 'पानीको स्रोत सुनिश्चितता र मूल दर्ताको काम भने स्थानीय सरकारको हो। हाम्रो कार्यालयले आयोजना निर्माणको काम मात्र हेर्छ। सोहीअनुसार काम गरिरहेका छौँ', उनले भने।

जिल्लामा आर्थिक वर्ष २०७५/७६ देखि एक 'घर एक धारा' अभियान सुरु भएको थियो। अभियानअन्तर्गत पानीको धारा निर्माणको काम करिब सम्पन्न भए पनि मर्मतसम्भार र नयाँ आयोजनाका काम भने निरन्तर सञ्चालन हुने कार्यालयले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , वैशाख ११ २०८२१०:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend